काठमाडौ/प्रजातन्त्र पुन:स्थापना पछिका प्रधानमन्त्रीहरूको तुलनामा केही अडिग देखिने प्रधानमन्त्री केपी शर्माओलीलाई आफ्नो इच्छा अनुसार चलाउन नसकेपछि भारतले अन्तत: सत्ता परिवर्तनको खेल खेल्न सुरु गरेको छ । नेपालको नयाा संविधानमा आफ्नो चासो सम्बोधन नभएको भन्दै नाकाबन्दी र मधेश आन्दोलनलाई भड्काएको भारतले ओलीलाई विशेष आतिथ्यता दिएर आफ्नो चासो सम्बोधन गराउने कोशिस गरेपनि त्यो सफल हुन नसकेपछि सरकार गिराउने खेलमा लागेको विश्वस्त सुत्रले जानकारी गराएको छ । ओलीको भारत भ्रमणबाट कुनै ठूलो उपलब्धी हासिल गर्न नसकेपछि रुष्ट बनेको भारतले ओलीले चीन भ्रमणका बेला भारततर्फको निर्भरतालाई अन्त्य गर्दै स्वतन्त्र व्यापार तथा पारवहन सन्धि तथा इन्धन सम्झौताका लागि समेत सहमति गरेपछि भारत ओलीप्रति असहिष्णु बनेको हो ।
भारतले ओली सरकारलाई ढाल्नका लागि तराई मधेशमा संघीय सिमांकनको विषयलाई महत्व दिएर मधेशी आन्दोलन पुन चर्काउने तयारीमा लागेको स्रोतको दाबी छ । यसका लागि भारतले पुन: मधेशमा आन्दोलन चर्काउने देखि सिमांकनका विषयमा बढी लचक हुने प्रमुख पार्टीको नेतृत्वलाई प्रधानमन्त्रीको लोभ देखाइरहेको पनि स्रोतले दाबी गरेको छ । ओलीले भारत भ्रमण गरे लगत्तै गरेको चीन भ्रमणलाई महत्वका साथ हेरिरहेको भारतले अन्तत: ओलीबाट भारतको प्रतिकुल हुनेगरी सम्झौता गरेको निष्कर्ष निकालेको छ । नेपालको हितमा कुनै काम गर्न खोज्नुलाई भारतले आफ्नो विरोध ठान्दै आएको छ । प्रधानमन्त्री ओली यस पटक भारतको त्यही विश्लेषणको सिकार बन्दैछन् ।