काठमाडौ/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपालका एक दर्जन व्यक्तिहरूले अन्तर्राष्ट्रिय भ्रष्टाचारीहरूको जालोमा आफ्नो नाम दर्ज गराएको निष्कर्ष निकाल्दै ती धनाढ्यहरूको खोजी सुरु गरेको छ । केही समय अघि सार्वजनिक भएको विश्व चर्चित पानामा पेपर्ससाग जोडिएको नेपालको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको हो । पानामा पेपर्स प्रकरणमा नेपालका उद्योगी, व्यवसायी तथा सरकारी कर्मचारीसमेत जोडिएको आशंकामा अख्तियारले अनुसन्धान सुरु गरेपछि अख्तियारप्रति सबैको ध्यानाकर्षण भएको छ । अख्तियारले उक्त विषयको अनुसन्धानका लागि सरकारी निकाय तथा विदेशस्थित कूटनीतिक नियोगसाग पनि छलफल अनुसन्धान अघि बढाएको जनाएको छ । अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग, उद्योग विभाग तथा ठूला करदाता सेवा कार्यालयलगायतसाग पनि छलफल भइरहेको जनाएको छ । आयोगले उक्त प्रकरणअन्तर्गतको सामान्य किसिमको पहिलो चरणको अध्ययन पुरा भइसकेको र त्यसका आधारमा थप अनुसन्धान सुरु हुने जनाएको छ । हालसम्मको तथ्यका आधारमा झण्डै एक दर्जन नेपाली नागरिकहरू उक्त प्रकरणसाग जोडिएको आयोगले जनाएको छ ।
पानामा पेपर्स जर्मनको ‘सुदाउत्से जेइतुङ’ नामक पत्रिकामा झण्डै एक वर्षअघि अपरिचित स्रोतबाट एक करोड १५ लाख अर्थात २.६ टेरावाइट डाटा प्राप्त भएको थियो । ती दस्तावेजहरू पनामाको ल फार्म मोसाक फोंसेका (जुन विश्वकै चौथो ठूलो ल फार्म हो) बाट आएका थिए । उक्त पत्रिकाले ती दस्तावेजहरू अन्तर्राष्ट्रिय खोजपत्रकारिता केन्द्र (आइसिआईजे)लाई दियो । ती कागजातमाथि ७६ देशका १०९ सञ्चारगृह र ३७० जना पत्रकारले अनुसन्धान सुरु गरेका थिए । ती कागजातमार्फत् विश्वका शक्तिशाली मानिएका व्यक्तिहरूले कर छली गरेको प्रमाण फेला परेपछि उक्त विषय महत्वपूर्ण बनेको हो । जसमा नेपालीहरूको पनि सहभागिता रहेको पानामा पेपर्स नक्सामा अंकित गरिएको छ । त्यसैको आधारमा अख्तियारले नेपालमा अनुसन्धान सुरु गरेको हो । अख्तियारको सूक्ष्म अनुसन्धानबाट नेपालका भ्रष्ट धनाढ्यहरू कानुनको कठघरामा आउने विश्वास सर्वत्र गरिएको छ ।