एक अध्ययनअनुसार पाखुरामा ११ भन्दा बढी तिलकोठी हुनुले गम्भीर किसिमको छालाको क्यान्सरको खतरा बढाउाछ । बेलायती पत्रिका डर्माटोलोजीमा प्रकाशित शोध अनुसार एउटै पाखुरामा ११ भन्दा बढी कोठी हुनु छालाको क्यान्सर अर्थात् मेलोनोमाको खतराको लक्षण हुनसक्छ । दुई सय जना जुम्ल्याहा महिलामा गरेको अध्ययनको आधारमा शोधकर्ताहरूले यस्तो निष्कर्ष निकालेका हुन् । साथै जिउका तिलकोठीका आधारमा स्तन क्यान्सरको गम्भीर खतराको समेत पहिचान गर्न सहयोग मिल्ने शोधकर्ताहरूको भनाइ छ ।
लण्डनस्थित किंग्स कलेजका शोधकर्ताहरूले जुम्ल्याहा महिलाहरूको एक समूहमा ८ वर्षसम्म अध्ययन गरे । त्यसक्रममा उनीहरूले ती महिलाहरूको छालाको प्रकार, शरीरमा रहेका तिलकोठीलगायतका विषयमा विभिन्न तथ्यहरू संकलन तथा विश्लेषण गरे । कलेजका ट्विन रिसर्च एण्ड जेनेटिक इपिडिमियोलोजी विभागका सिमोन रिबेरोका अनुसार यो अध्ययनबाट प्राप्त नतिजाले क्यान्सरको सुरुवाती पहिचानका लागि ठूलो मद्दत मिल्नेछ । शोधकर्ताहरूले ४ सय जना पुरुष तथा महिलाहरूको एक अर्को समूहमा पनि अध्ययन गरेका थिए । जसबाट छालाको क्यान्सरको खतराका विषयमा जान्ने सजिलो तथा छिटो तरिकाका विषयमा जानकारी प्राप्त भएको छ ।
यदि दाहिने पाखुरामा ११ वटा तिलकोठी भएमा जिउका अन्य भागमा १ सय वटा कोठी हुनेभन्दा पनि छालाको क्यान्सरको जोखिम सबैभन्दा बढी हुन्छ । पाखुरामा तिलकोठी बढी हुने मानिसमा छालाको क्यान्सरको जोखिम उच्च हुने देखिएको भए पनि यसको कारण भने पत्ता लागेको छैन ।