–निमकान्त पाण्डे–
कम्युनिष्ट आन्दोलनमा लागेका सबैले बुझेको अर्थ हो माथिको शीर्षक । यतिबेला माओवादी धारका पार्टीहरू एकीकृत हुने चर्चा चलिरहेको छ । सैद्धान्तिक बहसहरू चलिरहेका छन् । माओवादी पार्टी विभाजित हुनुभन्दा पहिले देशको पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित हुन पुगेको थियो । अहिलेको माओवादीको अवस्था ज्यादै निराशाजनक छ । पार्टी विभाजन हुनुको पछाडि विभिन्न कारणहरू देखाइएका छन्, परन्तु विभाजनको औचित्य पुष्टि गर्न कसैले सकिरहेका छैनन् । दश वर्षसम्म सशस्त्र संघर्ष गरेको पार्टी शान्ति प्रक्रियामा आएलगत्तै विभाजनको प्रक्रिया सुरु भएको हो । विभाजन सुरु नहुादै माओवादी पार्टीबाट गम्भीरखालका गल्तीहरू हुादै आएका थिए । शान्ति प्रक्रियामा आएलगत्तै नागरिकता विधेयकलाई प्रमुख मुद्दा बनाइएका बेला माओवादी पार्टीभित्रको नेतृत्व पंक्ति ‘तौ चुप मै चुप’ को अवस्थामा देखियो । किरण कमरेडहरुले समेत मुख खोलेको पाइएन । दक्षिणतिरको छिमेकी मुलुकको विशेष स्वार्थमा नागरिकता विधेयकको तयारी भएको थियो भन्ने कुरा स्पष्ट थियो । नेपाली कााग्रेस र नेकपा एमालेको नेतृत्व पंक्ति नागरिकता विधेयकमा पहिले नै सहमत भएका थिए । १० वर्षसम्म राष्ट्रिय स्वाधीनतालगायतका विषयहरूलाई प्रमुख मुद्दा बनाएर १६ हजार नेपालीको रगत बगाएको माओवादी शक्ति राष्ट्रघाती नागरिकता विधेयकमा कााग्रेस र एमालेहरूलाई वैशाखी बनिदेला भनेर कसैले विश्वास गरेको थिएन । परन्तु यो जटिल विषयमा दश वर्षे युद्ध गरेर आएको माओवादी नेतृत्व एकमत भएर गयो ।
माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि नागरिकता विधेयक नेपालको निम्ति पहिलो राष्ट्रघाती प्रयास थियो । यसमा माओवादी नेतृत्व एकढिक्का भएर विरोध गर्नुपर्नेमा सहमत भएर गयो । यही बेला पार्टीभित्र नागरिकता विधेयकको विरोध हुनुपर्दथ्यो । तर अफसोच विरोधको आवाज सुन्न पाइएन । पछि माओवादी पार्टीमा एकता केन्द्र समाहित भएपछि बनेको एकीकृत नेकपा (माओवादी)ले क्रमिक रूपमा बीसौं कदम पछाडि हट्नेबाहेक एक कदम अगाडि बढ्ने नीति अवलम्बन गर्न सकेको पाइएन । पहिलो संविधानसभाको विघटन र जनमुक्ति सेनाको विघटनसम्म आइपुग्दा माओवादी धार कमजोर अवस्थामा थिएन । माओवादी पार्टी विभाजनपछि भएको दोस्रो संविधानसभाको चुनावमा अकल्पनीय पराजय भोगेर तेस्रो राजनीतिक दल बन्न पुगेपछि मात्र माओवादी शक्ति कमजोर भएको महसुस नेतृत्व पंक्तिले गर्नुपर्यो । राजनीतिमा ‘एक कदम अगाडि र दुई कदम पछाडि’को सान्दर्भिकता नेताहरूले बुझ्न नसक्दा देशको निर्णायक शक्ति बनिसकेको माओवादी धार ओरालो लाग्नेक्रम सुरु हुनु स्वाभाविक भयो ।
सशस्त्र युद्धका कमाण्डर बन्न पुगेका प्रचण्डले स्वयम् पनि एक कदम अगाडि बढ्ने सोच कहिले बनाउन आवश्यक ठान्नु भएको पाइएन । पहिलो संविधानसभामा पहिलो राजनीतिक शक्ति बनेको यो पार्टी दोस्रो र तेस्रो राजनीतिक शक्ति बनेका नेपाली कांग्रेस र नेकपा एमालेको सभासद् संख्या जोड्दा पनि ठूलो आकारको थियो । एमाओवादी पार्टीले पहिलो संविधानसभामा लचकताको नीति अवलम्बन गर्दै पछाडि हट्ने क्रममा धेरै उपलब्धिहरू गुमाउादै गयो । लचकताको परिणामप्रति एमाओवादी नेतृत्व बेखबर जस्तै बनिरह्यो । लचकताको समीक्षा गर्न नसक्नु उसको कमजोरी साबित भयो । दुई/दुई निर्वाचन क्षेत्रहरूमा पराजित भएका नेकपा एमालेका नेता माधवकुमार नेपाललाई सभासद्को टीको लगाएर संविधानसभामा प्रवेश गराउनु एमाओवादी पार्टीका नेताहरूको अर्काे ठूलो गल्ती थियो । यो गल्ती प्रचण्डले गरिरहादा पनि पार्टी भित्रबाट कमरेड किरणहरुको विरोधको आवाज सुन्न पाइएन । माधव नेपालले पराजय भोग्नुका पछाडिको कारण बुझ्नतिर एमाओवादी नेताहरूले ध्यान पुर्याएनन् । यथार्थमा माधवकुमार नेपाल संविधानसभाको चुनावको पक्षमै थिएनन् । यो कुरा उनी प्रधानमन्त्री बनेका बेला आफ्नै मुखले खोलेका थिए । संविधानसभाको चुनावको पक्षमै नभएका व्यक्तिलाई किन संविधानसभामा विजयी गराउने भन्ने निष्कर्षका साथ मतदाताहरूले उनलाई दुई ठाउामै पराजित गराइदिएका थिए । तर एमाओवादी नेतृत्वले यो सत्यलाई बुझ्न चाहेन । दश वर्षे सशस्त्र युद्धबाट प्राप्त गरेको शक्तिलाई ठूलो अहंकारको विषय बनाउादै आफूले विश्वास गरेको मानिसबाट धोका हुन सक्दैन भन्ने निष्कर्षका साथ माधव नेपाललाई नै संविधानसभाको संवैधानिक समितिको सभापति समेत बनाउने अर्काे गल्ती एमाओवादी नेतृत्वले गर्यो । परन्तु यो विषयमा पनि विभाजन हुनुपूर्वको एमाओवादी पार्टीभित्र विरोध भएको सुनिएन ।
दश वर्षे युद्धले देशमा उथलपुथलपूर्ण परिवर्तन ल्याएको थियो । त्यो परिवर्तनलाई संस्थागत गर्नतर्फ नलागेर संसद्वादीधारका राजनीतिक मूल्य र मान्यतालाई स्थापित गर्ने काममा माओवादी नेतृत्व समर्पित हुादै गयो । शक्ति उन्मादले एमाओवादी नेतृत्वलाई ठूलो अहंकारी बनायो । त्यसैकारणले गर्दा शान्तिप्रक्रियामा आइसकेपछि अगाडि बढ्ने बाटो नेतृत्वले देख्नै छोड्यो । हरेक कदमलाई पछाडि–पछाडि फर्काउादै लगेर अन्तत: पार्टीलाई विभाजनमा पुर्याउन पनि नेतृत्वले कुनै कमी राखेन । राजनीतिमा ‘एक कदम अगाडि दुई कदम पछाडि’को लेनिनवादी धारणालाई एमाओवादी नेतृत्वले पटक्कै अवलम्बन नगर्दा नै माओवादी धार कमजोर हुन पुगेको हो भन्ने कुरालाई आत्मसात् गरी दुई कदम अगाडि बढ्न चाहनेहरू चार कदम पछाडि हट्न पनि आवश्यक छ भन्ने बुझ्नुपर्ने देशको वस्तुगत अवस्था छ भने दुई कदम पछाडि हट्न चाहनेहरूले एक कदम अगाडि बढ्न पनि आवश्यक ठान्नुपर्दछ भन्ने कुरा बुझ्न सकिएन भने माओवादी धारलाई एकीकृत गराउन कसैले सक्ने छैन । माओवादी एकताका लागि कमरेड प्रचण्डले एक कदम अगाडि बढ्ने साहस देखाउनै पर्छ भने कमरेड किरणले दुई कदम पछाडि हट्ने आवश्यकतालाई ध्यान पुर्याउनैपर्छ ।