काठमाडौ, २० मंसिर–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचार गरेको आशंकामा पूर्वमन्त्रीहरु, सांसद तथा बहालवाला सचिवसहितका उच्च अधिकारीमाथि छानबिन सुरु गरेको छ । अख्तियारले विभिन्न २९ जना प्रतिस्ठित व्यक्तिहरुलाई पत्र लेख्दै एक साता भित्र आयोजमा बयानका लागि बोलाएको छ । अख्तियारले पत्र काटेका सबै जनाको बैंक लकरसमेत आजसम्मका लागि बन्द गर्न निर्देशन दिइएको छ ।
अख्तियारले छानबिनका लागि बोलाएका पूर्वमन्त्रीहरूमा एमाओवादीका महासचिव कृष्णबहादुर महरा, एमालेका नेताहरू राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, वंशीधर मिश्र, ल्हारक्याल लामा, मालेकी नेतृ निलम केसी खडा, विद्याधर मल्लिक, रामकुमार श्रेष्ठ, छविराज पन्त, शंकर कोइराला, उमाकान्त झा, टेकबहादुर थापा घर्ती छन् । त्यस्तै छानबिनमा परेकाहरुमा बहालवाला स्वाथ्य सचिव शान्तबहादुर श्रेष्ठ, सिंचाइ सचिव अनुपकुमार उपाध्याय र कृषि सचिव उत्तमकुमार भट्टराई रहेका छन् ।
त्यस्तै पूर्व मुख्यसचिव भोजराज घिमिरे, बहालवाला अतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, नेपाल प्रहरीका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख नायव महानिरीक्षक विजयलाल कायस्थ, पूर्व महानिरीक्षक एवं एमाओवादीका सांसद रवीन्द्रप्रताप शाह, प्याब्सन र एनप्याब्सनका पूर्व अध्यक्ष एवं सांसद बाबुराम पोखरेल, उमेश श्रेष्ठ र गीता राणा छन् । त्यस्तै एमाले सांसद एवं सिभिल ट्रेड सेन्टरका मालिक इच्छाराज तामाङ, एमालेका सांसद जनार्दन ढकाल, पूर्व सांसद विजय पौडेल, निर्माण व्यवसायी एवं राप्रपाका सांसद विक्रम पाण्डे, व्यवसायी राजकुमार अग्रवाल, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खडका, साझा यातायातका अध्यक्ष एवं हिमाल मिडियाका प्रकाशक कनकमणि दीक्षितसमेत अख्तियारको छानबिनमा परेका छन् । कान्तिपुर दैनिकले समाचार लेखेको छ ।