काठमाडौ, नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी मुलुक तथा मित्रराष्ट्रहरुले बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति पदको सपथ ग्रहण पश्चात छिमेकी मुलुकहरु चीन, भारत तथा मित्रराष्ट्रहरु अमेरिका तथा बंगलादेश लगायतका मुलुकले बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
भारतका राष्ट्रपति प्रवण मुखर्जीले समकक्षी भण्डारीलाई बधाइ तथा शुभकामना सन्देश पठाउँदै भण्डारीको नेतृत्वमा नेपालले शान्ति, समृद्धि स्थिरता कायम गर्दै अघि बढने विश्वास व्यक्त गरे । भारतको राष्टपति कार्यालयले विहिबार एक वक्तव्य जारी गर्दै भारतले नेपालकोसँगको सम्बन्धलाई उच्च महत्व दिएको भन्दै राष्ट्रपति मुखर्जीले नेपाली समकक्षीसँग निकट रहेर कामगर्न इच्छुक रहेको जनाइएको छ ।
त्यस्तै चिनिया विदेशमन्त्रालयका प्रवक्ता लु काङले बेइजिङमा पत्रकारसम्मेलनको आयोजना गरी भण्डारी नेतृत्वमा नेपाल समृद्ध हुने विश्वास व्यक्त गरेका छन् । उनले नेपालमा एकता, शान्ति र स्थायीत्व हुने विश्वास व्यक्त गर्दै भण्डारीको सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षागर्न नेपालले चाल्ने कदममा चीनले सधै सहयोथ गर्ने जनाए । भण्डारी राष्ट्रपतिमा नियुक्त भएलगत्तै चिनिया राजदुत ऊ चुन्ताइले भण्डारीलाई निवासमै गएर शुभकामना दिएका थिए ।
त्यस्तै बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिनाले छुट्टा छुट्टै सन्देश पठाउँदै राष्ट्रपति भण्डारीलाई शुभकामना दिएका छन् । त्यस्तै अमेरिकी विदेश मन्त्रालयले नेपालमा महिला राष्ट्रपति चयन हुनु ऐतिहासिक निर्णय भएको भन्दै भण्डारीलाई बधाई दिएको छ ।