काठमाडौं/ विपद् व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको नेपाली सेनाले सो क्षेत्रमा क्षमता अभिवृद्धि गर्न सात अर्ब रूपैयाा बजेट माग गरेको छ । व्यवस्थापिका संसद् राज्य व्यवस्था समितिको बैठकमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्राकृतिक प्रकोपको व्यवस्थापनमा सेनालाई सो बजेट उपलब्ध गराए आइपर्ने जुनसुकै विपद्सम्बन्धी चुनौतीलाई तत्काल सामना गर्न सक्ने जानकारी दिनुभयो । हाल सरकारबाट सेनालाई निकासा भएको बजेटमध्ये सेनाले आफ्नो हवाई, इञ्जिनियरिङ, मेडिकल, जमिनी पारवहनजस्ता क्षेत्रमा खर्च गर्नेछ । तत्काल उसले तीनवटा साना हेलिकप्टर थप गर्न लागेको जनाएको छ । सेनाले विपद् व्यवस्थापन, जनताको जीउधनको सुरक्षा र राष्ट्र विकासका लागि सरकारको निर्देशनबमोजिम परिचालन हुनसक्ने गरी चौबिसैघन्टा तयारी अवस्थामा रहेको पनि आफ्नो जानकारीपत्रमा उल्लेख गरेको छ ।