काठमाडौं/ एक्स ब्यान्डका फ्यानहरूले दरबारमार्गमा आफ्ना मन पराएको ब्यान्डबट लाइभ म्युजिक सुन्न पाउने भएका छन् । यसको आयोजना भने फेम नेपालले गर्न लागेको हो । फेम नेपालले अघिल्लो महिनादेखि सुरु गरेको ‘लाइभ म्यूजिक एरा २०१६’को दोस्रो श्रृंखलामा ‘एक्स ब्याण्ड’ प्रस्तुत हुने भएको छ । दरबारमार्गस्थित ‘भिक्ट्री लन्ज’मा उनीहरूले आउादो शनिबार आफ्ना चर्चित गीत सुनाउनेछन् ।
सन् १९९३ देखि निरन्तर गायन यात्रामा संलग्न ‘एक्स ब्यान्ड’ले कार्यक्रममा दर्जनभन्दा बढी गीत सुनाउने आयोजकले जनाएको छ । शिव मुखिया, सुरेन श्रेष्ठ र सजल राजभण्डारी सम्मिलित ब्यान्डका ‘लुक्न देऊ’, ‘चिया बारीमा’, ‘तिम्रो नजरल’, ‘दिन मात्र होइन तिमीलाई’, ‘कर्के हेराइले’ जस्ता गीत चर्चित छन् । बेलुकी ९ बजेबाट सुरु हुने कार्यक्रमलाई मोडल आयुष्मा सिंहले सञ्चालन गर्ने छिन् भने ‘डिजे रेडमस’ र ‘डिजे बिपीएम’ले डिजेइङ गर्नेछन् । बेलुकी ९ बजेबाट सुरु भएको कार्यक्रम रातको ३ बजेसम्म चल्ने आयोजक फेम नेपालले जनाएको छ ।
फेम नेपालले अघिल्लो श्रृंखलामा भारतीय मूलका नेपाली गायक विपुल क्षेत्रीलाई प्रस्तुत गरेको थियो । पहिलो श्रृंखलाबाटै सफलताको स्वाद चाखेको फेम नेपालले वर्षभरि नै चर्चित गायक तथा ब्यान्डलाई लाइभ म्यूजिकमा प्रस्तुत गर्ने जनाएको छ । अर्को श्रृंखलामा सुगम पोखरेललाई प्रस्तुत गर्ने तयारी भइरहेको आयोजक साइमन राईले जनाएका छन् ।