हुकुमबहादुर सिंह
नेकपा (क्रान्तिकारी माओवादी) सडक आन्दोलनको कार्यक्रमका साथ सडकमा उत्रिएको छ । नेपालमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको मुद्दालाई आन्दोलनको केन्द्र बनाएर सडकमा उत्रिएको नेकपा (क्रान्तिकारी माओवादी)ले आफ्नो आन्दोलनको पहिलो केन्द्रविन्दु राष्ट्रियताको सवाललाई बनाएको छ र यसैलाई आधार बनाएर भारतको नेपालमाथिको नाकाबन्दीको खारेजीको माग राखी विरोध जुलुस र धर्नासहित भारतको नेपालस्थित राजदूतावासमा विरोधपत्र बुझाएको छ । उक्त विरोध जुलुस र धर्नाको नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष क. मोहन वैद्य किरणले गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको पारवहन अधिकारको सम्मान र आर्थिक नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गरिएर लेखिएको उक्त विरोधपत्र नेपालको राष्ट्रियता र सार्वभौमिकतासाग सम्बन्धित थियो ।
राजदूतावासमा विरोधपत्र बुझाएपछिको सम्बोधनमा पार्टी अध्यक्ष क. किरणले भने, ‘क. माओले प्रतिपादन गरेको नयाँ जनवादी क्रान्तिका दुईवटा कार्यभार हुन्छन् र नेपालमा सञ्चालित दश वर्षे जनयुद्धका पनि दुईवटा कार्यभार थिए । प्रथम जनतन्त्रको लागि सामन्तवादको अन्त्य । यो भनेको नेपालमा सयौं वर्षदेखि निरंकुश शासन गर्दै आएको राजतन्त्रको अन्त्य थियो । किनभने राजतन्त्र स्वभावत: सामन्तवादको नाइके हुन्छ र दोस्रो राष्ट्रियताका लागि देशको अर्धऔपनिवेशिक अवस्थाको अन्त्य । अर्धऔपनिवेशिक अवस्थाको अन्त्य भनेको विश्व साम्राज्यवाद, नेपालको सन्दर्भमा भारतीय विस्तारवादी शोषणको अन्त्य हो । यसरी नेपाली क्रान्ति राष्ट्रियता र जनतन्त्रको प्राप्तिका लागि हो ।’
नेपालमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापना भएको छ र यसरी जनवादी क्रान्तिको पहिलो उद्देश्य आंशिक रूपले पूरा भएको छ । आशिंक यस अर्थमा कि नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र त आयो तर नेपालको कृषि क्षेत्रमा सयौं वर्षदेखि रहादै आएको सामन्ती कृषि प्रणालीमा शून्यबराबरको पनि परिवर्तन भएको छैन र सामन्तवादका जराहरू नेपालको राजनीति, अर्थनीति, संस्कृति आदिमा उस्तै बलियो गरी गाडिएका छन् । परिवर्तनका नाममा यो समाजमा झन्झन् झांगिएर गएको छ । नेपालमा एउटा राजा थिए तर अहिले झन् कैयौं राजाहरू राजनीतिक दलका नेताका रूपमा उदाएका छन् । मधेस आन्दोलन अहिले यिनै जमिनदार, सामन्त तथा नोकरशाहीको चौघेराको गोलचक्करमा बन्दी बनाइएको छ । गणतन्त्र सही मानेमा जनतालाई आएको छैन । त्यसका लागि पनि संघर्ष आवश्यक छ । साथै नेपालमा जनतन्त्रको लडाइाको आवश्यकता झन् बढेको छ । किनभने परम्परावादी संसदवादी शक्तिहरू अहिले पनि सत्ता र सरकारमा छन् । नेपाली जनताले दशकौंदेखि आफ्नो संविधान आफौ लेख्न पाउनुपर्ने भन्दै आन्दोलनमा रगत बगाए तर अहिले आएर जनताका लागि संविधान नलेखि तिनै सामन्त तथा नोकरशाहीका लागि संविधान बन्यो । परिणाम नेपालका दलित, महिला, जनजाति, मधेसी, मुस्लिम आदिका अधिकार संविधानमा समावेश गरिएको छैन । त्यसैले जनतन्त्रको लडाइा पनि उत्तिकै आवश्यक भएको छ । तर नेपालमा राष्ट्रियता र जनतन्त्र यसरी मिसिएर आएको छ कि ती दुवैको केन्द्र अहिले भारतीय प्रतिक्रियावादी शासकवर्ग भएको छ । नेपालभित्रका सामन्त, दलाल, नोकरशाही तथा पुँजीपति वर्गले भारतीय शासकवर्गसित मिलेर नेपालमाथि शोषण गरेको छ । त्यसकारण भारतीय विस्तारवादको अन्त्य गरेर मात्रै सही मानेमा नेपालमा जनतन्त्र र राष्ट्रियताको सुरक्षा हुन सक्छ । नेपालको दीर्घकालीन समाधान यस मानेमा नयाँ जनवादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्तिको सफलताविना जनताका दैनिक जीविकाका आधारहरू पनि निर्माण हुन सक्दैनन् । किनभने दलाल नोकरशाही, पुँजीपति तथा सामन्तवर्ग जनताका शत्रु हुन् र यिनले जनताको शोषणमा मात्रै आफ्नो भविष्य देख्छन् । तिनको अन्त्य नगरी जनतालाई न त जनतन्त्र प्राप्त हुन सक्छ, न उनीहरूका जनजीविकाका सवालहरू समाधान हुन सक्छन्, न देशको राष्ट्रियता र सार्वभौमिकताको संरक्षण हुन सक्छ । तैपनि तत्कालमा भारतीय नाकाबन्दीले नेपाल र नेपालीमाथि जे जस्तो अमानवीय संकट उत्पन्न गरेको छ, त्यसको अन्त्य अनिवार्य छ र जसका लागि नेकपा (क्रान्तिकारी माओवादी)ले आफ्नो संघर्षका कार्यक्रमहरू अगाडि ल्याएर देश र जनताको पक्षमा आवाजहरूलाई जनतासित मिलाउने जे जस्तो प्रयास गरेको छ, त्यो स्वागतयोग्य छ, जसको जनस्तरमा सहभागिता र संलग्नता अनिवार्य छ ।