काठमाडौँ, २८ भदौ । नेपालको संविधान, २०७२ आउँदो असोज ३ गते साँझ ५ बजे जारी गरिने भएको छ । संविधान जारी गर्नका लागि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संविधान जारी गर्ने समारोहमा सहभागी हुन राष्ट्रपति डा रामवरण यादवलाई भेट्न मंगलार बिहान राष्ट्रपति निबास शीतलनिवास जाने कार्यक्रम रहेको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति डा यादवले असोज ३ गते साँझ संविधान जारी भएको घोषणा गर्नेछन् । यसैबीच ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यहरुबाट प्राप्त संशोधनलाई संविधानसभाको सोमबारको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने क्रम चलिरहेको छ । अहिलेसम्म यस विधेयकको ‘भाग ४ र ५७ वटा धारा पारित भएका छन् । पारित भएका केही महत्वपूर्ण धारामध्य धारा ५ मा ‘सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वाधीनता, स्वतन्त्रता, एकता, नेपालीको हक एवम् स्वाभिमानको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषयहरू हुने’ उल्लेख छ ।
सो व्यवस्थामाथि दर्ता गरिएका विभिन्न संशोधन अस्वीकृत भएका छन् । त्यस्तै पारित भएको धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन्’ भन्ने व्यवस्था छ । धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने, नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्ने’ व्यवस्था बैठकबाट पारित भएको छ । सो धारामा १६ संशोधन परेकामा ९ फिर्ता र आठ संशोधन अस्वीकृत भएका छन् ।
नेपालको राष्ट्रिय झण्डाः राष्ट्रिय झन्डासम्बन्धी धारा ८ मा ‘सिम्रिक रङ्गको भुइँ र गाढा नीलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको झन्डा नेपालको राष्ट्रिय झन्डा हो” भन्ने व्यवस्था पारित भएको छ । सो धारामा चार संशोधन परेकामा एक फिर्ता भए भने रामकुमार राई, शिवलाल थापा, यशोदाकुमारी लामाले पेस गरेको संशोधन अस्वीकृत भएको छ ।
राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय जनावर गाईः
विधेयकको धारा ९ मा रहेको ‘राष्ट्रिय गानको अनुसूची, नेपालको राष्ट्रिय पूmल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पक्षी डाँफे हुने’ व्यवस्था पनि बैठकबाट पारित भएको छ । सो धारामा १९ संशोधन परेकामा एउटा फिर्ता भयो भने अन्य प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा बहुमतबाट अस्वीकृत भए ।