काठमाडौं/ यस वर्षको चौंथो राष्ट्रिय कर दिवसको अवसरमा सबैभन्दा बढी आयकर तिर्ने अस्पतालको रूपमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि सम्मानित भएको छ ।
गत मंगलबार ‘समृद्ध राष्ट्र निर्माण र फराकिलो कराधार : करदातामैत्री सुदृढ कर प्रणाली पूर्वाधार’ भन्ने मूल नाराका साथ मनाइएको चौंथो राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले नर्भिक हस्पिटललाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो । उक्त सम्मान अर्थमन्त्री विष्णु पौडेलले प्रदान गरेका थिए । अत्याधुनिक सेवासुविधासहित सञ्चालित नर्भिकको स्थापना सन् १९९४ मा भएको हो । चौधरी ग्रुपद्वारा प्रवद्र्धित नर्भिकले २ सय शैयामार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
सो अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट करदाता व्यक्ति तथा कम्पनीहरूलाई सम्मान गरिएको छ । सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिको रूपमा प्रगुण राजभण्डारी, सबैभन्दा बढी भ्याट तिर्ने सरकारी कम्पनीमा नेपाल टेलिकम, प्राइभेट कम्पनीतर्फ एनसेल, बैंकतर्फ नबिल बैंक, रेमिट्यान्स कम्पनीमा आइएमई, व्यापार व्यवसायतर्फ अग्नि इन्कर्पोरेटेड, प्रोपाइटरसिप फर्ममा पशुपति ट्रेड लिंक, सबैभन्दा बढी अन्त:शुल्क तिर्ने सूर्य नेपाल, कृषि उद्योगमा सिजी फुड्स, वायुसेवा कम्पनीमा बुद्ध एयरलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरिएको छ ।
२०५४ मंसिर १ गते मूल्य अभिवृद्धि कर लागू भएको दिनको सम्झनामा हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ ।