काठमाडौं, कात्तिक २४– भारतीय राजदूत रणजित रेले अवरुद्ध नाका सहज हुने भन्ने कुरालाई प्रचार मात्र भएको जनाएका छन् । मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राजदूत रेले यस्तो जनाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाका खुल्ने संकेत पाएको जनाएलगत्तै राजदूत रेको यस्तो भनाइ बाहिर आएको हो । उनले नेपाल सरकारले भारतलाई नाकाबन्दी खोल्न विशेष आग्रह गरिने मन्त्रिपरिषद्बाट प्रस्ताव पास गरे पनि त्यो आफूलाई आधिकारिक रुपमा जानकारी नभएको जनाए ।
उनले भने, ‘सरकारले विशेष प्रस्ताव पास गरेको कुरा मैले पनि पत्रपत्रिकाबाट थाहाँ पाएँ । सरकारको प्रस्ताव मैले औपचारिक रुपमा पाएको छैन ।’ तर यसको औपचारिक जानकारी भए यसलाई गम्भीरताका साध अघि बढाउने उनले जनाए । राजदूत रेले मुख्य नाका वीरगञ्ज सहज नभएसम्म आपूर्ति सहज नहुने पनि प्रष्ट पारे ।
भारत नेपाललाई सधैं सहयोगका लागि तत्पर रहेको जनाउँदै उनले भारतविरोधी गतिविधि वाञ्छनीय नहुने स्पष्ट पारे । नेपालमा देखिएको समस्या वार्ता र संवादबाटै हल गर्नुपर्नेमा जोड दिँदै उनले संविधान संशोधनबाट समस्याको समाधान गर्न सुझाव दिए ।