चन्द्रप्रकाशन वानियाा
मुलुकको अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको छ । आम जिन्दगी झन्भन्दा झन् कष्टकर बन्दै गइरहेको छ । भविष्यमा कुनै दिन मुुलुकको यो विषम परिस्थितिले कोल्टो फेर्ने आशा पनि मरिसकेको छ । खास गरेर मुुलुक हााक्ने जिम्मा लिन अग्रसर हुादै आएको राजनीतिक नेतृत्वको असफलता र दूरदृष्टिविहीनताले मुलुकलाई निराशाबाहेक केही दिनसकेको छैन । राजनीतिक नेतृत्वबाट सम्पूर्णरूपमा आशा भरोसा टुटिसकेको स्थिति छ । जनताको मनमा नेता र राजनीतिप्रति वितृष्णाभाव चुलिादै गएको छ । मुलुकलाई उन्नति, प्रगति र समृद्धिको दिशामा डोर्याउन नेताहरू सफल हुनेछन् भन्ने विश्वास समाप्त भइसकेको छ । विडम्बना कस्तो पनि रहेको छ भने विगत ३/४ दशकदेखि नेपाली राजनीतिको नेतृत्व निरन्तर एउटै पुस्तामा वृत्ताकाररूपमा घुमिरहेको छ । त्यो सिङ्गो पुस्ता सम्पूर्णरूपमा असफल सिद्ध भइसकेको भए पनि त्यसलाई विस्थापित गर्न सक्नेगरी दोस्रो तेस्रो पुस्ता तयार हुनसकेको छैन । जनतामा निराशा बढ्दै जानुको कारण त्यो पनि हो । मनमोहनको सरकारले देखाएको मसिनो आशाको किरण त्यसपछिका दिनमा फेरि दोहोरिन सकेन । जनताले ठूलो आशाको नजरले हेरेको एमाओवादी, प्रचण्ड र बाबुरामहरू पनि असफल भएपछि ‘सबै जोगी कानै चिरेका’ भन्ने वैराग्यभाव समाजमा व्याप्त भएको छ । त्यसयता बनेका सरकारहरू जनताको त्यही निराशा र कुण्ठाका परिणाम मात्रै थिए । जनतालाई मन परे पनि नपरे पनि स्वीकार्नै पर्ने बाध्यता र विवशताका प्रतिफल मात्रै थिए । एमाओवादीयुगको असामयिक अवसानपछि उदाएका सुशील कोइराला र केपी ओलीबाट मुलुकले कुनै चमत्कारको आशा राखेकै थिएन । एमाले, कााग्रेसले प्राप्त गरेको पछिल्लो जनसमर्थन लोडसेडिङको मारबाट दिक्क बनेको विद्युत् उपभोक्ताले वर्षौंदेखि उपयोगिताविहीन ठहर्याएर कतै आध्यारो कुनामा थन्काएको ढेब्री (टुकी) खोजतलाश गरेर आध्यारोबाट मुक्ति पाउन गरेको दयालाग्दो प्रयत्न जस्तै थियो । पुरातन, परम्परागत र आदिम साधनको शरण पर्नु भनेको नयाा चिजले आशातित परिणाम नदिनुबाट उत्पन्न निराशाको अभिव्यक्ति हो । बिजुलीको काम टुकीले गर्छ भन्नु र नयाा शक्तिहरू असफल भइसकेको अवस्थामा पुरानै नेता र पार्टीहरूबाट चामत्कारिक काम हुन्छ भन्नु उस्तै असम्भव जिजिविषा मात्र थियो । त्यो त परम्परा थाम्ने चेष्टा मात्रै हो ।
राजनीति र नेतृत्वबाट नेपालीहरू यति विघ्न आजित र निराश भइसकेका छन् कि कतै आकाशबाट पाक चुङ ही, लि क्वान यु र महाथिर महम्मदहरू टप्किदिए हुन्थ्यो भन्ने असम्भव स्वैरकल्पना गर्न थालेका छन् । हुन त ती महामानवहरू पनि हाम्रोजस्तै पिछडिएको समाजका उत्पादन थिए । तिनीहरू पनि देवदूत थिएनन्, साधारण मान्छे नै थिए । कोरिया, मलेसिया र सिङ्गापुरको समाजले जन्माउन सक्ने नेतृत्व हाम्रो समाजले पनि सक्छ भन्ने कल्पना गर्नु अस्वाभाविक होइन पनि । तर नेपाली मनोभावमा अनौठो विरोधाभास पनि सागसागै दृष्टिगोचर हुन्छ । हाम्रो समाजमा एकातिर मरिचमानप्रवृत्तिको पनि प्रशंसा गरिन्छ र नयाा प्रधानमन्त्री ओलीले त्यही बाटो समातिदिए हुन्थ्यो भन्ने आशा गरिन्छ । उनको पीठ थपथपाइन्छ, हौसला दिइन्छ । अर्कोतिर लि क्वान युलेझौ देशलाई नयाा ढङ्गबाट दू्रत गतिमा आर्थिक विकासको दिशामा डोर्याइदिए हुन्थ्यो भन्ने अपेक्षा पनि गरिन्छ । वास्तवमा मरिचमानप्रवृत्ति र लि क्वान यु प्रवृत्ति बिल्कुल दुई भिन्न धु्रव हुन् । नेपाली चिन्तन र बुझाइले सायद ती दुई भिन्न प्रवृत्तिबीचका अन्तरहरू खुट्याउने ल्याकत आर्जन गरिसकेको रहेनछ ।
ली क्वान यु त्यस्ता नेता थिए, जसले निजी स्वार्थ, मान, अपमान, आलोचना, प्रशंसा र समर्थनको अपेक्षाभन्दा माथि उठेर मुलुकलाई समृद्धिको दिशातिर डोर्याउन एकोहोरिएर लागे । गाली, अपमान र घृणालाई महादेवले हलाहल पिएझौ पिइदिए । मुलुकको हितचिन्तनका अगाडि ती सबै कुरा उनका लागि गौण बने । आफूले निश्चित गरेको मार्ग अवलम्बन गर्दा मुलुकलाई निश्चित अवधिमा निश्चित गन्तव्यमा पुर्याउन सकिन्छ भन्ने आत्मविश्वास लिएर बाटोमा देखिने राम्रो नराम्रो, नकारात्मक सकारात्मक सबैखालका अवरोधहरूलाई निर्ममतापूर्वक कुल्चेर अघि बढे । जनताको सुख, समृद्धि र मुलुकको उन्नति प्रगतिको लक्ष्य प्राप्तिका लागि तानाशाह, क्रूर, हिंस्रक, अनुदार, निर्मम, दमनकारी, अप्रजातान्त्रिक र निरङ्कुश जस्ता गालीका वर्षालाई सहर्ष आत्मसात् गरे र सम्मानपूर्वक टाउको थापेर स्वीकार गरे । दुनियााले गरेको आलोचना र गालीगलौजप्रति निस्पृहभाव राखेर, अपमानको तीतो घुड्को पिएर पनि आफ्नो लक्षबाट कदापि विचलित भएनन् । लक्षविमुख भएनन् । जब उनको दृष्टिकोण र अभियानले लक्ष्य चुम्यो लि क्वान यु महानताका प्रतीक बने । हिजोसम्म गाली गर्ने संसारले प्रशंसा गर्न थाल्यो, प्रशस्ती गाउन थाल्यो ।
आफूले अपमान सहेर र गाली खाएरै पनि मुलुकको हितसाधनमा दत्तचित्त रहने चौडा छाती र दृढ विचारको प्रतीक हो– ‘लि क्वान यु प्रवृत्ति’ । जहाासम्म मरिचमान प्रवृत्तिको कुरो त्यो बिल्कुल उल्टो पाटो हो । मुलुकको भविष्यको चिन्ता सुर्ता नगर्ने, जनताको दु:ख कष्टको वास्ता नगर्ने तर कसैका अघि नझुक्ने दम्भ देखाएर नितान्त निजी व्यक्तित्वको चिन्ता लिने प्रवृत्ति मरिचमान प्रवृत्ति हो । मरिचमानले प्रदर्शन गरेको अडानले न मुलुकको हित गर्यो, न जनतालाई सुख शान्ति दियो । एकवर्षे अडानले मुलुकको अर्थतन्त्रलाई आउादा दश वर्षसम्म थला पार्यो । उन्नतिप्रगतिको मार्ग अवरुद्ध गर्यो । मुलुकको अर्थतन्त्र दशकौं वर्षपछि धकेलियो । मरिचमान एक जनाको विशिष्ट व्यक्तित्व निर्माणका निमित्त मुलुकले ठूलो मूल्य चुकायो । जनताले दु:ख कष्ट उठाउनुको परिणाम के मिल्यो त ? कसैका अगाडि कहिल्यै नझुक्ने प्रवृत्तिको ‘फोस्रो दम्भ’ ! ‘भित्र छैन खाने पिठो, बाहिर रातो रुमाल’ भनेजस्तो भयो ।
यहीनेर बिर्सन नमिल्ने कुरा के पनि हो भने न त कीर्तिनिधि विष्टले नेपालका उत्तरी नाकाबाट भारतीय चेकपोष्टहरू आफ्ना बुलबुता र बुद्धिले हटाएका थिए, न मरिचमानले नितान्त निजी निर्णयका आधारमा भारतीय नाकाबन्दीको विरुद्ध अडान लिने साहस देखाएका थिए । ती दुवै दरबारका इमानदार प्यादा मात्र थिए । राजाको प्रत्यक्ष र सक्रिय शासन रहेको बेलाका घटना हुन् ती दुवै । ती दुवै घटनामा प्रत्यक्ष रूपमा दरबारको हात थियो । दरबार संलग्न थियो । दरबारको आदेशमा भएका घटना थिए ती । मरिचमान र कीर्तिनिधिहरू व्यर्थैमा “तीसमार खाा” बनाइएका हुन् । मदारीको इशारामा नाच्ने भालुको जत्तिको हैसियत पनि थिएन उनीहरूको !
यतिबेला फेरि अर्को एक पटक मुलुक संकटमा छ । नेपाली जनता र नेतृत्व दुवैको मानसिकता त्योभन्दा एक इञ्च माथि उठ्न सकेको रहेनछ । अर्थात् तीन दशक अगाडिकै अवस्थामा यथावत् रहेछ । नेपाली जनताले वर्तमान सरकारलाई मरिचमानपथमा हिाड्नका लागि उक्साइरहेको छ । नेतृत्व अर्थात् मुलुकको कार्यकारी अधिकारसम्पन्न प्रधानमन्त्री ओली पनि दोस्रो मरिचमान बन्न लालायित देखिन्छन् । ओलीको अडानको जयजयकार हुनुको अर्थ मुलुक रसातलमा भासिनु हो भने त्यस्तो अडानको के अर्थ ? नक्कली नै भए पनि ओलीको राष्ट्रवादी व्यक्तित्वको गरिमा प्रतिष्ठा चुलिएला, तर मुलुकले त अकल्पनीय दु:ख पाउने भयो । अर्थतन्त्र धराशायी हुने भयो । विकास निर्माण तीन दशकपछि धकेलिने भयो । अर्को वर्षदेखि त कर्मचारीलाई तलबभत्ता खुवाउन नसक्ने गरी मुलुक टाट पल्टने भयो । उद्योगधन्दाहरू चौपट हुने भए । यति बेला भएको खतिक्षतिको क्षतिपूर्ति हुन दशकौं कुर्नुपर्ने भयो । जनताले यतिबेला दु:ख पाएका मात्र होइनन् वर्षौं पछिसम्म यसको दुष्प्रभावबाट मुक्त हुन गाह्रो पर्ने भयो । एक जना ओलीको कथित राष्ट्रवादी व्यक्तित्व निर्माणका निमित्त सिङ्गो मुलुकले यति ठूलो नोक्सानी व्यहोनुपर्ने भयो । मुलुक र जनताप्रति असंवेदनशील नेतृत्वको हातमा मुलुकको बागडोर पर्नु कति हानीकारक र नोक्सानदायी हुादो रहेछ भन्ने कुराको गतिलो उदाहरण प्रधानमन्त्री ओली बनेका छन भन्ने कुरा बुझ्न पनि नेपाली समाजलाई अझै निकै लामो समय लाग्ने अवस्था रहनु निश्चय नै दु:खको कुरा हो ।