- निमकान्त पाण्डे
हालै गएको विनाशकारी भूकम्पका कारण नेपालमा ठूलो धनजनको क्षति पुर्याएको छ । भूकम्पमा परि हजारौँ जनताले ज्यान गुमाएका छन् भने लाखौँ जनता प्रभावित भएका छन् । नेपालमा गएको भूकम्पका कारण हजारौँ मानिसको मृत्यु लाखौ भौतिक संरचना र त्यतिकै मात्रामा ऐतिहासिक स्थल ध्वस्त भएको आफ्नै आँखाले देखेका हामी दुई जना चिकित्सक र पंक्तिकारसँगै १३ जना सञ्चारकर्मीको टोली नेपालमा भूकम्प पश्चात निरन्तर गइरहेका पराकम्पनको प्रभावकैबीचमा अहिले चीन सरकारको विशेष निमन्त्रणामा चीन भ्रमणमा छौँ ।
नेपालमा भूकम्पको अनुभव राम्रै अनुभव गरेका हामीले भ्रमणका शिलशिलामा सन २००८ मा चीनको सिन्चुवान प्रान्तमा शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्याएको क्षेत्रको अवलोकन गर्ने अवसर पायौँ । हालै भूकम्पबाट ठूलो नोक्सानी व्योहोरेका हामीलाई भूकम्पले ध्वस्त बनाएको क्षेत्रलाई कसरी नमुनाका रुपमा विकास गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नका लागि पनि हुनसक्छ चीन सरकारले भूकम्प प्रभावित उक्त क्षेत्रमा भ्रमणको अवसर जुर्याइदियो, यसका लाग चीन सकारलाई धन्यवाद ।
करिब ८० हजार मानिसले ज्यान गुमाएको यस क्षेत्रमा आइपुग्दा हामीले थाहा पायौँ, यहाँ भूकम्पले एउटा स्कुल भत्किदा ४३ जना विद्यार्थी र आठ जना शिक्षकहरु पुरिएका रहेछन् । ती कसैलाई पनि निकालिएको रहेन छ । भूकम्पका बेला सेनालाई समेत यहाँ आइपुग्न तीन दिन लागेको रहेछ । भूकम्पले यस क्षेत्रका सबै पुलहरु भत्काएर सडकलाई नदिमा मिलाईदिएपछि याताया पूर्णरुपमा अवरुद्ध भएको रहेछ । यति भनेपछि यहाँको अवस्था कस्तो थियो होला भनेर पाठकहरुले आफैले अनुमान गर्न सक्नुहुन्छ । तर भूकम्पले ध्वस्तै बनाएको उक्त क्षेत्रमा अहिले चीनले गरेको विकास हेर्दा भूकम्पले भग्नावशेष भएको क्षेत्रलाई पनि आकर्षक र पर्यटकिय केन्द्र बनाउन सकिदो रहेछ भन्ने राम्रो उदाहरण बनिरहेको छ चीनको सिन्चुवान प्रान्त । आठ रेक्टरस्कलेको भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको यस क्षेत्रमा चीनले गरेको विकास र प्रगति हेर्दा यस क्षेत्रमा भ्रमण गर्ने जो कोहीको पनि मन लोभिन्छ । चीनले सिन्चुवान क्षेत्रमा गरेको विकास हेर्दा भूकम्पलाई चीनले अवसरका रुपमा लिएर विकास गरेको देख्न र महसुस गर्न सकिन्छ ।
चीनमा भूकम्पले पुर्याएको क्षतिको हिसाबमा नेपालको क्षति खासै ठूलो होइन । नेपाल आर्थिक क्षेत्रमा कमजोर भएपनि प्राकृतिक विपत्ति पछि आएको अन्तराष्ट्रिय सहयोग, दाताहरुको प्रतिवद्धता र आन्तरिक रुपमा समेत वार्षिक अर्बाैँ विकास बजेट फ्रिज भइरहेको अवस्थामा आर्थिक स्रोत जुटाउन कुनै समस्या हुन्छ भन्ने लाग्दैन । विकटताको हिसाबले पनि क्षति पुगेका क्षेत्रमा सिन्चुवानमा जस्तै सेनालाई नै तीन दिन लाग्ने अवस्था नेपालमा छैन । त्यसैले नेपालले पनि भूकम्पको विपत्तिलाई अवसरका रुपमा सदुपयोग गर्नेहो भने प्राकृतिक रुपमै सुन्दर रहेको राजधानी काठमाडौ र आसपासका प्रभावित जिल्लाहरुलाई पर्यटकहरुको आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने पंक्तिकारको विश्वास छ ।
जसरी सिन्चुवानमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई हालको नमुना क्षेत्रका रुपमा विकास गरेर हाम्रो मन लोभ्याईरहेको छ त्यसरी नै हामीले पनि भूकम्प प्रभावित क्षेत्रलाई नमुना क्षेत्रका रुपमा विकास गर्न सके भूकम्पले क्षति पुगेको क्षेत्रलाई कसरी विकास गर्न सकियो भनेर विदेशी पर्यटकहरुलाई ती क्षेत्रमा भ्रमण गराउन सकिन्छ । जसले गर्दा उनीहरुका लागि यो एउटा उदाहरण बन्न सक्छ भने प्रभावित क्षेत्रमा पर्यटकहरुको भ्रमणले स्थानीय रुपमा आर्थिक उपार्जनको राम्रो माध्यम बन्न सक्छ ।
चीनको उदाहरण हेर्दा त नेपालमा यहाँ भन्दा पनि राम्रो गर्न सक्ने सम्भावना देखिन्छ तर, भूकम्प गएलगत्तै अघि बढाउनुपर्ने पुन निर्माण तथा पुनस्थापनाको कार्यक्रम हालसम्म पनि अघि बढन नसक्नुले पुनःनिर्माणको प्रक्रिया कुन दिशामा अघि बढ्ने हो यसै भन्न सक्ने अवस्था छैन । जे होस सरकार र राजनीतिक नेतृत्वले छिमेकी मुलुक चीनको सिन्चुवान र भारतको गुजरातलाई नमुनाको रुपमा लिँदै पुनःनिर्माण र विकासमा ध्यान दिन सके नेपालको लागि पनि विनाशकारी भूकम्प विकासको अवसर बन्न सक्छ । तर यसका लागि सरकारी पक्षबाट पहलको नितान्त आवश्यकता देखिन्छ ।
चीन भ्रमणमा रहनुभएका जनधारणा साप्ताहिकका सम्पादक पाण्डेको भ्रमण अनुभव