राज्यलक्ष्मी शाक्य
अहिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका देशैभर रहेका टावरहरूमाथि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले धावा बोलेको छ । विभिन्न जिल्लाहरूमा रहेका एनसेलका टावरहरूमा आगजनी गर्नु, गैरसरकारी संस्थाहरूमा भौतिक आक्रमण हुनु र अनियमितता र भ्रष्टको आरोपमा विभिन्न व्यक्तिलाई कालोमोसो दल्ने जस्ता क्रियाकलाप विप्लव नेतृत्वको माओवादीले सुरु गरेको छ । यस्तो क्रियाकलाप गरेर माओवादीले ठूलै सन्देश दिन खोजेका भान हुन्छ भने यसलाई कमजोर आाक्न नमिल्ने बुझ्न सकिन्छ । विभिन्न जिल्लाहरूमा समानान्तर सरकार गठन गरिरहेको र पहिलो जनयुद्धको शैलीमा आफ्नो गतिविधि सञ्चालन गरिरहेको माओवादीले वर्तमान व्यवस्थाप्रति नै चुनौती र ठूलो असन्तुष्टि प्रकट गरेको छ । यसलाई राज्यले र सत्तामा रहेकाहरूले गम्भीर रूपमा नलिए भविष्यमा फेरि अर्को जनयुद्ध सुरु हुन सक्दैन भनेर भन्न सकिन्न । किनभने अहिले आन्दोलन गरिरहेको यो माओवादी पहिलो जनयुद्धकै एक घटक हो ।
विप्लव नेतृत्वको माओवादीले हालै गरेका गतिविधिहरूले विभिन्न सन्देश दिएका छन् । पहिलो सन्देश हो, ०५२ सालमा सुरु भएको जनयुद्ध अझै सकिएको छैन । हुन त तत्कालीन माओवादी शान्तिप्रक्रियामा आएपछि उनीहरूले गर्दै आएको जनयुद्धमा विराम लागेको घोषणा भएको थियो । तत्पश्चात् संविधानसभाबाट संविधान निर्माण भए पनि संविधानप्रति धेरैको असन्तुष्टि देखिएको छ । अहिले सत्तामै रहेका राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चाले पनि संविधानमा रहेका कतिपय व्यवस्थाप्रति चित्त बुझाएका छैनन् भने मधेसी मोर्चाले संविधानप्रति असन्तुष्टि प्रकट गर्दै महिनौादेखि आन्दोलन गर्दै आएको छ । यसले पनि हाल सत्तामा रहेकाहरूले देश अब संविधान कार्यान्वयनमा लाग्ने र आर्थिक विकासमा होमिने घोषणा गरे पनि त्यो त्यति सजिलो नरहेको स्पष्ट नै छ । अझ संवैधानिक प्रक्रियामा नै नहोमिएको र विगतमा पनि युद्ध गरेर आएकै माओवादीले फेरि युद्धकै शैलीमा आफ्नो गतिविधि सञ्चालन गर्नुले देशमा दोस्रो जनयुद्ध सुरु भएको संकेत गरेको छ भने दशवर्षे सशस्त्र युद्धको निरन्तरताको रूपमा यसलाई बुझ्नुपर्ने भएको छ ।
तत्कालीन माओवादी शान्तिप्रक्रियामा आएपछिका दश वर्षमा नेपालमा जे जति होला भन्ने अपेक्षा गरिएको थियो, त्यो हुन सकेन । देशमा देखिएको वर्गीय खाडल पुरेर गरिब, विपन्न, दलित, मजदुर र शोषित वर्गको पक्षमा कार्य गर्ने जनयुद्धको एजेण्डा पनि सफल हुन सकेन । तत्कालीन माओवादीका नेताहरू शान्तिप्रक्रियामा रूपान्तरण गरेको नाममा राजनीतिक विचलनमा परेका देखिन्छन् । त्यसबेला कम्युनिष्ट भएर जनयुद्ध सुरु गर्ने डा. बाबुराम भट्टराई अहिले पुाजीवादी भइसकेका छन् । त्यसकारण पहिलो जनयुद्धबाट संविधान निर्माण हुन सके पनि वास्तवमा नेपालको अहिलेको अवस्थामा ०५२ सालमा जनयुद्ध सुरु हुनलाग्दाको अवस्थाबाट भिन्न छैन । यही अवस्थाप्रति असन्तुष्टि प्रकट गर्दै पुन: क्रान्तिको घोषणा गरेको विप्लव माओवादीको पछिल्लो गतिविधिले वर्तमान राजनीतिक प्रणालीबाट आमूल परिवर्तन हुन नसक्ने चेतावनी दिएको छ र आफ्नो आन्दोलन जारी राखेको जनाएको छ । यसलाई सम्बन्धित पक्षले गम्भीर रूपमा लिनुपर्ने देखिन्छ ।
तत्कालीन माओवादीले ०५२ सालमा असन्तुष्टि प्रकट गर्दा र युद्धको चेतावनी दिादा तत्कालीन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले हल्काफुल्का रूपमा लिए । तर युद्ध भइछाड्यो र त्यसले देशलाई ठूलो क्षति पुर्यायो । यदि विप्लव माओवादीलाई पनि कमजोर आाक्ने हो भने र यो समस्यालाई गम्भीर नठान्ने हो भविष्यमा फेरि जनयुद्ध सुरु नहोला भन्न सकिन्न । अहिले विप्लव माओवादीको गतिविधिले राज्यव्यवस्था र सुरक्षा संयन्त्रलाई ध्यानाकर्षण गराएको छ । आफ्ना मतभेदलाई सांकेतिक रूपमा राखेको छ । जस्तै देशमा खर्बौं रूपैयाा एक वर्षको नाफा गर्न पाउने गरी जनता लुट्ने लाइसेन्स विदेशी कम्पनीलाई दिएर सरकारी स्वामित्वको नेपाल टेलिकमलाई धराशायी बनाउने काम भइरहेकोमा माओवादीले आपत्ति प्रकट गरेको छ । यीलगायत देशको स्वाभिमान र स्वाधीनताविरोधी गतिविधि देशमा खुलेआम भइरहेका छन् । यसप्रति माओवादीले आपत्ति प्रकट गरेको हो । जुन मननीय र सम्बोधन गर्नलायक माग हो । यदि यसलाई बेलैमा सम्बोधन नगर्ने हो भने देशले भविष्यमा अकल्पनीय दुर्घटना भोग्नुपर्ने निश्चित छ । देश फेरि जनयुद्धमा गयो भने त्यसले पुर्याउने क्षति भयावह हुन्छ । जनयुद्धका अपराधहरूलाई छानबिन गरिरहेको सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पनि यो चुनौतीको रूपमा देखिन्छ । नेपालीमा उखान छ, ‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस ।’ त्यस्तै यो समस्यालाई अहिले नै सम्बोधन गर्नसके ठूलो बुद्धिमानी हुनेछ ।