काठमाडौं/ नेपालको सांगीतिक क्षेत्रका एक हस्ती वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ । उहााको ७९ वर्षको उमेरमा गत मंगलबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंमा निधन भएको हो । गुरुङले नेपाली राष्ट्रिय गानमा संगीत भर्नुभएको थियो ।
भारतमा केही महिनाअगाडि उपचार गराएर स्वदेश फर्किनुभएका गुरुङको ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । गुरुङको जन्म विसं १९९४ साल फागुन १४ गते (सन् १९३८ फेब्रुअरी २६) भारतको दार्जिलिङमा भएको थियो । उनले सन् १९६१ मा ‘नौलाख तारा’ नामक गीत रेकर्ड गराएर गीतसंगीत क्षेत्रमा औपचारिक रूपमा प्रवेश गरेका थिए । गुरुङको शवलाई मंगलबार प्रज्ञाप्रतिष्ठानमा श्रद्धाञ्जली प्रकट गर्नका लागि राखिएको थियो भने मंगलबारै पशुपतिमा हिन्दू र बौद्ध विधिबाट अन्त्येष्टि गरिएको छ । दिवंगत गुरुङप्रति जनधारणा साप्ताहिक परिवारको तर्फबाट पनि भावमय श्रद्धाञ्जली प्रकट गर्दछौा ।