काठमाडौं/ नेपाली कााग्रेसका नेता स्व.बीपी कोइरालाद्वारा लिखित उर्चित उपन्यास ‘तीन घुम्ती’मा आधारित रहेर निर्माण गरिएको चलचित्र प्रदर्शनको अन्तिम चरणमा पुगेको छ । राकेश अडुकियाले निर्माण गरेको यो चलचित्रलाई अब दर्शकहरूले असार १७ गतेबाट हलमा हेर्न पाउने निर्माण पक्षले जनाएको छ ।
हालै चलचित्रको निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । यो फिल्मलाई रिलिज गर्ने जिम्मा माउन्टेन रिभर फिल्म्सले पाएको छ । कर्मा प्रोडक्सनको लगानीमा निर्मित यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा बीपी ट्रष्टका तर्फबाट भाइस प्रेसिडेन्टको पदमा रहेका हर्ष कोइरालासमेत उपस्थित थिए । फिल्ममा गरिमा पन्त, सुशान्त कार्की र ध्रुव दत्त मुख्य भूमिकामा छन् । फिल्मको निर्देशन भने बाबुराम ढकालले गरेका हुन् । ट्ेरलरमा नेपालको वि.सं. २००७ सालको प्रजातन्त्रकालीन अवस्था, प्रजातन्त्रका लागि नेपाली जनताले गरेको आन्दोलनलाई देखाउने प्रयास गरिएको छ । मुख्य पात्रका रूपमा देखापरेकी गरिमा पन्तले आफ्ना अघिल्ला चलचित्रहरूमा जस्तै यस चलचित्रमा पनि दमदार भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा उनले दुई पुरुष पात्रको एक्ली नायिकाको रूपमा देखापरेकी छिन् । गरिमा ‘झोला’ चलचित्रबाट साउथ एसियाकै उत्कृष्ट अभिनेत्री बन्न सफल भएकी थिइन् ।