Radha Budhathoki magar
नेपालमा नाकाबन्दीपछिको अहिलेको सबैभन्दा चर्चित विषय हो, विभिन्न क्षेत्रमा भइरहेको भ्रष्टाचारको खुलासा र भ्रष्टाचारीलाई हिरासतमा लिने काम । केही साताअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २९ जना राजनीतिक क्षेत्रका सहित प्रभावशाली मानिएका व्यक्तिहरूलाई भ्रष्टाचारको आशंकामा छानबिन गर्नका लागि पत्र पठाएको थियो, जसले राजनीतिक दलहरूमा नै एक किसिमको तरंग ल्याइदिएको थियो । त्यसपछि वाणिज्य मन्त्रालयका सहसचिव रामआधार साह र आयल निगमको थानकोट डिपो प्रमुख रविन शर्मालाई पनि ठगी काण्डमा प्रहरीले समातेको छ । उनीहरूलाई पनि आयोगले भ्रष्टाचारको अभियोग लगाउने तयारी गरेको छ । त्यस्तै पछिल्लो समय सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तलाई पनि आयोगले भ्रष्टाचार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । वन्तलाई तत्काल निलम्बन गर्न आयोगले गरेको आग्रह मान्दै सरकारले पनि वन्तलाई निलम्बन गरेको थियो । निलम्बनपश्चात् आयोगले वन्तलाई आफ्नो नियन्त्रणमा लिएर छानबिन गर्दा वन्तले भ्रष्टाचार गरेको स्वीकार गरेका छन् ।
यी त भए हालै सञ्चारमाध्यममा आएका चर्चित भ्रष्टाचार काण्डका विवरण । अन्य सानातिना भ्रष्टाचारको काण्ड त अनगिन्ती छन् । यी घटनाहरूले हाम्रा निकायहरू नै कतिसम्म भ्रष्ट छन् भन्ने पुष्टि गरेको छ । साथसाथै यस्ता भ्रष्टाचारमा कुनै एक/दुई व्यक्ति मात्रै संलग्न छैनन्, यस्तो कार्यमा ठूलै संगठित गिरोह लागिपरेको छ । यस्ता संगठित विभिन्न गिरोहले वर्षौंदेखि भ्रष्टाचारको कुकृत्य गर्दै आइरहेका छन् । विश्वासिला र शंका पनि नगरिने निकाय तथा विषयहरूमा पनि भ्रष्टाचार भइरहेको छ र सरकारी निकायकै उच्चपदस्थ अधिकारीहरू यस्तो कार्यमा संलग्न देखिएका छन् । अख्तियारले बेलाबेलामा यस्ता भ्रष्टाचारको घटनालाई बाहिर ल्याउने र केहीलाई कारबाही गर्ने प्रयास गरे पनि यो त्यति प्रभावकारी देखिएको छैन । जसको कारण भ्रष्टाचारीहरूको मनोबल दिन प्रतिदिन बढ्दै गएको छ र यस्तो कार्य गर्न झन् उत्प्ेररित बन्दै गएका छन् । कारबाही गर्ने निकायलाई नै विभिन्न प्रलोभनमा पारेर यस्ता व्यक्तिहरू कारबाहीबाट उम्किरहेका छन् ।
भ्रष्टाचारको यो विषवृक्ष अहिले नेपालको विकासका लागि प्रमुख बाधक भएको छ । हालै जारी भएको मानव विकास सूचकांकमा नेपाल गतवर्षको स्थानबाट अझै तल खस्किएको छ । गरिब मुलुकहरूको सूचीमा दक्षिण एसियाकै पुछारमा रहेको छ । विश्वका विभिन्न देशहरूको तुलनामा हरेक क्षेत्रमा नेपालको अवस्था दयनीय देखिन्छ । यसको कारण भनेको नेपालमा कुनै पनि विकासका कार्य नहुनु र त्यो हुन नदिन भ्रष्टाचार दिन प्रतिदिन बढ्नु हो । त्यसकारण समाजमा बढ्दै गइरहेको भ्रष्टाचारको जालोलाई सफा गर्नु अहिलेको टड्कारो आवश्यकता हो । तर भ्रष्टाचारी कारबाही गर्ने नाममा समात्ने र केही सोधपुछ गरेर उन्मुक्ति दिइरहने सिलसिला जारी रहे एकदिन देश नै भ्रष्टाचारीको कब्जामा पुग्ने निश्चित छ ।
भ्रष्टाचारबाट मुक्ति पाउनका लागि सरकारी तवरबाटै योजनाबद्ध रूपमा लाग्नुपर्छ । त्यसका लागि कडाभन्दा कडा कानुनको व्यवस्था गरेर कुनै पनि हालतमा भ्रष्टाचारी उम्किन नपाउने व्यवस्था गर्नुपर्छ । अख्तियारको अनुसन्धानबाट भ्रष्टाचारी पुष्टि भएकाहरू पनि सजिलैसाग विशेष अदालतबाट धरौटीमा छुटिरहेका हुन्छन् । त्यस्ता पक्षमा पनि सरकारको ध्यान पुग्न जरुरी छ । आयोगले आफ्नै सीमाका कारण उल्लेख्य काम गर्न सकेको छैन । त्यसकारण सरकारले आयोगलाई अझ जिम्मेवारी र सहयोग गर्नुपर्ने देखिएको छ । आयोगले पनि आफ्नो जिम्मेवारीको बोध र प्राप्त अधिकारको सदुपयोग गर्न आवश्यक छ । आफ्नो मान्छे भ्रष्टाचारी भए उसको कुनै पनि कुरा बाहिर नल्याउने, कारबाही नहुने जस्ता नातावाद, कृपावाद प्रवृत्ति हावी नहोस् भन्नका लागि सम्बन्धित सबै चनाखो हुनुपर्छ ।