काठमाडौँ, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुई महिना देखि भारतले नेपालमा लगाईरहेको अघोषित नाकाबन्दी तत्काल अन्त्य गरी आपूर्ति सहज बनाउन भारत सरकारसँग आग्रह गरेका छन् । प्रधानमन्त्री भएपछि पहिलो पटक आइतबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अघोषित नाकाबन्दी तत्काल अन्त्य गरी अत्यावश्यक बस्तुको आपूर्ति सुचारु गर्न र दुई देशबीचको युगौँ पुरानो सम्बन्धलाई नबिगार्न भारतसँग आग्रह गरेका छन् ।
ओलीले नेपालमा नयाँ संविधान घोषणा भएपछि मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण मानवीय सङ्कट उत्पन्न भएको भन्दै दुई देशका बीच भएका उच्चस्तरीय भ्रमणका बेला प्रकट सद्भाव र ऐतिहासिक सन्दर्भको स्मरण गर्दै अविश्वास र शङ्काको स्थिति समाप्त पारी समझदारी बढाउन आप्mनो तर्फबाट योगदान गर्न आफू तत्पर रहेको पनि जनाएका छन् ।
अग्रिम भुक्तानी गरिएका इन्धनसमेत आपूर्ति नभएको तथा सुरक्षा असहजता नभएका नाकाबाट पनि आपूर्ति नगरिएबाट आफू विस्मित भएको बताउँदै उनले यसबाट भूकम्पबाट भन्दा बढी मानवीय सङ्कट खेप्नु परेको जनाए ।
प्रधानमन्त्री ओलीले भारतीय पक्षले गरिरहेको एकतर्फि नाकाबन्दीलाई र उसको व्यवहारबाट सिक्दै संकटलाई अवसरमा बदल्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ लाग्नु सरकारको प्रमुख दायित्व रहेको जनाए ।
ओलीले दक्षिणी सीमानामा भएको अघोषित नाकाबन्दीबाट स्वतन्त्र राष्ट्रको सार्वभौमिकताको सम्मान गरिनुपर्ने संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्तहरू, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको बडापत्र एवं समुद्री कानुनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धीले प्रत्याभूत गरेको भूपरिवेष्ठित राष्ट्रहरूको पारवहन अधिकार, नेपाल–भारतबीच भएका व्यापार र पारवहन सन्धी एवम् दुई देशबीच युगौं पुरानो मित्रतापूर्ण सम्बन्ध तथा दुई देशका जनताको भावनाको अवमूल्यन र उल्लङ्घन भएको जनाए ।