काठमाडौ, ११ मंसिर । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालको समस्याको समाधानको साँचो नयाँ दिल्लीमा नभई काठमाडौमै भएको जनाएका छन ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नेपालीहरुको समस्या नेपालले नै संबोधन गर्नु पर्छ । समस्या समाधानको साचो नयाँ दिल्लीमा छैन । काठमाडौ मै छ, नेपालीले यही खोज्नु पर्छ, हामीले होईन ।’
जोलीले नेपालको समस्या नेपाली नेताहरुले शान्तिपुर्ण अहिंसात्मक रुपमा मन र दिमाग खुल्ला राखेर संबादमार्फत समाधान खोज्नु पर्ने भन्दै हरेक वर्षापछि बादल हटेर सुर्य निस्किए झै नेपालको संकट छिटो हल हुने आशा ब्यक्त गरे ।
उनले आफूसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारत विरोधी नभएको बरु भारतको सच्चा भित्र भएको बताएको उल्लेख गर्दै नेपालको समस्या सिघ्र समाधान भएर नेपाल प्रगति तिर लाग्ने विश्वास बढेको बताए । ओलीको भेटपछि जोलीले भने,‘ म निक्कै आशाबादी छु । नेपालको अहिले देखिएको गत्यारोध छिटै हटछ ।’
जोलीले आफू काठमाडौ उत्रिनासाथ नेपालको पवित्र माटो निधारमा लगाएको उल्लेख गर्दै भने,‘ जुन माटो प्रति भारतमा प्रेम छ । त्यही सम्मान नेपाली जनताप्रति पनि भारतीय जनताको छ । नेपाललाई सवल विकाशित र शक्तिशाली देख्नु हाम्रो परिकल्पना हो ।’
भारतले नेपालमा घोषित वा अघोषित कुनै पनि रुपमा आर्थिक नाकाबन्दी नलगाएको दावी गर्दै नेपालमा बढ्दो असुरक्षाको कारण भारतीय निजी सवारी चालकहरु नै प्रवेश गर्न नमानेकोले यस्तो अवस्था आएको दावी गरे ।
उनले भने,‘ सामान बोकेका निजी सवारी साधनका चालकहरु नै सुरक्षाको कारण देखाउँदै नेपाल जान चाहँदैनन । नेपालमा सुरक्षा भयो र यहाँ क्षति नपुर्याउने हो भने उनीहरु नेपाल आउन तयार छन ।’
जोलीले आफूहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको दावी गर्दै केही चासोहरु नेपाली नेताहरुलाई ब्यक्त गरेको भएपनि त्यो मान्ने नमान्ने यहाँका दल र नेताहरुको काम भएको बताए ।
उनले नेपालमा भारत विरोधी गतिविधी बढेको प्रति दुख ब्यक्त गर्दै आफ्नो देशको प्रधानमन्त्रीको पुत्ला जलेको देख्दा दुख लाग्नु स्वभाविक भएको तर्क गरे ।
जोलीले भने,‘ १५० दिनमा नेपालमा भएको भारत विरोधी सेन्टिमेन्ट हामीले भारतमा सुन्न पायौ । संयूक्त राष्ट्र संघमा मुद्दा गयो, जेनेभामा गयो । तर भारतले कहिल्यै पनि यस विषयमा कुनै विज्ञप्ति निकालेन ।’
नेपालसँगको भारतको सम्बन्ध रणनैतिक समेत भएको भन्दै नेपाल अशान्त हुँदा भारतको धेरै राज्य असुरक्षित हुने तर्फ सचेत गराए ।
उनले नेपालका लागि भारतीय राजदुत रञ्जित रेले सवल भूमिका निर्वाह गर्दै भारत सरकारको निर्णयलाई राख्ने प्रयास गरेको भन्दै राजदुत परिवर्तनको सम्भावना आफूले नदेखेको बताए । जोलीले भने,‘ सरकारले अहिलेसम्म पुराना निर्णयहरु केही परिवर्तन गरेको छैन । यसमा पनि मैले सम्भावना देखेको छैन ।
जोलीले कसैले पनि अहिले विवादास्पद बक्तब्यबाजी र बाद विवाद बाट बच्नु पर्ने भन्दै नाजुक समयमा विश्वास र शान्तिसँग सम्झाउन सक्नु पर्नेमा जोड दिए ।
उनले आफू भारत फर्किएपछि यहाँ भएको कुराकानी र अवस्थाको विषयमा भारत सरकारलाई अवगत गराउने भन्दै यहाँ देखिएको पेट्रोलियम पदार्थ, औषधी र खाना पकाउने ग्यासको समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भने,‘ मेरो पूर्वजन्ममा मेरो पक्कै केही सम्बन्ध हुनु पर्छ जसको कारणले म पटक पटक नेपाल आईरहन पाईरहेको छु।’
जोलीले भाजपाकै संसद किर्ति आजादले नेपालको तराईका १५ जिल्ला भारतीय भूमि भएकोले त्यसलाई नेपालले फिर्ता गर्नु पर्ने अन्यथा त्यसलाई बलपूर्वक लिनु पर्ने भनि आएको भनाईलाई उनको निजी धारणा भन्दै त्यसमा आफू, भारतीय जनता पार्टी र भारतसरकार सहमत नरहेको स्पष्ट पारे ।
उनले भने,‘ भारत छिमेकीको सीमा मिच्ने पक्षमा छैन । त्यो उनको निजी मत हो । भारत नेपालको भौगोलिक अखण्डताको पक्षमा छ । संसद किर्ति आजादले मिथिला क्षेत्रसँग सम्बन्ध भएकोले भावाबेसमा त्यस्तो अभिब्यक्ति दिएको हुन सक्छ । तर त्यसमा हामी असहमति ब्यक्त गर्छौ । ’