हुकुमबहादुर सिंह
नेपालको संविधान २०७२को कार्यान्वयन गर्ने जिम्मेवारी नेपालका वामपन्थीहरूको काँधमा आएको छ । यद्यपि उक्त जिम्मेवारीका हिस्सेदार विगतका राजावादी र एनजीओवादी पनि छन् । बहुलवादमा आधारित संसदीय गणतन्त्रात्मक संविधानमार्फत अहिले नेपालमा विश्व एकाधिकार दलाल पुँजीवादी खासगरी भारतीय एकाधिकार दलाल तथा नोकरशाही विस्तारवादीहरू यसबाट अझै सन्तुष्ट देखिएका छैनन् र ऊ अहिले दुईटै घोडामा सवार गर्ने महत्वाकांक्षा लिएर उपस्थित भएको छ । वामपन्थी घोडामा सवार संविधान, संसद र सरकारबाट मात्रै ऊ सन्तुष्ट नभई उसका विश्वासपात्र मानिने केही मधेसवादीका नाममा भारतवादी भनेर आफूलाई घोषणा गर्नसमेत पछि नपर्ने राजेन्द्र महतोजस्ता भारतीय नेपाली नेताहरूलाई काँधमा बोकेर हिाड्न खोजिरहेको छ । यही नै अहिलेको समस्याको मूल जरो भएको छ । यो जरो उखेल्नु नै अहिलेको तत्कालको समस्याको समाधान हो । यो जरो उखेल्ने नाममा मधेसी जनतामाथिको दमन समग्र नेपालीमाथिको दमन हो । राजेन्द्र महतोजस्ता भारतीय नेपाली नेताहरूलाई वार्ताको टेबुलमा राखेर यो सरकारले महान् गल्ती गरिरहेको छ । मधेसी जनताले त स्पष्टसित राजेन्द्र महतोजस्ता भारतीय नेपाली नेताहरूलाई त विगतको संविधानसभाको निर्वाचनबाट तिमीहरूले मधेसको हितमा संविधान बनाउन सक्दैनौ भनेर पराजित गरिदिएका थिए । अहिले आएर तिनै जनताद्वारा हराइएका मधेसी नेताहरूले दिल्लीको आशीर्वाद लिएर अहिले मधेसमा जेजस्ता अराजक क्रियाकलापहरू गरिरहेका छन्, त्यसबाट वर्तमान सरकार पनि स्पष्टसित नेपाल र नेपालीको पक्षमा काम गर्ने साहस देखाउन असमर्थ देखिएको छ । यसका पछाडिको मूल कारण प्रथम नेपालमा बनेको संविधानले सही अर्थमा नेपाली जनताको पक्षमा काम गर्न असमर्थ छ, किनभने यसले जनताको पक्षमा भन्दा दलाल तथा नोकरशाही पुँजीवादलाई बोकर हिाडिरहेको छ । दोस्रो यसको रक्षाका लागि काम गर्ने सरकार वामपन्थीहरूको वर्चश्वमा छ तर यसरी वामपन्थी सरकाररूपी घोडामा सवार भएको वैदेशिक दलाल तथा नोकरशाही पुँजीपति वर्गले आफ्नो लगाम यसरी कस्दै लगिरहेको छ कि अब उसका लागि नेपाल र नेपालीको हितमा काम गर्नका लागि कठिन बन्दै जानु स्वाभाविक भएको छ । जसको परिणाम नेपाली जनतामाथि वैदेशिक दलाल तथा नोकरशाही पुँजीपति वर्गको हितमा काम गर्ने भारतीय मोदी सरकारको अघोषित नाकाबन्दी उपहार भएर आएको छ । अब परिस्थिति यस्तो बन्दै गएको छ मानौा भारतीय शासकवर्गले नेपालको वामपन्थी सरकारलाई उसका अगाडि झुकाउन विना पोशाकका भारतीयहरूले नेपालका देशभक्तहरू र नेपाली सुरक्षा निकायमाथि सांघातिक आक्रमण गर्न थालेका छन् । यसका लागि नेपालको वर्तमान सरकारले मधेसी जनतामाथिको दमन तत्काल बन्द गर्ने र राजेन्द्र महतोजस्ता भारतीय नेपाली नेताहरूलाई दृढताका साथ कडा कारबाहीको रणनीति अख्तियार गर्नु आवश्यक छ ।
अहिले नेपाली राजनीतिका केबल दुईवटा मात्र पाटा छन् । एउटा बाटो–सामन्त, नोकरशाही एवं दलाल पुँजीपति वर्गको सत्ता–संसदीय व्यवस्था जसलाई भारतीय शासकवर्गले आफ्नो इशारामा चलाउन चाहन्छ । दोस्रो यो व्यवस्थाका विरूद्ध क्रान्ति र परिवर्तनको बाटो । पहिलो पद, प्रतिष्ठा र स्वार्थका लागि सुविधाभोगी राजनीतिका लागि जनता र क्रान्तिप्रति विश्वासघात गर्दै भारतीय विस्तारवादका अगाडि आत्मसमर्पण, पलायन र संसदीय दलदलमा कहिल्यै नउम्कने गरी फस्ने बाटो हो भने दोस्रो बाटो भनेको त्याग, बलिदान तथा आत्मोत्सर्गको बाटो । के स्पष्ट हो भने पहिलो बाटो क्रान्तिप्रति विश्वासघात गर्ने गद्दार एवम् कायरहरूले रोज्ने बाटो हो भने दोस्रो जनमुक्तिका योद्धा एवं वीरहरूले रोज्ने बाटो हो ।
एउटा माक्र्सवादीका लागि वर्तमान संविधानले अंगीकार गरेको वर्तमान सत्ता भनेको एकाधिकार दलाल तथा नोकरशाही पुँजीवादीहरूको सत्ता हो र यसको कार्यान्वयन गर्ने भनेको यही सत्तालाई कसरी बलियो बनाउने भन्ने नै हो । र, वर्तमान संविधानअन्तर्गतको सरकारमा कम्युनिष्टहरूको वर्चश्व भएता पनि सत्तामा तिनै एकाधिकार दलाल तथा नोकरशाही पुँजीवादीहरूको हालीमुहाली हुने स्पष्ट छ । वामपन्थी घोडामा सवार संसदीय गणतन्त्रको अन्त्य नै दीर्घकालीन मधेस, पहाड र हिमाल आदि समग्र मुक्तिको मार्ग हो ।