नेकपा क्रान्तिकारी माओवादी विभाजनको संघारमा

159

हुकुमबहादुर सिंह

 
गत चैत १२ गतेबाट सुरु भई २१ गतेसम्म चलेर दुई दिनका लागि यही २५ गतेसम्मका लागि स्थगित भएको नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको विशेष पूर्ण बैठक फेरि एक महिनाका लागि स्थगित गरिएको छ । यसका पछाडि दुईवटा उद्देश्य बताइएको छ: प्रथम यसको विभाजनलाई रोक्ने प्रयासका लागि केही दिन आवश्यक भएको र दोस्रो यसको विभाजन चाहने केही सिद्धान्तभन्दा एकतालाई महत्व दिनेहरूको गैरराजनीतिक गठबन्धनप्रतिको मोह र व्यक्तिगत लोभलालचप्रतिको आकर्षणलाई कमजोर पारी सिद्धान्त, विचार र कार्यदिशाका आधारमा एकताको महत्वलाई उचाइमा उठाएर एकता प्रक्रियालाई अगाडि बढाउने संस्थापन पक्षको उद्देश्यलाई कार्यान्वयन गर्नका लागि यो स्थगन सहयोगी हुने अपेक्षा पनि छ । तर के स्पष्ट छ भने केन्द्रीय समितिको बैठक स्थगित गरेर चुपचाप आउने दिनलाई पर्खेर बस्नु संकटको उपयुक्त निकास होइन । नेतृत्वले यो स्थगित समयलाई अधिकतम रूपले अन्तक्र्रिया तथा बहस र छलफललाई घनिभूत बनाउादै विभिन्न विकल्पहरूको पहिचानद्वारा एउटा दीर्घकालीन निकास आवश्यक छ ।
माओवादीहरूबीचको एकता मूलत: एमाओवादीसितको एकताबारे जुन एक सूत्रीय एजेण्डा थियो, त्यसको सही निकासबारे बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले स्पष्टसित भनिसकेका छन् कि एमाओवादीसितको एकता यदि क्रान्तिका लागि हो भने प्रथम आफ्नै पार्टीभित्रको एकतालाई बलियो बनाउने र द्वितीय मोहन वैद्य किरणको नेतृत्वमा एकढिक्का भएर वार्ता, बहस र छलफलमा जाने । यी दुईमा केन्द्रीय समितिले अगाडि बढ्न नेतृत्वलाई म्यान्डेट दिएको हो । तर बैठकको अन्त्यतीर पार्टीभित्रैबाट सिद्धान्तहीन एकताको कुरा गर्नेहरूले स्वयम् आफ्नै अध्यक्षविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गर्ने कदम चालेको कारण अहिलेको अवस्था आएको हो । हुन त पार्टी केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष किरणले हामीसित बहस र छलफल नगरी विप्लव र बाबुरामसित त्यो काम गर्ने गरेकाले समस्याको निकासमा बाधा उत्पन्न भयो भनेका छन् । यसरी कोही एकता गर्ने नाममा एमाओवादीका कमरेडहरूको ग्रान्ड डिजायनमा काम गर्ने र कोही एकतालाई कमजोर बनाउन विप्लव र बाबुरामसित त्यो काम गर्ने हो भने यी दुवै तरिकाले आफू र आफ्नो पार्टीलाई भन्दा एमाओवादी र अन्य पार्टीको हितमा काम गर्ने स्पष्ट छ । त्यसैले यो कमजोरी यदि भएको हो भने त्यसलाई बेलैमा सुधारेर पार्टीभित्रको एकतालाई बलियो बनाउन ध्यान दिनु आवश्यक मात्रै नभई अति जरुरी देखिएको छ ।

 
केन्द्रीय समितिका उपस्थित सबै सदस्यले आफ्ना मत राख्ने अवसर दिइएको यो बैठक सााच्चै उत्साहजनक रह्यो, तर उनीहरूका मतहरूलाई एकातिर थन्काएर नेतृत्वले आआफ्नै डम्फू बजाउने हो भने पार्टीको विभाजनमात्रै होइन, यसले दीर्घकालीन रूपले पार्टीको विघटन निश्चित छ । वर्तमान पार्टी नेतृत्वले के बुझ्नु आवश्यक छ कि माओवादी आन्दोलनको एउटा महान् स्वामित्व ग्रहण गर्दै आएको यो पार्टीमा विभाजन हुने हो वा झन्–झन् एकताबद्ध भएर नेपाली क्रान्तिको नेतृत्व गर्ने हो कि होइन भन्ने क्रान्तिप्रति चिन्ता झन् बढेको छ । त्यसैले यो अड्कलबाजीलाई छिट्टै अन्त्य गर्न पार्टी केसको बैठकलाई लामो समयसम्म स्थगित गर्ने राम्रो विकल्प होइन र पार्टीभित्रको अनौपचारिक ससाना बैठकहरूको महत्व झन् बढेर गएको छ । पार्टी अध्यक्षले यसलाई गम्भीरताका साथ लिादै केन्द्रीय समितिप्रति विश्वास गर्दै जतिसक्दो छिटो बैठक आह्वान गर्ने कामलाई तदारुकताका साथ सोच्न आवश्यक छ । अब यो पार्टीमा विवादलाई रोक्न सक्ने क्षमता कसैको छैन । विगतमा विप्लवलाई यो पार्टीबाट विभाजन गराएर एउटा उग्रपन्थीमार्गतर्फ जाने नाराका साथ अर्कै पार्टी निर्माण गरेर पठाउन सक्रिय भूमिका खेल्नेहरू अहिले एमाओवादीसित विना शर्त एकता गर्नुपर्ने दबाब दिइरहेका छन् । क्रान्ति नचाहने तर माओवादको जप भने गरिरहनेहरूको एउटा ठूलो कतार छ अझै माओवादीहरूमा छ ।

 
बैठकमा उपस्थित सहभागीमध्ये करिब नब्बे प्रतिशतको मत यो रहेको छ कि यस्तो एकता कायम गर्न पहिलो स्वयम् नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको आन्तरिक एकता अभिवृद्धि गर्न सक्नुपर्छ । पहिले स्वयम् नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको आन्तरिक एकता अभिवृद्धि गरेर मात्रै अन्य सबै क्रान्तिकारीहरूलाई एकताबद्ध गर्न सम्भव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here