काठमाडौं/ दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलले ‘एनसेल एप क्याम्प २०१५’ का लागि अन्तिम चरणको प्रतिस्पर्धाका लागि छनोट भएका २४ समूहलाई लक्षित गरी मेन्टरिङ सत्र आयोजना गरेको छ ।
उक्त सत्रमा प्रतिस्पर्धी समूहहरूलाई खेल तथा मनोरञ्जन, पर्यटन, युटिलिटी र स्वास्थ्य विधाका विज्ञहरूबाट बिजनेश मोडेल बनाउन, युजर इन्टरफेस सुधार गर्न र आफ्नो एपको प्रस्तुति गर्ने विषयमा प्रशिक्षण दिएका थिए । एनसेल एप क्याम्प २०१५ को खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधाबाट ६/६ वटा गरी दोस्रो चरणको प्रतिस्पर्धाको लागि २४ वटा समूह छनोटमा परेका थिए ।
प्रतियोगी समूहका प्रतिनिधिहरूले मेन्टरिङ सत्रमा एपलाई दिगो व्यवसायको रूपमा कसरी अगाडि बढाउन सकिन्छ जस्ता विषयमा विज्ञबाट थप सिक्ने अवसर पाएको जनाएका छन् ।