हुकुमबहादुर सिंह
यही २०७२ साल फागुन २५ गते तद्नुरूप ८ मार्च २०१६ का दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइदै छ । महिलाहरूको मुक्तिका लागि लड्ने क्रममा सहादत प्राप्त श्रमिक महिलाहरूको सम्झना गर्दै यो दिवस मनाउने निर्णय १९१० मा कोपेनहेगनको बैठकमा क्लाराजेटकिनले प्रस्ताव गरेपछि भएको हो । त्यसबेला उक्त बैठकमा १७ देशका जम्मा १०० महिलाहरूको सहभागिता थियो । त्यसैले विश्वमा क्लाराजेटकिन नै पहिलो त्यस्ती महिला भएकी छन् जसले पुरुष बाहुल्य समाजमा महिलाहरूको अधिकार रक्षाका लागि लडिन र त्यसमा केही हदको सफलता पनि हासिल गरिन् । जसले गर्दा आज क्रान्तिकारी हुन वा बुर्जुवा राजनीतिक पार्टी वा व्यक्ति हुन्, सबैले कुनै न कुनै रूपमा यो दिवस मनाउने गर्दछन् । बुर्जुवाहरूले यसलाई नारी दिवस भन्छन्, संशोधनवादीहरूले महिला दिवस भन्छन् तथा क्रान्तिकारीहरूले यसलाई गर्वका साथ श्रमिक महिला दिवस भन्ने गर्दछन् । वास्तवमा क्यालिफोर्नियामा महिला मजदुरहरूले अठार घण्टा परिश्रम गर्नु पर्दथ्यो । त्यसप्रकारको उत्पीडनका विरुद्ध संघर्ष गर्ने क्रममा त्यहॉ पु‘जीपतिहरूद्वारा कैयौ महिला मजदुरहरूको ठूलो बलिदान भएको थियो । त्यसैको स्मरणमा ८ मार्च मनाइने गरिएको हो । १९७५ देखि संयुक्त राष्ट्रसंघले पनि ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय गरेको थियो, त्यसअनुसार अहिले विश्वभरका महिलाहरूले एउटा अधिकारका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसलाई मनाउने गर्न थालेका छन् र सबै देशमा (केही मुस्लिम देशमा धार्मिक कट्टरतावादीका कारणबाहेक) यसलाई एउटा पर्वका रूपमा मनाउन थालिएको छ । ।
यो वर्षको महिला दिवस नेपाली महिलाका लागि थप उत्साजनक भएर आएको छ किनभने प्रथम नेपालका महिलाहरूले देशमा गणतन्त्रको स्थापनाद्वारा तुलनात्मक रूपले केही अधिकार प्राप्त गरेका छन् र दोस्रो यही फागुन ३० देखि चैत्र ५ (मार्च १३ देखि १८)सम्म नेपालको काठमाडौंमा दोस्रो महिला सम्मेलन हुन गइरहेको छ । प्रथम विश्व महिला सम्मेलन २०११ मा दक्षिण अमेरिकाको भेनेजुयलाको काराकशमा सम्पन्न भएको थियो जसमा ४३ देशका ३ हजार ५ सय महिला प्रतिनिधिहिरूले भाग लिएका थिए । अहिले यहॉ हुन लागेको दोस्रो महिला सम्मेलनमा विश्वका सबै महादेशका महिला प्रतिनिधिहरूले भाग लिंदै छन् । यो सम्मेलनले ‘विश्वकामहिलाहरू सर्वोच्चशिखर चुम्दै छन्’ भन्ने नारा दिएको छ ।
हामी सबैलाई थाहा छ नेपालका महिलाहरू लामो समयदेखि सामन्ती र मध्ययुगिन व्यवस्थाले उत्पीडित बन्दै आएका छन् । अहिले नेपालमा नेपालको संविधान २०७२ को घोषणा भएको छ र देशमा केही पु‘जीवादी अधिकारहरू प्राप्त भएका छन् । देशले सामन्ती व्यवस्थाबाट पु‘जीवादी व्यवस्थामा पाइला टेकेको छ । तर महिलाका लागि यी दुवै सामन्ती र पु‘जीवादी व्यवस्था उनीहरूमाथि गरिने हरेक शोषणका आधार हुन् । वर्तमानमा सबैभन्दा जटिल बन्दै गएको साम्राज्यवादी भुमण्डलीकरणमा महिलाहरू झनझन कठिन जीवन जिउन बाध्य पारिएका छन् । त्यसैले विश्व साम्राज्यवाद जो सही मानेमा मानव जातिको शान्ति, स्वतन्त्रता र समृद्धिको सबैभन्दा ठूलो दुश्मन भएर खडा भएको छ, यसका विरुद्धको लडाइा पनि अन्तर्राष्ट्रिय रूपमा संगठित भएर गर्नु आवश्यक छ । महिला आन्दोलन चाहे त्यो देशभित्रको होस् वा देश बाहिर, सधैं न्याय र समानताको सिद्धान्तमाथि आधारित छ, त्यसैले यसको विजय निश्चित छ । विश्व साम्राज्यवाद सधैं अन्याय र असमानताको सिद्धान्तमाथि आधारित छ, उसको पराजय निश्चित छ । इतिहासले सिद्ध गर्दैआएको तथ्य के हो भने फासिष्टहरू र धार्मिक कट्टरवादीहरू महिला अधिकार र मुक्तिका एक नम्वरका शत्रुहरू हुन् । अहिले पनि विश्वमा देखिएको फासिष्ट आइएसका विरुद्ध कुर्दीस महिलाहरूले कति ठूला वीरतापूर्ण संघर्ष गरिहेका छन् । त्यसैगरी हाम्रै छिमेकी देश बंगलादेशका कपडा मजदुरहरूले कामका लागि र उच्च वेतनका लागि संघर्ष गरिरहेका छन् भने नेपालभित्रै पनि नेपालका महिलाहरूले महिलाविरुद्ध गरिने अन्याय तथा अत्याचारका विरुद्ध संघर्ष गर्दैआएका छन् । यसरी कुर्दीस महिलाहरूले फासिष्ट आइएसका विरुद्ध गरिरहेका मुक्ति संघर्ष र विश्वभरका अन्य महिलाहरूले गर्दै आएका न्याय तथा समानताका लागिका संघर्षहरूले एक दिन विश्वमहिला नेतृ क्लाराजेटकिनको सपना साकार बनाउने छन् ।
हुन त महिलामुक्ति आन्दोलनका कुरा गर्दा सन् १७८९को फ्रेन्च क्रान्तिले तयार पारेको महिला अधिकार धोषणापत्र, जसमा भनिएको थियो– ‘प्रकृतिद्वारा नै महिला स्वतन्त्र छन् र सबै अधिकारहरूमा पुरुष बराबर छन्’लाई नै पहिलो महत्वपूर्ण घोषणापत्र मानिन्छ । आजभन्दा करिब २ सय २६ वर्ष पहिले घोषणा गरिएको उक्त महिला मुक्तिसम्बन्धी पहिलो घोषणा अहिलेसम्म पनि कार्यन्वयन हुन नसक्नु दु:खद पक्ष हो र यसका लागि प्रमुख बाधक बन्दै आएको सामन्तवाद र पु‘जीवादी व्यवस्था नै हो । त्यसैले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहादा र महिला मुक्तिको कुरा गरिहादा वर्गीय र राष्ट्रिय मुक्ति आन्दोलनहरूको महत्व कति छ भन्ने स्पष्ट हुन्छ । साथै यो पनि त्यत्तिकै सत्य हो कि महिला मुक्ति पनि वर्गीय र राष्ट्रिय मुक्ति आन्दोलनसित प्रत्यक्ष जोडिएको छ र वर्गीय र राष्ट्रिय मुक्ति आन्दोलनको सफलता बेगर महिला मुक्ति आन्दोलनको सफलता असम्भव छ त्यसैगरी महिला मुक्ति आन्दोलनको सफलता नभई वर्गीय र राष्ट्रिय मुक्ति आन्दोलनको सफलता पनि असम्भव छ । यी दुवै निजी स्वामित्वमा आधारित व्यवस्थासित जोडिएका छन् । कार्ल माक्र्स र फ्रेडरिक ऐंगेल्सले आजभन्दा करिब १ सय ६८ वर्ष पहिले नै निजी स्वामित्वमा आधारित व्यवस्था नै मानवद्वारा मानवको शोषणको जग हो भनेका थिए । यही मानवद्वारा मानवको शोषणको कारण समाज पनि क्रमश: परस्पर विरोधी वर्गहरूमा विभाजन हुन्छन् । यिनै परस्पर विरोधी वर्गहरूमध्ये कुनै एउटा निश्चित वर्गको संरक्षणका निम्ति राज्यको उत्पत्ति हुन्छ र वर्तमान राज्यसत्ता नै महिला मुक्ति आन्दोलनको सफलताको प्रमुख बाधक हो । यसले के स्पष्ट पार्दछ भने महिला मुक्ति राज्यसत्ताको निर्माण र पुनर्निर्माणसित पनि जोडिएको छ । र यो सिधै उत्पीडित महिलाको मुक्तिसित जोडिएको छ । जुन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको आन्दोलनको उच्चतम लक्ष्य तथा उद्देश्य हो । नेपालका उत्पीडित महिलाहरूको पनि अहम् सवाल हो ।