माओवादी आन्दोलनको एकता अनिवार्य आवश्यकता

153

हुकुमबहादुर सिंह

 

नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको पूर्ण बैठक यही चैत १२ गतेबाट पार्टीकै नेवा: राज्य समितिको कार्यालय कुपन्डोल ललितपुरमा सुरु भएको छ । यो पटकको यस बैठकमा केवल एउटा मात्रै एजेण्डा छ, त्यो भनेको माओवाद र माओविचारधारा मान्ने नेपालका सबै क्रान्तिकारी मूलत: एमाओवादीसितको एकता हो । त्यसैले यो बैठकले विगतमा भन्दा ज्यादा पार्टीका मित्रहरू र दुश्मनहरूको ध्यान केन्द्रित गरेको छ । खासगरी एमाओवादीभित्रका क्रान्तिप्रति चिन्तित क्रान्तिकारीहरूले अहिले यो बैठकले एकताबारे के निर्णय गर्दछ ज्यादै चासोका साथ पर्खेर बसेका छन् । त्यसैले यो एउटा ऐतिहासिक बैठक हुनेछ । यो बैठकबाट निस्कने दुईवटा सम्भावनाहरू छन्, प्रथम यो बैठकले नेपालका क्रान्तिकारीहरू मूलत: माओवादीहरूबीचको एकताको प्रक्रियालाई एउटा ठोस आकार दिनेछ । किनभने देशभक्तहरू, क्रान्तिकारीहरू, कम्युनिष्टहरू एकता चाहन्छन् । जनताको चाहना पनि माओवादीहरूको एकता होस् । दुश्मनको चाहना फुट र विभाजन हो । यो निश्चित हो कि यस्तो एकता कायम गर्न पहिले स्वयम् नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको आन्तरिक एकता अभिवृद्धि गर्न सक्नुपर्छ । पहिले स्वयम् नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको आन्तरिक एकता अभिवृद्धि गरेर मात्रै अन्य सबै क्रान्तिकारीहरूलाई एकताबद्ध गर्न सम्भव छ ।

 

बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट पार्टी अध्यक्ष क. किरणले एकतासम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो, जसमाथि विभिन्न सुझावहरू लिखित र मौखिक रूपले पेस गरिएका छन् । यो प्रक्रियाले अझै एक/दुई दिन लिने सम्भावना बलियो छ । पार्टीका अर्का नेता क. बादलले लिखित रूपमा पूरक प्रस्ताव तथा सुझावका रूपमा अर्को प्रस्ताव पेस गर्नुभएको छ । साथै अन्य कमरेडहरूले केहीले लिखित र अरुहरूले मौखिक रूपले आआफ्ना सुझावहरू दिनेक्रम यथावत् छ ।

 

‘पार्टी एकताका सैद्धान्तिक, राजनीतिक तथा साङ्गठनिक आधार’ भन्ने शीर्षकमा पार्टी अध्यक्ष किरणको मूल प्रतिवेदन बहसको मूल प्रतिवेदन हो र यसमाथि विभिन्न सुझाव दिइएका छन् । मूलत: ६ वटा उपशीर्षकमा बााडिएर लेखिएको यो प्रतिवेदनमा विषयप्रवेश, वर्तमान राज्यसत्ताको स्वरूपको प्रश्न, वर्तमान संविधानको प्रश्न, जनवादी तथा समाजवादी क्रान्तिको प्रश्न, कार्यदिशा, रणनीति र कार्यनीति, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबारे र अन्तिम कुरा आदि छन् । साथै आकस्मिक बैठकको आवश्यकता र औचित्य, एकताका लागि आधारसम्बन्धी प्रस्तावबारे, पार्टीको आगामी कार्यभारबारे आदि छन् । क. किरणले यो आकस्मिक बैठकको आवश्यकता र औचित्यबारे स्पष्टसित निम्न कुराहरू भन्नुभएको छ, ‘केन्द्रीय समितिको यो आकस्मिक बैठक मुख्यत: पहिलो, पार्टी एकताका सैद्धान्तिक, राजनीतिक एवम् साङ्गठनिक आधारबारे गम्भीर छलफल गरी तथा समान समझदारी बनाई सही निष्कर्षमा पुग्न पुन: आवश्यक देखिएको, द्वितीय, पार्टी एकताबारे देशव्यापी रूपमा विभिन्न भ्रम फैलिएको तथा ती कुराबारे स्पष्ट हुन जरुरी भएको र तृतीय, पार्टी पङ्क्तिभित्रैबाट पनि परस्पर विरोधाभाषपूर्ण अभिव्यक्ति सार्वजनिक हुन गएको एवम् ती विषयबारे पनि समान समझदारी कायम गरी पार्टीलाई एकताबद्ध तुल्याउन अनिवार्य हुन गएकाले आह्वान गरिएको हो । तसर्थ, यो बैठकमा यसै मूल कार्यसूचीमा संकेन्द्रित भई सही निर्णयमा पुग्न जरुरी छ ।’

 

यसरी यो बैठक नेपाली सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदायको मुक्तिका लागि साम्राज्यवादी, विस्तारवाद, दलाल तथा नोकरशाही पुाजीवाद, सामन्तवाद तथा दक्षिणपन्थी संशोधनवादद्वारा खडा गरिएका चुनौतीहरूका विरुद्ध एकताबद्ध माओवादी आन्दोलनको आवश्यकता छ र यसैलाई मूर्तीकरण गर्न यो बैठक सानदार रूपले सफल हुनेछ भन्नेमा आम केन्द्रीय सदस्यहरू कटिबद्ध देखिएका छन् । सबै केन्द्रीय सदस्यहरूको एउटै मत छ, माओवादी आन्दोलनको एकता अनिवार्य आवश्यकता भन्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here