काठमाडौ, ३ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । सशस्त्र प्रहरी बल हलचोकले आ।व। ०६९।०७० र ०७०।०७१ मा खरीद भएका सामान ढुवानी गरी नेपालभर आफ्नो युनिटमा पठाउन टेण्डर आव्हान गरी सदाज्योती सप्लायर्स संग सम्झौता गरेकोमा सो सम्झौता बमोजिम ढुवानी नगरी नक्कली बिल बनाई करोडौ भ्रष्टाचार गरेको भन्ने लगायतका उजुरी आयोगमा परेका थिए । आयोगले ती उजुरी उपर विस्तृत अनुसन्धानका क्रममा खरिद गरिएका सामानहरु भन्दा अस्वभाविक बढि सामानहरु ढुवानी गरेको देखाई झुठ्ठा बिल तथा पत्रहरु तयारी गरी सम्झौता विपरित ढुवानीकर्ता संग मिलेमतो गरी ब्यापक आर्थिक अनियमितता गरेको पाइएकोले थप अनुसन्धानका लागि निलम्बनको आदेश दिएको हो । आर्थिक अनियमितता तथा भ्रष्टाचारजण्य कार्यमा प्रतक्ष्य संलग्न रहेका देखीएका सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त¸ सशस्त्र प्रहरी नायब उपरीक्षक द्वय सुमनजंग थापा र रामकृष्ण महर्जन तथा सशस्त्र प्रहरी निरीक्षक विन बहादुर थापा समेतका प्रहरी कर्मचारीहरु पदमा बहाल रहि रहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नास गर्न सक्ने र अनुसन्धान तहकिकातको कार्यमा समेत बाँधा व्यवधान पुर्याउन सक्ने भन्दै अख्तियारले निलम्बनका लागि सिफासि गरको हो । अख्तियारले सशस्त्र प्रहरी महानिरीक्षक वन्त¸ सशस्त्र प्रहरी नायब उपरीक्षक द्वय सुमनजंग थापा र रामकृष्ण महर्जन तथा सशस्त्र प्रहरी निरीक्षक विन बहादुर थापा समेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को खण्ड ९३० बमोजिम आजैका मितिवाट निलम्बन गर्न सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको हकमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार तथा सशस्त्र प्रहरी नायब उपरीक्षक द्वय र सशस्त्र प्रहरी निरीक्षकको हकमा गृह मन्त्रालय, सिंहदरवार र सशस्त्र प्रहरी बल प्रधान कार्यालय, स्वयंम्भु, काठमाण्डौलाई पत्र लेखी पठाइएको छ ।