पाल्पा, ९ भदौ । फोक्सिङकोट गाविसका नागरिक मोबाइलको नेटवर्क नआएपछि मर्कामा परेका छन् । विगत ३ वर्षदेखि टेलिकमको नमस्ते तथा पोस्टपेड मोबाइलमा टावर स्थापना भए पनि केही समययता मोबाइलमा समस्या आउँदा ग्राहक मर्कामा परेका हुन् ।
मोबाइल सेटमा छिनछिनमा टावर देखाउने र हराउने, आवाज नबुझिने, नेटवर्क नटिप्ने, इन्टरनेट नचल्ने लगायतका समस्याले ग्राहक मर्कामा छन् । टेलिकम कार्यालयमा बारम्बार समस्या बताउँदा पनि समस्या समाधान हुन नसकेको स्थानीयवासी एवत सारुले बताउनुभयो । गत वर्ष टेलिकम कार्यालयले प्राविधिकको टोलीसहित कर्मचारीलाई अध्ययनका लागि खटाए पनि समस्या जस्ताको तस्तै भएको सारुको भनाइ छ ।
“न कार्यालयको सिडिएमए सेटले काम गर्छ, न त मोबाइलले नै काम गर्छ, मोबाइलले काम नगर्दा कहिलेकाहीँ ठूलो सरकारी कामसमेत बिग्रेको छ”, सानाहुँगी माविका प्रधानाध्यापक खेमप्रसाद अर्यालले भन्नुभयो । फोक्सिङकोट गाविस भवनमा टेलिकमको टावर नटिप्दा भवनको तला थप गरिएको छ । तर समस्या भने समाधान हुन नसकेको गुनासो गाविससचिव भक्तुजङ्ग रानाले दिनुभयो । रासस