काठमाडौँ १२ कातिक–नेकपा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति तथा प्रथम महिला राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । राष्ट्रपतिका लागि बुधबार भएको निर्वाचनमा भण्डारी ३२७ मत प्राप्त गरी विजयी भएकी हुन । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका पूर्व महामन्त्री कूलबहादुर गुरुङले २१४ मत प्राप्त गरेका थिए । भण्डारी सत्तारुढ गठबन्धनको समर्थनमा राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
बुधबार साँझ बसेको व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले नेपालको संविधानको धारा २९७ को उपधारा (३) बमोजिम तथा संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा ३७ को उपदफा(१) बमोजिम भण्डारी राष्ट्रपतिमा विजयी भएको घोषणा गरेकी हुन्। निर्वाचनमा हाल कायम रहेका ५९७ सांसदमध्ये ५४९ ले मतदान गरेका थिए । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ३५ सांसदले निर्वाचनमा भाग लिएका थिएनन् । केही सांसद अनुस्थित भए भने ८ मत बदर भएको संसद सचिवालयले जनाएको छ ।