- चन्द्रप्रकाश बानियाँ
मधेश आन्दोलनको सन्दर्भमा गिरिजाप्रसाद कोइरालाको शालिक ढालिए छ । त्यो पनि पर्सामा ! तीन–तीन पटक संसदीय निर्वाचनमा पराजय भोगेका किसुनजीलाई कमसेकम जिन्दगीमा एकपटक मात्र भए पनि विजयको स्वाद चखाउने पर्सा नै थियो । वीरगञ्जले नेपाली कांग्रेसको विशेष प्रभाव क्षेत्रको रूपमा परिचय बनाएको छ ।
कांग्रेसी किल्लामा कांग्रेसकै नेताको शालिक ढालिनु आश्चर्य मान्नुपर्ने विषय होइन भन्न मिल्दैन । ‘दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओडिन्छ’ भन्ने भनाई बेलामौकामा सुनिंदै आएको हो । अवश्य, त्यसको कुनै लाक्षणिक अर्थ रहेको हुनुपर्छ । बीसौं शताब्दीको अन्त र नब्बेको दशकको सुरुतिर त्यसको झलक दिने नेपाली मनोविज्ञान छरपष्ट भएको देखिएको हो । तिनताका बर्लिनको पर्खाल ढल्यो, सोभियत ढाँचाको समाजवादी किल्ला ध्वस्त भयो र पूर्वी युरोपका मुलुकहरूमा मात्र होइन सोभियत रुसमा सामेल गणराज्यहरूमा समेत लेनिनका शालिकहरू ढालिएथे । पूर्वी युरोपीय मुलुकहरूमा लेनिनका शालिकहरू तेडफोड हुँदा नेपाली बुद्धिजीवीहरूको एउटा कित्ता औधी रमाएको थियो । साम्यवादको पराजय देख्नसुन्न पाउँदा उनीहरूमा छाएको अप्रतिम खुसी छापाहरूमा पोखिएको देखिन्थ्यो । त्यो घटना दुई दशक पुरानो भैसकेको छ । यसपटक नेपालमा एकपछि अर्को शालिकहरू ढल्ने ढालिने उपक्रम सुरु भएको छ । २०६२÷६३ वरपर थुप्रै शालिकहरू ढालिए, फुटाइए, नष्ट गरिए र कैयौं प्रतिस्थापित पनि गरिएका थिए । त्यतिबेला जनआक्रोशको शिकार मुख्यत शाह राजवंश भएको थियो । जनताको कोपभाजन बन्नबाट नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका शालिकहरू पनि बच्न सकेका थिएनन् । यसपटक पालो अरुहरूको आए जस्तो छ ।
मधेश आन्दोलित छ । टिकापुरबाट सुरु भएको आन्दोलनको ज्वारभाटा पूर्वतिर संक्रमित हुँदै सिंगो मधेशलाई आफ्नो चपेटामा पारिसकेको छ । उसो त आन्दोलन, बन्द, हडताल, सत्याग्रह, अनसन, चक्काजाम नेपालको परिचय नै बनिसकेको छ भनिदिँदा फरक नपर्ने भैसकेको छ । यतिबेला मधेशमा डढेलो सल्किएको छ । त्यही सन्दर्भमा पर्सामा आन्दोलनकारीहरूको आक्रोशको शिकार केही पाषाण शालिकहरू भएछन् । ‘हिस्सिएको बिरालोले खम्बा चिथोर्छ’ भनेझैं सत्तासँग चिढिएका आन्दोलनकारीहरूले सत्ताप्रतिको आक्रोश निरीह शालिकहरूमाथि पोखेछन् । अवश्य, त्यस्तो उग्र कर्म निन्दनीय छ । तर मधेशी जनताले सडकमा प्रदर्शन गरेको सत्ताप्रतिको असन्तुष्टिको रोषपूर्ण अभिव्यक्तिलाई साम्प्रदायिक रङ्ग दिने प्रयत्न पनि कसैकसैबाट हुन थालेको छ । एमालेका अध्यक्षबाट सद्भाव ¥याली आयोजना गर्न आफ्ना कार्यकर्ताहरूलाई दिइएको निर्देश त्यसको पछिल्लो उदाहरण हो । वास्तवमा त्यस्तो चेष्टा मधेश आन्दोलनलाई बदनाम गर्ने र मधेशी जनताको आशयलाई बङ्याउने प्रयत्न होइन भन्न मिल्दैन । यतिबेला मधेशमा उठेको आन्दोलन सत्ताको विरोधमा हो । सदियौंदेखिको विभेद र शोषणबाट मधेशलाई मुक्त गर्ने चाहनाको प्रतिविम्ब हो । मधेश आन्दोलन पहाड र पहाडी समुदायको विरोधमा किमार्थ लक्षित छैन, होइन । कसैले त्यस्तो छनक देख्छ भने ती आँखाहरूमै दोष छ भन्नु बढ्ता हुँदैन । मधेश आन्दोलनमा साम्प्रदायिकताको गन्ध सुघ्न खोज्नु मधेशको मर्म नबुझ्नु हो अथवा बुझेर पनि बुझ पचाउने खस अहंकारवादको नाङ्गो प्रदर्शन हो ।
यो छोटो आलेखमा उठाउन खोजिएको विषय प्रतिमा भञ्जनको हो, मधेश आन्दोलनको औचित्य अनौचित्यमा छलफल चलाउनु होइन । लेनिनका प्रतिमाहरू ढलाईंदा खुसी मनाउने र त्यसलाई प्रजातन्त्रको विजयको रूपमा अथ्र्याएर ताली बजाउने नेपालीहरूको पंक्तिले आफूलाई विशुद्ध प्रजातन्त्रवादी भन्न भनाउन रुचाउँथ्यो । र लेनिनको शालिक ढल्नुलाई लोकतन्त्रको दिग्विजयको रूपमा अथ्र्याउँथ्यो । ठीकै छ, लेनीन अधिनायकवादी व्यवस्थाका संस्थापक थिए । स्वतन्त्रताप्रेमी रसियनहरूले उनका शालिकहरू उखेले, फोडे । यतिबेला पर्सामा ढालिएका शालिकहरू भने लोकतान्त्रिक नेताहरूकै थिए । लोकतन्त्रमा लोकतान्त्रिक नेताहरूकै शालिकहरू किन ढालिए त ? यसपटक मञ्चित भएको प्रतिमा भञ्जनकाण्डको अर्थ के हो ? जनता अवश्य, लोकतन्त्रका विरोधी थिएनन्, छैनन् ।
लोकतन्त्रका पक्षधर जनताले लोकतन्त्रका नायकहरूको शालिकहरू किन उखेले त ? नेपालमा गणतन्त्र स्थापनाको आधारभूमि माओवादी जनयुद्धले तयार गरेको भए पनि गिरिजाप्रसाद एकजना सहमत नहुँदासम्म गणतन्त्र स्थापना हुन सम्भव नै थिएन । गणतन्त्रका उनै नायक कोइरालाको प्रतिमा आन्दोलनकारीहरूको निशाना बन्नु आश्चर्य मान्नुपर्ने विषय होइन कसरी भन्न मिल्छ र ? त्यो घटनाले कसैका शालिक ढल्नु वा स्थापना हुनुले लोकतन्त्रसँग कुनै साइनो सम्बन्ध राख्ने होइन रहेछ भन्ने खुलासा गरिदिएको छ । मधेसी जनताको अधिकार स्थापनाका सन्दर्भमा कोइरालाको शालिक ढलेको छ । लेनिनका शालिकहरू ढालिनुको अर्थ लोकतन्त्रको स्थापना हो भन्ने मान्यता राख्ने विद्वान बुद्धिजीवीहरूले कोइरालाको प्रतिमा ढल्नुको अर्थ केलाई ठह¥याउँछन् होला ? त्यसलाई लोकतन्त्र विस्थापनको आशयको रूपमा परिभाषित गर्न भने किमार्थ सक्ने छैनन् ।
पर्साको शालिकभञ्जनको घटनामा साम्प्रदायिकताको रङ्ग देख्ने–खोज्ने बुद्धिजीवीहरू पनि नदेखिएका होइनन् । त्यहाँ मधेसका लोकप्रिय कांग्रेसी नेता आत्माराम ओझाको शालिक पनि भञ्जित भएको छ, उखेलिएको छ । कोइराला पहाडीमूलका खसवंशी भएको हुनाले उनको शालिक तोडिएको हो भनेर मान्ने हो भने आत्मारामको शालिक किन तोडियो त ? उनी पहाडीमूलका थिएनन् । ओझा विशुद्ध मधेशमूलका हुन् । त्यसैले पुष्टि हुन्छ कि –मधेशको आक्रोश र असन्तोष सत्ताप्रतिको हो । नेपाली कांग्रेसप्रतिको पनि हुनसक्छ । कोइराला एकजनाको मात्र शालिक तोडिएका भए मधेश आन्दोलनमा साम्प्रदायिक रङ्ग मिसिएको छैन भन्न मिल्दैनथ्यो । जनताको आक्रोशले मधेशी र पहाडीबीच विभेद गरेको देखिएन । यो मुलुकको पहिलो र बलियो संघीयताको दावेदार मधेश राजनीति नै हो । मधेशले खोजेको स्वायत्तता हो । स्वशासनको अधिकार हो । औपनिवेशिक अन्यायमा रहनुपरेको आत्मबोध मधेसले गर्दै आएको कुरा तीतो यथार्थ हो । मधेशमा पाँचवटा प्रदेश बनुन् वा एउटा मात्र प्रदेश बनोस् तर सिङ्गो मधेशले स्वतन्त्रता र स्वायत्तताको अनुभूति गर्न पाउनुपर्ने आशय मधेशको हो । खण्ड वा अखण्डका नाममा मधेशलाई अझै पनि कसैले निजी मौजा बनाउन लागि गरेको अनाधिकार चेष्टाको विरोध मधेशले गरेको हो । पोखरामा ‘पृथ्वीचोक’ नाम पाएको एउटा प्रसिद्ध चौबाटो छ । २०६२ सालपूर्व त्यस चोकमा नेपाल एककीरणका नायक पृथ्वीनारायण शाहको शालिक स्थापित थियो । शाहको शालिककै कारणले चोकको नाम पृथ्वीचोक रहन गएको हो । शाहको शालिक उखेलियो तर चोकको नाम भने फेरिएको छैन, उही छ । जनजिब्रोमा पृथ्वीचोक नै गढेको छ । जनतालाई त्यही नाम रुचेको छ ।
शाहको शालिकलाई लखन थापाको शालिकले प्रतिस्थापन गरिसकेको छ र पनि त्यसलाई पृथ्वीचोकस्थित लखन थापाको शालिक भनिन्छ । लखनचोक भनिदैन । त्यसैगरी गिरिजाप्रसाद कोइलाको प्रतिमा स्थापनाको विषय पनि जनताले कहिल्यै बिर्सने छैन । ढिलो चाँडो कोइरालाको शालिक पुनस्थापित हुनेछ । शालिक ढले पनि फेरि उठाउन सकिन्छ, फोडि नासिए अर्को बनाउन पनि सकिन्छ । त्यसैगरी जनताको विश्वास पनि पुनः आर्जन गर्न सकिन्छ । एकपटक बिच्केको जनता सदाको लागि बिच्क्यो भन्न मिल्दैन । जनताका आकांक्षा सम्बोधित हुने गरी राजनीतिक निर्णयहरू हुन सके भने जनताको मन फर्कने छन्, फर्काउन सकिने छ र शालिकहरू पनि पुनस्र्थापित हुनेछन् । जनता आफैले आफ्ना आदरणीय नेताहरूको शालिक पुनस्र्थापित गर्नेछन् । होइन, जनतालाई रैती मात्र ठानियो र दवाएरै शासन गर्ने मनशाय राखियो भने शालिकको कथा पनि इतिहासको विषय नबन्ला भन्न सकिदैन ।