काठमाडौं/ युवा स्टार अनमोल केसी अभिनित चलचित्र ‘ड्रिम्स’ले प्रदर्शनपश्चात् आक्रामक रूपमा कारोबार गरेको वितरकले जनाएका छन् । यस चलचित्रले हालसम्म दुई करोडभन्दा माथि नै ग्रस कलेक्शन गर्न सफल भएको वितरण गोविन्द शाही जनाए ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ड्रिम्स’को व्यापार २ दिनमै १ करोड ७० लाख पुगेको थियो । चलचित्रले शुक्रबार र शनिबार आक्रामक व्यापार गर्दै १ करोड ७० लाखको कारोबार गरेको हो । अहिलेका स्टारडम भएका एक मात्र नायकका रूपमा चिनिने अनमोल केसीको १६ महिनापछि अभिनित चलचित्र रिलिज भएका कारण पनि दर्शकहरूको रोजाइमा ‘ड्रिम्स’ पर्न सफल भएको विश्लेषण गरिएको छ । त्यस्तै सदाबहार नायक भुवन केसीले पहिलो पटक निर्देशन गरेको चलचित्र भएका कारण पनि यो चलचित्र भुवनका फ्यानहरूका लागि पनि प्रतीक्षित बनेको थियो । यस चलचित्रले मल्टिप्लेक्स तथा सिंगल दुवै थिएटरमा आक्रामक व्यापार गरेको छ ।
चलचित्रको संवाद तथा नवनायिका साम्राज्ञीको अभिनयले पनि प्रशंसा बटुलेको छ । पटकथा तथा संवाद लेखेका सामिप्यराज तिमिल्सिनाको उत्कृष्ट संवाद तथा छायांकनमा पनि विशिष्टताका कारण चलचित्र हेर्ने दर्शकले यस चलचित्रलाई राम्रो फिल्मको रूपमा लिएका छन् ।