नेपाली डकुमेन्ट्री ‘सुनकली’ले अमेरिकाको चर्चित सिनेरोक्कम इन्टरनेसनल फिल्म फेस्टिबलमा ‘वेष्ट डकुमेन्ट्री डायमण्ड अवार्ड’ पाएको छ । अमेरिकाको बेभरली हिल्समा आइतबार सम्पन्न साताव्यापी फेस्टिबलमा ‘सुनकली’ले मनोनयनमा परेका १४ देशका २० वटा प्रतिस्पर्धी डकुमेन्ट्रीलाई उछिन्दै उत्कृष्ट अवार्ड पाएको हो । पत्रकार भोजराज भाटको निर्देशनमा बनेको ‘सुनकली’ले यसअघि पाँच वटा अन्तर्राष्ट्रिय अवार्ड पाइसकेको छ । गत मंसिरमा सम्पन्न काठमाडौं इन्टरनेसनल माउण्टेन फिल्म फेस्टिबल ‘किम्फ’ को १२औं संस्करणको पहिलो ओपनिङका रूपमा ‘सुनकली’को ‘वल्र्ड प्रिमियर’ भएको थियो ।
किम्फमा ‘सुनकली’ले एक हजार अमेरिकी डलरको इसिमोड अवार्ड र जुरी अवार्ड पनि पाएको थियो । त्यसलगत्तै ‘सुनकली’ले स्लोभानियाको ‘माउण्टेन फिल्म फेस्टिबल दोम्जालेमा’ मा जुरी अवार्ड र टोरन्टो नेपाली फिल्म फेस्टिवलमा १ हजार अमेरिकी डलरको अडियन्स च्वाइस अवार्ड जितेको थियो ।गत जेठमा सम्पन्न पाकिस्तान इन्टरनेसनल माउण्टेन फिल्म फेस्टिबल (पिम्फ)ले पनि ‘सुनकली’ लाई फेस्टिबलकै उत्कृष्ट डकुमेन्ट्री अवार्ड दिएको थियो । ५० मिनेट लामो उक्त डकुमेन्ट्रीमा पत्रकार भोजराज भाटले १३ वर्षीया सुनकली बुढा र उनकी सहेलीहरूको पूmटबल कथालाई उतारेका छन् ।
निर्देशकका भाटका अनुसार ‘सुनकली’ मा फुटबललाई केवल माध्यम बनाइएको छ, मुगुको सामाजिक परिवेश, स्थानीय संस्कृति र जनजीवनलाई डकुमेन्ट्रीमा सचित्र प्रस्तुत गरिएको छ ।
‘जहाँ खेल मैदान नै छैन, त्यहाँ फुटबल खेलिन्छ, फुटबल खेल्नैका लागि अभिभावकसँग संघर्ष गर्नुपर्छ,’ निर्देशक भाटले आफ्नो डकुमेन्ट्री बनाउनुको औचित्य पुष्ट्याए, ‘त्यसमा पनि हिऊँसँग नुन–मर्चा मिसाएर कोदोको रोटी खार्दै हुर्किदै गरेका मुगुका चेलीहरूको कथालाई एक वर्षसम्म फ्लोअप गर्दा डकुमेन्ट्रीको पूर्णरूप तयार भयो ।’
सामान्य फोटो फिचर स्टोरीका लागि हिडेका पत्रकार भोजराज भाटलाई सुरुमा मुगुका चेलीको फुटबल कथाबारे डकुमेन्ट्री बन्छ भन्ने लागेको थिएन । ‘घटना र कथावस्तु ढल्दै जाँदा डकुमेन्ट्री थप रोचक बन्दै गयो । अगाडि जे–आउँछ, त्यो खिचिदै गइयो,’ निर्देशक भाटले आफ्नो अनुभव सुनाए,‘जब हामीसँग १६५ घण्टाको फुटेज भयो, त्यसलाई ५० मिनेटमा झार्न करिब एक वर्ष नै स्टुडियोमा समय खर्चिनुप¥यो ।’
\
सोनी ह्याण्डीक्यामबाट छायांकन सुरू भएको ‘सुनकली’ विस्तारै कथावस्तु बलियो हुँदै गएपछि चार वटा अत्याधुनिक क्यामेरा एकैसाथ प्रयोग भएका थिए । ‘सुनकली’मा प्रकाश केसी, जीवन श्रेष्ठ, मनोज महर्जन र निर्देशक भाट स्वयम्ले छाँयाकन गरेका थिए । यसको सम्पादन भरत रेग्मीले गरेका हुन् । र, यसको ब्याकग्राउण्ड म्युजिक चर्चित कुटुम्ब व्याण्डले भरेको हो ।
सुरुमा स्वदेशको फिल्म फेस्टिबललाई लक्षित गरी बनाइएको ‘सुनकली’ले विदेशमा समेत गरी छ वटा अन्तर्राष्ट्रिय अवार्ड पाउँदासम्म धेरैथरि जिज्ञाशा पाइएको निर्देश भाटको भनाइ छ ।
‘युरोपमा हिउँ पर्दा हप्तौंसम्म खेलहरू स्थगित गरिन्छ तर तीन हजार पाँच सय मिटर उचाइमा फुटबल कसरी सम्भव भयो ? यस्तैयस्तै जिज्ञासाहरू आउँथे’, निर्देशक भाट अगाडि भन्छन्, ‘जब तिनै चेलीहरूले मुख्य प्रतिस्पर्धा जितेर ट्रफी जिल्लामा ल्याउँछन्, हजारौं जनता तिनको स्वागतमा उर्लिन्छ, त्यसपछि सबैले भन्छन्, वाह सुनकली । क्यावात सुनकली ।’