काठमाडौं/ मूर्तिकार नवीन सुवेदीले नेपाली कला क्षेत्रमा प्रसिद्ध कलाकारहरूको मूर्ति निर्माण गरी प्रदर्शनी गरिरहेका छन् । उक्त प्रदर्शनी काठमाडौंको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलको भवनभित्र जारी रहेको छ ।
जनवरी २३ देखि सुरु भएको यो प्रदर्शनी फेब्रुअरी १ सम्म चल्नेछ । यी मूर्तिहरूमा नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रका चर्चित हस्ती छन् । गायक रामकृष्ण ढकाल, गीतकार डाक्टर कृष्णहरि बराल, गायक तथा नायक बाबु बोगटी र नायिका ऋचा शर्माका मूर्ति उक्त प्रदर्शनीमा सजिएका छन् ।
यी मूर्ति बनाउनका लागि नवीनलाई महिनौं लागेको छ । बाबु बोगटी र ऋचा शर्मालाई नवीनले एउटै फ्रेममा अटाएका छन् । यसका लागि आफूलाई ४ महिना लागेको उनले बताए । यस्तै, गायक रामकृष्ण ढकालको पूर्ण कदको मूर्ति तयार गर्न उनलाई २ महिना लाग्यो । गायक रामकृष्ण ढकाल मूर्ति तयार गर्दा करिब ८ दिन नवीनकै अगाडि बसेका थिए । नवीन भन्छन्, ‘हुन त, तस्बिरबाट पनि बनाउन सकिन्छ । तर, मानिस नै अगाडि बस्दा अझ वास्तविक बन्छ ।’ उनले यी कलाकारलाई समेट्नुको कारण पनि छ । उनले भने, ‘जो–जो मेरो सम्पर्कमा आउनुभयो, उहााहरूको नै बनाएको हुा ।’
ऋचा शर्मा र बाबु बोगटीका लागि उनले ५ लाख माथिको रकम खर्च गरेका छन् । रामकृष्ण ढकालका लािग भने त्योभन्दा केही कम रकम खर्च भएको छ । प्रदर्शनीमा राखिएका यी मूर्तिहरू मन पराउने जोकोहीले पनि किन्न सक्नेछन् । रामकृष्ण ढकालको मूर्तिलाई ४ लाख ५० हजार, बाबु बोगटी र ऋचा शर्माको मुर्तीका लागि ७ लाख ५० हजार तोकिएको छ ।
‘मोहिनी’ नाम दिएर नवीनले यो प्रदर्शनी आयोजना गरेका हुन् । नेपाली कलाकारलाई नवीनले दिएको यो उच्च सम्मानलाई कलाकारले पनि प्रशंसा गरेका छन् ।