काठमाडौ÷राष्ट्रिय स्वाधीनता तथा समसामयिक विषयको उठान गर्दै आएको मासिक पत्रिका स्वाभिमान नेपालको समिक्षा तथा विमोचन कार्यक्रम विशेष कार्यक्रमकाबीच सम्पन्न भएको छ । पत्रिकाको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले एक कार्यक्रमका बीच विमोचन गर्नुभएको हो । पत्रिकाको विमोचन गर्दै मन्त्री राईले मुलुक संकटमा परेकाबेला मुलुकको स्वाधीनता र स्वाभिमानलाई उच्च राख्ने गरी पत्रिकाको प्रकाशित हुन गौरवको विषय भएको भन्दै पत्रिकाले राष्ट्रियताका विषयहरुको निरन्तर उठान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले अहिलेको सरकार राष्ट्रियता कमजोर भएको अवस्थामा निर्माण भएको भन्दै मुलुकको सार्वभौमितालाई कमजोर हुने कुनै पनि गतिविधिप्रति सरकार सचेत रहेको जनाउनुभयो । उहाँले हालै हुन लागेको प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला मुलुकलाई असर पर्ने किसिमका कुनै पनि सम्झौता नहुनेमा पनि विश्वास दिलाउनु भयो ।
त्यस्तै स्वाभिमान नेपालको समिक्षा कार्यक्रममा पत्रिकाको समिक्षा गर्दै वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रिकाले उठाएका विषय समसामयिक भएपनि अझै गहिराईमा गएर विषयवस्तुहरुको उठान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले मुलुक समस्यामा परेका बेला सञ्चारमाध्यम र पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै यस्ता विषयमा स्वाभिमान नेपालले खेलेको भूमिका सराहनिय रहेको जनाउनु भयो ।
पत्रिकाको समिक्षा गर्दै डा. भिमार्जुन आचार्यले अहिलेको संविधानमा गम्भीर त्रुटी रहेको र विशेष गरी छिमेकी मुलुकलाई रिझाउने किसिमको संविधान भएकाले उक्त संविधान लागु गराउनकै लागि भारतले नेपालमा नाकाबन्दी लगाएको आरोप लगाउनुभयो । डा. आचार्यले स्वाभिमान नेपालले आत्मनिर्भरता र राष्ट्रियताका सन्दर्भमा पत्रिकाले महत्वपूर्ण विषयहरुको उठान गरेको भन्दै यसले आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
राजनीतिक विश्लेषक भरत दाहालले लिपुलेक जस्तो सम्वेदनशिल विषयमा सरकारले कुनै प्रतिक्रिया नजनाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले नेपालको भूमिमा छिमेकी मुलुकहरुलके सम्झौता गर्दा समेत सरकार चुप लाग्नु र केही बोद्धिक भनिनेहरु लिपुलेक भन्दा ५३ किलोमिटर परको लिम्पियाधुरासम्मको नेपाली भूमिको व्यवस्ता गर्दै भारतको दाबीलाई नै आधिकारीक हो भन्दै प्रचारमा लागेको आरोप लगाउनुभयो । उहाँले पत्रिकाले लिपुलेक जस्तो विषयमा महत्वपूर्ण लेख लेखेर सर्वसाधारणहरुलाई सत्य तथ्य जानकारी प्रदान गरेको भन्दै पत्रिकाप्रति आभार व्यक्त गर्नुभयो । पत्रिकाको समिक्षा गर्दै संविधानविद
स्वाभिमान नेपालको समिक्षा गर्दै व्यवसायी तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले पत्रिकाले मुलुकको सुरक्षाको जिम्मा पाएको नेपाली सेनाको भूमिका, सफल व्यवसायीका प्रेरणादायी कथा तथा अन्य समसामयीक विषयमा पत्रिकाले महत्वपूर्ण सामग्री प्रस्तुत गरेको भन्दै यसले आम मानिसहरुमा आशा जगाएको जनाउनु भयो । पत्रिकाले हरेक क्षेत्रमा निराशा मात्र होइन सम्भावना र आशाका किरणहरु जगाएको उहाँको भनाई थियो ।
स्वाभिमानी प्रकाशन प्रालिद्वारा आयोजना गरिएको उक्त कार्यक्रम प्रालिका प्रवन्ध निर्देशक राज्यलक्ष्मी शाक्यको सभापतित्व तथा पत्रिकाका प्रधान सम्पादक निमकान्त पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रिकाको पाचाँै अंकको विमोचन गरिएको थियो भने चार वटा अंकको समिक्षा गरिएको थियो ।