ल्हासा÷ चीन सरकारको विशेष निमन्त्रणामा चीन भ्रमणमा गएका नेपाली पत्रकारहरूको टोलीलाई तिब्बत सरकारका उपाध्यक्ष किमेइ रेन्जेङले ल्हासामा भव्य स्वागत गरेका छन् । तिब्बतले गरेको विकासका बारेमा नेपाली पत्रकारहरूको टोलीको स्वागत तथा विकासका बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा उपाध्यक्ष रेन्जेङले त्यहाँ १० वर्षको अवधिमा भएको विकासका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा रेन्जिङले ल्हासाले कसरी छोटो समयमा नै उल्लेख्य विकास गर्न सफल भयो भन्नेबारेमा विस्तृतमा व्याख्या गरेका थिए । उनले विकासको गतिलाई तीव्र गतिमा बढाइरहेको चीनले छोटो अवधिमा नै आश्चर्य लाग्ने गरी विकास गर्नुका पछाडी तिब्बती जनता, त्यहाँको सरकार र आधुनिक प्रविधिको विकास र प्रयोग भएको खुलासा गरेका थिए, उनले छोटो समयमा भएको प्रगतिका लागि चिनियाँ जनताको योगदान नै सबैभन्दा महत्वपूर्ण भएको जनाएका थिए ।
‘१० वर्षमा ल्हासाले गरेको विकास बेइजिङको भन्दा कम छैन ।’ भ्रमण टोलीमा संलग्न जनधारणा साप्ताहिकका सम्पादक निमकान्त पाण्डेले भन्नुभयो । ल्हासाले छोटोसमयमा गरेको विकासले सबैलाई अचम्मित पारेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘ल्हासाले छोटो समयमा गरेको विकास सबैका लागि उदाहरणीय छ, यसबाट नेपालले पनि धेरै सिक्नुपर्ने छ ।’ विकासको मूल फुटाइरहेको ल्हासामा गुम्बासँगै रहेका मन्दिरहरूले ल्हासामा धार्मिक स्वतन्त्रता पनि रहेको देख्न सकिने पाण्डेको भनाइ छ । चीनको राजधानी बेइजिङमा जस्तै ल्हासामा भइरहेको विकासले स्थानीयहरू निकै खुसी र सन्तुष्ट देखिने गरेको पाण्डेले जानकारी दिनुभयो । ल्हासाको भ्रमणपछि त्यहाँको विकास देखेर नेपाली पत्रकारहरूको टोलीसमेत आश्चर्यमा परेको पाण्डेले भन्नुभयो ।
१० दिने चीन भ्रमणमा गत मंगलबार चीन भ्रमणमा निस्किएको दुई चिकित्सक र १३ जना पत्रकारहरूको टोली असोज १ गते नेपाल फर्किएको छ ।