गोल्छा काण्डले एमालेभित्रको आर्थिक अराजकता छताछुल्ल

252

 हुकुमबहादुर सिंह
नेपालका राजनीतिक दलहरू समानुपातिक प्रतिनिधित्वलाई कसरी आ–आफ्नो आर्थिक आय उपार्जन गर्नमा व्यस्त भएका रहेछन् भन्ने पछिल्लो उदाहरणका रूपमा नेकपा एमालेको सभासद राज्यलक्ष्मी गोल्छा अगाडि देखिएकी छन् । यो रहस्योद्घाटन त्यसबेला भयो जब नेकपा एमालेले उनलाई सभासदको पदबाट राजीनामा दिन निर्देशन जारी गर्‍यो र उनीबाट उनलाई सभासद बनाएबापत उनीसित पार्टीका विभिन्न नेताहरूले ज्यादै मोटो रकम लिने गरेको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिन् । उनले एमालेको नाममा अनगिन्ती शीर्षकमा मोटो रकम दिएकी र त्यो रकम कैयौं पटक केपी ओली, विद्या भण्डारी, झलनाथ खनाल, माधव नेपाल, गोकर्ण विष्ट, गंगालाल तुलाधर आदिले उनीबाट लगेको दाबी गरेकी छिन् । उनको दाबी के छ भने केपीका दाहिने हात हौा भनी दाबी गर्दै मोरङका केही एमाले नेता तथा कार्यकर्ताले उनलाई सभासद बनाउने र त्यसका लागि पार्टीलाई मोटो रकम दिनुपर्ने दबाबस्वरूप करोडौं रकम एमालेलाई निर्वाचनका दौरानमा र त्यसपछि भूकम्प आएपछि दिएको खुलासा गरेकी छिन् । उनले नामै तोकेर केपीको दाहिने हात भन्दै हिंड्ने मोरङका युवा संघका उपाध्यक्ष गोविन्द थापाले अनेकौं पटक करोडौं रकम पार्टी र पार्टीका नेताको नाममा उनीबाट उठाएको दाबी गरेकी छिन् । उनले जोड दिादै भनेकी छिन्– ‘युवा संघले बनाएको भूकम्प सहयोग समिति संयोजक बनेर मसित ज्यादै मोटो रकम उठाएको र दोस्रो संविधानसभाको चुनावको बेला त हिसाबै नगरौं कति भयो कति ।’ ‘भूकम्पको बेला नै आठ नौ करोड त उनी थापाको नामबाट गएको मसित प्रमाण छ ।’ यसरी सिधै नेता तथा कार्यकर्ताको नामै तोकेर आएको यो जानकारी नेपालको राजनीतिक इतिहासमा एउटा ठूलै राजनीतिक भ्रष्टाचारसिवाय अरू के हुन सक्छ ?
यसबाट एमाले एउटा गम्भीर रूपमा आर्थिक अराजकता र राजनीतिक भ्रष्टाचारको गोलचक्करमा फसेको स्पष्ट हुन्छ र यस्तो गम्भीर भ्रष्टाचारयुक्त कार्यका विरूद्ध नेपालको अख्तियारले केही गर्न सक्ला ? यस्ता मात्रै नभई अझ गोल्छालाई धम्कीयुक्त भाषाको प्रयोग गर्दै यस्तो जानकारी दिएकोमा कडा कारबाही गर्ने समेत भनिएको छ । यस्तो भन्नु यो भन्दा ठूलो आर्थिक अराजकता अरू के हुन सक्छ ? यसरी दोषी पनि स्पष्ट भएको र पीडित पनि स्पष्ट भएको अवस्थामा नेपालका सरकारी र गैरसरकारी निकायहरू भने गैरजिम्मेवार भएर कानमा तेल हालेर बस्नुका पछाडि केले काम गरेको छ, स्पष्टताको आवश्यकता छ । साथै आफूलाई सर्वहारावर्गको राजनीतिक दल भन्ने, तर व्यवहारमा पैसा लिएर समानुपातिकमा यस्ता धनाढ्यलाई छान्ने कामले एमाले र नेपालका अन्य कम्युनिष्टहरूमाथि अनेकौं प्रश्नहरू उठनु स्वाभाविक हो । एउटा कम्युनिष्ट पार्टीमा हरेक चिजको निर्णय र फैसला, विचार, सिद्धान्त र अनुशासनद्वारा गरिने परिपाटी हुनुपर्नेमा यस्ता घटनाले ती पार्टीभित्रका इमानदार नेता तथा कार्यकर्ताको शिर निहुरिने कामसिवाय के हुन सक्छ ? पार्टीको विचार र सिद्धान्तलाई एकातिर पन्छाएर हरेक निर्णय र कार्यलाई पद र पैसासित तौलने प्रवृत्ति र व्यवहारले नेपालको समग्र वामपन्थी आन्दोलनलाई देश र जनताको नजरमा कहाँ पुर्‍याउने हो ? गम्भीर चिन्ताको विषय भएको छ र यो पनि एउटा जनघात र राष्ट्रघात नै हो, जसको लागि नेपालको जनअदालतको कठघरा उनीहरूका लागि उपयुक्त ठहर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here