काठमाडौं, मंसिर २४ । भारतको नाकाबन्दीको चंगुलमा परेर मुलुक संकटपूर्ण अवस्थामा रहेको र जनताको दैनिकी अत्यन्त कष्टकर बन्दै गइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको खाजा खर्च भनेर लाखौँ रूपैयाँ भुक्तानी भइरहेको छ ।
दुई साताअघि मात्र प्रधानमन्त्री ओलीको खाजा खर्च भनेर प्रधानमन्त्री कार्यालयले १२ लाख ६१ हजार एक सय ८९ रूपैयाँ भुक्तानी गरेको थियो । तर फेरि अहिले खाजा–नास्ता शीर्षकमा नै ११ लाख २० हजार तीन सय ४१ रूपैयाँ भुक्तानी गर्ने तयारी गरेको समाचार सार्वजनिक भएको छ । तर प्रधानमन्त्री सचिवालयले यो समाचारको खण्डन गरेको छैन । अनमोल क्याटरिङ सर्भिस प्रालिले मंसिर १५ गते खाजाबापतको ६ लाख ४६ हजार तीन सय ६० रूपैयाँ भुक्तानी पाऊँ भन्दै बिल पेस गरेको छ भने बुद्धनारायण खाद्यान्न सप्लायर्स प्रालिले मंसिर १३ गते चार लाख ७३ हजार नौ सय ८१ रूपैयाँ भुक्तानी पाऊँ भनी बिल पेस गरेको थाहा भएको छ । ती बिल प्रधानमन्त्री कार्यालयले आफ्नो वेबसाइटमा राखेर सार्वजनिक गरेको छ ।