संस्कृति र चाडपर्वलाई भड्किलो नबनाउँ

268
  • राज्यलक्ष्मी शाक्य

असार महिनाको अन्त्यसँगै नेपालमा अहिले विभिन्न किसिमका चाडपर्वको मौसम सुरु भइसकेको छ । विभिन्न जात, धर्म र संस्कृतिका मानिसहरूको बसोबास रहेको हाम्रो मुलुकमा मनाइने विभिन्न सांस्कृतिक पर्वले हाम्रो सांस्कृतिक विविधतालाई जगेर्ना गर्न थप बल पुग्ने गरेको छ । चाडपर्वको मौसम सुरु भएसँगै हिजोमात्र हामीले नेपाली महिलाहरूको महान् चाड हरितालिका तिज मनाएका छाँं । यस पर्वमा नेपाली नारीहरूले नाचगान गरेर तथा मीठो मसिनो खाएर जति रमाइलो महसुस गर्छन्, त्यति नै यो पर्वले हाम्रो धर्म र संस्कृति बचाउन पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
यो धार्मिक तथा सांस्कृतिक पर्व भएकाले यसलाई जति मर्यादित र सभ्य बनाउन सक्यो, त्यति नै यसको सांस्कृतिक र धार्मिक महत्व पनि बढ्छ । तर आजभोलि तिज पर्वलाई परम्परागत मूल्य मान्यताभन्दा पनि देखावटी र भड्किलो पर्वका रूपमा मनाउन थालिएको छ । जस्तो यस पर्वमा गाइने गीत र नृत्य होस् वा दरखाने बहानामा एक महिना पहिलेदेखि नै भड्किलो तरिकाले मनाउने प्रवृत्ति, यसले तिजको महत्व बढाउनुको सट्टा गलत सन्देश दिइरहेको छ ।

तिजलाई सकारात्मक ढंगले मनाउँदा यसले हाम्रो संस्कारलाई निरन्तरता दिन, हाम्रो मौलिक संस्कृतिको जगेर्ना गर्न, पारिवारिक मेलमिलाप तथा जमघट गराउन पनि सहयोग गर्छ तर यस्ता सकारात्मक पक्षहरू हुँदाहुँदै पनि यस पर्वका बारेमा वास्तविकता बुझाउन नसक्दा यसलाई केवल रमाइलोका लागि मनाइने पर्वका रूपमा मात्र लिन थालिएको छ । यो यसको नकारात्मक पक्ष हो । यो पर्वलाई भड्किलो पर्वका रूपमा मनाउँदा सामान्य आर्थिक अवस्था हुनेहरूलाई यसले थप पीडा दिने भन्दा अरु काम गर्दैन । त्यसैले तिजलाई दुःखसुख साटासाट गर्ने र पारिवारिक जमघटसँगै सांस्कृतिक र धार्मिक महत्वलाई समेत जोगाउने गरी मनाउन सकेमा यसको महत्व दीर्घकालसम्म बढेर जानसक्छ ।
तिज मात्र होइन दशैं, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वहरूसमेत हाम्रो नजिकै आइरहेका छन् । यी चाडपर्वहरूलाई धार्मिक सामाजिक महत्वलाई जगेर्ना गर्दै अघि बढ्नु र यी पर्वहरूलाई आगामी पुस्तासम्मका लागि संरक्षण गर्नु अहिलेका पुस्ताको दायित्व हो । तर आजभोलि चाडपर्वका नाममा बढ्दो भड्किलोपन र देखासिकीले हाम्रा महत्वपूर्ण पर्वको महत्वसमेत विस्तारै कम हुँदै गइरहेको छ ।
हरेक मुलुकका लागि आफ्नो संस्कृति परम्परा निकै महत्वपूर्ण हुन्छ किनभने मुलुकको अस्तित्व त्यस मुलुकको संस्कृति र परम्परासँग जोडिएको हुन्छ । जब कुनै मुलुकको संस्कृति लोपहुन सुरु गर्छ त्यस मुलुकको अस्तित्वसमेत संकटमा पर्न थाल्दछ । कुनै पनि मुलुकको आर्थिक सम्पन्नता मात्र ठूलो कुरा होइन, जब मुलुकको मौलिकताको प्रश्न उठ्छ त्यतिबेला मुलुकको संस्कृति र परम्परा अघि आउँछ । हामीले हाम्रै नजिक रहेका एशियाली मुलुक कोरिया, जापानलगायतका मुलुकहरूको उदाहरण लिन सक्छाँं । ती मुलुकले आर्थिक हिसाबले त राम्रै प्रगति गरेका छन् तर उनीहरूको संस्कृतिमाथि पश्चिमा सस्कृति हावी भइरहेको छ, जसले गर्दा उनीहरूको आफ्नो सस्कृति विस्तारै लोप हुँदै गइरहेको छ । हामीले पनि हाम्रो संस्कृतिको ऐतिहासिक महत्वलाई नबुझि चाडपर्वहरूलाई भड्किलो बनाउन खोज्यौं भने त्यसले दीर्घकालीन रूपमा हाम्रा संस्कृति र परम्पराप्रतिको महत्वलाई घटाउन सक्छ ।
जस्तो हरितालिका तिजलाई विशेष गरी महिलाहरूको पर्वका रूपमा लिइन्छ । यस पर्वमा एउटा सम्पन्न महिलाले अर्काे कमजोर महिलाले आफुलाई कमजोर महसुस गर्ने किसिमका गतिविधि गर्नुभन्दा बरु आर्थिक रूपमा कमजोर वा पछि परेकाहरूलाई सहयोग, सद्भाव र सम्मान गर्नसके यस्ता पर्वहरूको महत्व निकै बढेर जानसक्छ । साथै यस्ता पर्वहरूमा नागरिकहरूको अधिकार, उनीहरूको शिक्षा, स्वास्थ्य र चेतनास्तरलाई बढाउनका लागि गर्न सकिने गतिविधिहरू सञ्चालन गरेमा यसले संस्कृतिको जर्गेनासँगै अन्य पक्षलाई पनि मजबुत बनाउन सक्छ ।
हामीले तिज पर्वका अवसरमा महिला अधिकार, लैङ्गिक विभेद, लैङ्गिक हिंसा, उत्पीडन, बहिस्करण घटनाको अन्त्य गर्न सकारात्मक कार्यक्रमहरू सञ्चालन गर्न सक्छाँं । छिमेकी मुलुक भारत, चीनलगायतका राष्ट्रमा महिलाहरूको मताधिकार सुनिश्चित गर्न महिलाकै पहलबाटै ‘सफरेज मूभमेन्ट’समेत भएका थिए । हामीले पनि तिजलाई एउटा महिला अधिकारको पर्वका रूपमा पनि मनाउन सकिन्छ । प्रत्येक वर्ष स्वदेश तथा विदेशमा अन्तर्राष्ट्रिय विश्वमा नारी दिवस ८ मार्चमा मनाउने गर्दछ । हामीले पनि तिजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चाडकै र दिवसको रूपमै मनाएर सबै नारीहरूको आवाज उठाएर हाम्रो आवाजलाई अझ ध्यानाकार्षण गर्न गराउन सकिन्छ ।
तिज मात्र होइन सबै धर्म र संस्कृतिका मानिसले मनाउने हरेक पर्वको आफ्नै महत्व हुन्छ । चाडपर्व मनाउँदा धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई समेत ध्यान दिंदै निरन्तरता दिन सकियो भने त्यसले दीर्घकालीन रूपमा सांस्कृतिक महत्वलाई जोगाउन सक्छ । पछिल्लो समयमा देखिने गरेका भड्किला संस्कार र संस्कृतिले हामीले आफ्नो संस्कृति र परम्परालाई लामो समयसम्म टिकाइराक्न असफल हुन्छौ । त्यसैले भड्किलोपनलाई त्यागेर सरल र मितव्ययिता अपनाई चाडपर्वको महत्वलाई जोगाइ राख्न आवश्यक छ ।

 rajyalaxmishakya@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here