काठमाडौ २४ मंसिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिहं कार्कीले भ्रष्टाचारको अन्त्यका लागि जस्तो सुकै मूल्य चुकाउनका लागि पनि आफू तयार रहेको जनाएका छन् । ‘भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस २०७२’ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त कार्कीले हालै अख्तियारले केही व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउँदा अनावश्यक टिकाटिप्पणीहरु भएको भन्दै त्यसप्रति असन्तुष्ट व्यक्त गरेका छन् । कार्कीले बयानका लागि बोलाइएका व्यक्तिहरुका बारेमा विभिन्न उजुरी परेको र अख्तियारको अनुसन्धानका क्रममा समेत बयानमा बोलाउनुपर्ने आवश्यकता देखिएकाले बोलाइएको भन्दै अख्तियारले अनुसन्धान सुरु गर्दैमा आत्तिनुपर्ने अवस्था नहरेको जनाए । उनले भने ‘अनुसन्धान गर्ने अख्तियारको दायित्व हो, अनुसन्धानका क्रममा दोषि नदेखिएका साथीहरु निर्दाेश सावित हुनुहुनेछ । तर भ्रष्टाचार गर्नेलाई कारबाहीको दायरामा ल्याउँदा विरोध होइन सबैको साथ चाहिन्छ ।’ विभिन्न मन्त्रालयका प्रवक्ता, विभागिय प्रमुख तथा पत्रकारहरुको माझमा बोल्दै कार्कीले आफूले भ्रष्टाचारीहरुका विरुद्ध शसक्त कारबाही सुरु गरेको भन्दै जस्तो सुकै चुनौतिका बीच पनि आफूलाई कारबाही प्रक्रिया अघि बढाएर छाडने प्रतिवद्धता व्यक्त गरे । उनले कुनै पनि शक्तिले भ्रष्टाचारीलाई कारबाही गर्नबाट आफूलाई रोक्न नसक्ने दाबी गरे ।