काठमाडौ, २९ असोज– नेकपा एमालेका सभासद रविन्द्र अधिकारीले हाल भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीलाई अन्तराष्ट्रियकरण गरिनुपर्ने बताएका छन् । विहिकार रिपोटर्स क्लव काठमाडौमा ‘स्वाभिमान नेपाल’ राष्ट्रिय मासिकको विमोचन गर्दै नेता रविन्द्र अधिकारीले स्वाधिन अर्थतन्त्रको विकास, आन्र्तनिर्भरता बनाउन नसकेसम्म स्वाधिनताको कुरा गफ बाहेक केही नहुने भन्दै अबको आवश्यकता जागृत स्वाभिमान भएको बताए । उनले स्वाभिमानका लागि अन्र्तनिर्भर अर्थतन्त्रको विकास गर्नु पर्ने बताए ।
अधिकारीले प्रधानमन्त्री चयनमा नेपालीले आफै निर्णय गर्न सकेको उल्लेख गर्दै अब आफ्नो निर्णय आफै गर्न सकिन्छ कि सकिदैन भन्ने प्रश्न महत्वपूर्ण भएको बताए ।
विमोचन कार्यक्रममा नेकपा–माओवादी स्थायी समिति सदस्य कुलप्रसाद केसी ‘सोनाम’ ले मुलुकको स्वाभिमान संकटमा पर्न लागेको भन्दै यसको रक्षाकोलागि कन्टेनरमा थन्काईएको हतियार निस्कने चेतावनी दिए ।
निमकान्त पाण्डे प्रधानसम्पादक रहेको स्वाभिमान नेपाल राष्ट्रिय मासिक पत्रिकाको विमोचन कार्यक्रममा बोल्दै उनले भने–कन्टेरनमा सजाईएका बन्दुकहरुले राष्ट्रियताको खोजी गरिरहेका छन । तीनीहरु उठन सक्छन ।
मुलुकको राष्ट्रियता र स्वाभिमानलाई जरैदेखि बलियो बनाउन आफूहरुले सबै नागरिकले सैनिक तालिम लिने कुरा गर्दा संसदबादी दलहरुले त्यसलाई सैनिकीकरणको आरोप लगाएको भन्दै अहिलेको अवस्थामा त्यो ब्यवस्थाले सकारात्मक भूमिका खेल्न सक्ने थियो भन्ने विश्वास ब्यक्त गरे । केसीले भने–हामीले उत्तर कोरियाको जस्तो शक्ति प्रर्दशन गर्ने ब्यवस्था भनेका थिएनौ । राष्ट्रियताको जग बसाल्ने कुरा गरेका थियौ । त्यसले सबैमा राष्ट्र प्रेमको जग बसाल्थ्यो ।
केसीले मुलुकमा स्वाभिमान हराएको बेला स्वाभिमानलाई जागृत गर्ने उद्देश्यले पत्रिका प्रकाशन भएकोमा खुसी ब्यक्त गर्दै पत्रिकाको माध्यमबाट राष्ट्रियता र स्वाभिमान रक्षाको पहल शसक्त हुने विश्वास ब्यक्त गरे ।
संविधानविद्ध भिमार्जुन आचार्यले नेपालका नेताहरु राष्ट्रियताको कुरा गर्दै विक्ने गरेको आरोप लगाउँदै राष्ट्रिय स्वाभिमानमा धक्का परेको बेला निस्किएको पत्रिकाले यसलाई मजबुद बनाउन भूमिका खेल्ने विश्वास ब्यक्तगरे ।
उनले मुलुक संबेदनशिल अवस्थामा रहेको बेला निकिस्कीएको पत्रिकाले सकारात्मक भूमिका खेल्ने भन्दै स्वाधिनता र राष्ट्रियता देश भन्दा बाहिर हुन नसक्ने ठोकुवा गरे ।
सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले मुलुकमा स्वाधिनता र राष्ट्रियता संकटमा परेको बेला स्वाभिमानलाई केन्द्रमा राखेर प्रकाशित पत्रिकाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।
पत्रिकाका प्रधान सम्पादक निमकान्त पाण्डेले राष्ट्रियताको सवालमा आम जनसमूदायलाई चेतना दिन पत्रिकाले सधै प्रयास गर्ने र यसमा कसैसँग सम्झौता नगर्ने स्पष्ट पारे ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले मुलुकमा स्वाभिमानको विषय बहस भईरहेको बेला आएको पत्रिकाले त्यसको लागि चेतनामुलक काम गर्ने विश्वास ब्यक्त गर्दै मुलुकमा देखिएका समस्या समाधान गरेर अघि बढ्न सके मुलुकको स्वाभिमान उच्च हुने विश्वास ब्यक्त गरे ।
पत्रिकाकी प्रवन्ध निर्देशक राज्यलक्ष्मि शाक्यले पत्रिका प्रकाशन गर्नु ठूलो कुरा नभई यसको निरन्तरता महत्वपूर्ण भएकोले आफू त्यसकोलागि चिन्तित भएको बताउनुभयो
स्वाभिमानी प्रकाशन प्रालीले प्रकाशन गरेको ६० पृष्ठको पत्रिकामा राजनीति, समाज, विज्ञान प्रविधि खेलकुद र जीवन शैलीका विषयमा सामग्रीहरु रहेका छन ।