काठमाडौ÷ नयाँ निर्माण गर्न लागिएको संविधानले स्वतन्त्र प्रेसको गर्धनमा तरबार राख्न खोजिएपछि नेपाली प्रेसजगत् आतंकित बनेको छ । यही परिप्रेक्ष्यमा नेपाल पत्रकार महासंघले संविधानको परिमार्जित विधेयकले प्रेसलाई नियन्त्रण गर्न खोजेको भन्दै संशोधन प्रस्ताव दर्ता गराइदिन राजनीतिक दलहरूसँग आग्रह गरेको छ ।
महासंघका अध्यक्ष महेन्द्र बिष्टले एक विज्ञप्ति प्रकाशित गरी लोकतन्त्रको आधारभूत चरित्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विश्वव्यापी मान्यता एवं नेपालको अन्तरिम संविधानसमेतबाट प्रत्याभूत भई प्रचलनमा रहेका व्यवस्था विपरीत स्वतन्त्र मिडियालाई नियन्त्रण गर्ने कोसिस गरिएको भन्दै त्यस्ता प्रावधानहरू हटाउन आग्रह गरिएको छ । महासंघले प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रताको भावनाअनुसार धारा १७ र १९ लगायतका अन्य धाराहरू संशोधन गर्न संशोधन प्रस्ताव दर्ता गरिदिन आग्रह गरेको छ ।
महासंघले संविधानको पछिल्लो विधेयकको धारा १७ मा उल्लेखित स्वतन्त्रताको हक र धारा १९ मा रहेको सञ्चारको हकको प्रतिबन्धात्मक खण्डलगायतमा संशोधनको माग गरेको छ ।
















