२७ भदौ – सभामुख सुवास नेम्वाङले आजदेखि नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्राप्त संशोधन प्रस्तावमा मतदान हुने बताएका छन् ।
रेडियो नेपालको ‘अन्तरसंवाद’ कार्यक्रमलाई आज बिहान दिनुभएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन । प्रमुख दलको आग्रहमा शुक्रबार र शनिबार मतदानको प्रक्रिया स्थगन गरिएकाले आइतबार विहान ११ः३० मा बस्ने पहिलो बैठकमा शीर्ष नेताले बोल्ने र त्यसपछि केही समय स्थगन भई दोस्रो बैठकदेखि प्रक्रिया अघि बढ्ने नेम्वाङले बताएका छन् ।
उनले अनुसार शीर्ष नेताले छलफलमा भाग लिएपछि संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ दिने बताए ।
अध्यक्ष नेम्वाङले आजको बैठक अगाडि कुनै नयाँ सहमति भएमा विद्यमान संशोधन प्रस्तावभित्र मिलाएर सम्बोधन गर्न सकिने तथा यदि वार्ता र प्रक्रिया दुवै निरन्तर रहेमा संविधान जारी भएपछि पनि संशोधन गर्न सकिने बताएका छन् । उनले संविधान निर्माणको सुरुङभित्र प्रवेश गरिसकेकाले यसबाट दायाँबायाँ वा पछाडि फर्कने ठाउँ नभएको बताएका छन् ।