सामान्यतया एउटा स्वतन्त्र मुलुकको आन्तरिक विषयमा गैरनागरिक वा असम्बन्धित व्यक्तिहरुको टिप्पणी असान्दर्भिक मात्र होइन, गैरकानुनी पनि मानिन्छ । तर नेपालको मामिलामा भारतीय पक्षको टिप्पणीलाई भने नेपालमा सल्लाह वा सुझावको रुपमा ग्रहण गर्ने प्रवृत्ति नेपालका लागि निकै चुनौती बन्दै गइरहेको छ ।
सन् २०१४मा तत्कालीन बेलायती राजदूत एन्ड्रीयु स्पाक्र्सले संविधानमा धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न माग गर्दै सभासद्हरुका नाममा खुल्लापत्र लेखेपछि उनको चर्काे विरोध भएको थियो । विवादित अभिव्यक्ति दिएका उनलाई सरकारले स्पष्टीकरण समेत मागेको थियो । यही कारणले गर्दा उनी आफ्नो कार्यकालभन्दा पहिले नै स्वदेश फिर्ता भए । अन्य विदेशीको हकमा यस्ता कैयाौ उदाहरणहरु देख्न पाइन्छ । तर जब कुनै भारतीय कूटनीतिज्ञ वा असम्बन्धित व्यक्तिले नेपालको बारेमा टीकाटिप्पणी गर्छन्, त्यसप्रति भने सरकारी निकाय वा अन्य पक्षले विरोध गरेको पाइादैन । जब कि भारतबाट नेपाल भ्रमणमा आउने व्यक्ति वा नेपालमै रहेका कूटनीतिक व्यक्तिहरुले नेपालको आन्तरिक मामिलामा बोल्नु सामान्य विषय बन्दै गएको छ ।
हालै मात्र नेपाल र भारतका बीचमा भएको १९५०को शान्ति तथा मैत्री सन्धि एवं त्यसपश्चात् भएका कैयाौ सन्धिसम्झौताहरुको पुनरावलोकनका लागि गठन भएको प्रबुद्ध समूहको बैठकमा भाग लिन आएका भारतीय जनता पार्टीका उपाध्यक्ष तथा समूहका लागि भारतीय पक्षका संयोजकले नेपाललाई भुटान जस्तै खुशी देख्न चाहेको तथा नेपाल र भारतका बीचमा सीमाविहीन पक्षमा भारत रहेको विवादास्पद अभिव्यक्ति दिए । उनको भनाइको संकेत थियो, नेपाललाई भुटानीकरण गर्दै सिक्किमीकरण गराउने । जब कि उनको यो भनाइप्रति न त सरकारले कुनै आपत्ति जनायो न सरकारी निकायले नै प्रतिक्रिया दिए । नेपाल कस्तो हुने वा नेपालले के गर्ने भन्ने कुरा नेपालको नितान्त आन्तरिक मामिला भए पनि भारतबाट नेपाल भ्रमण गर्ने उच्च अधिकारी होऊन् वा नेपालस्थित भारतीय कूटनीतिक नियोगका अधिकारीहरु उनीहरुले पटक–पटक नेपालको मामिलामा खुलेर बोल्ने गरेका छन् । तर त्यसलाई नेपाल सरकारले गम्भीर रुपमा लिनुको सट्टा सुझाव वा सल्लाहको रुपमा ग्रहण गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
भारतीय पक्षले नेपालका विषयमा जस्ता टीकाटिप्पणी गरे पनि त्यसको प्रतिवाद गर्नुको सट्टा शिरोधारण गर्ने प्रवृत्तिका कारण भारतीय सत्तामा रहने व्यक्ति मात्र होइन, भारतबाट नेपालमा आउने सामान्य व्यक्तिहरुले समेत नेपालका मामिलामा बोल्ने दुस्साहस गर्छन् । कतिपयले प्रष्ट बुझिने भाषमा र कतिपयले घुमाउरो भाषामा भारत नेपालको ‘बिग ब्रदर्श’को भूमिकामा रहेको संकेत गर्छन् । जब कि समय सन्दर्भविना बेला न कुबेला भारतीय अधिकारीहरुबाट आउने यस्ता टीकाटिप्पणीहरुले अन्तत: नेपालीहरुको मनोविज्ञानमा नै भारतप्रतिको गलत धारणा सिर्जना हुन थालेको छ ।
एउटा मुलुकप्रति अर्काे मुलुकका अधिकारीको व्यवहार वा टीकाटिप्पणीहरु कूटनीतिक मान्यताका आधारमा हुनुपर्ने विश्वव्यापी मान्यता हुन्छ । जब कि नेपाल मामिलामा भारतीय पक्षबाट यस्तो महसुस गरिएको पाइादैन । उनीहरुले कूटनीतिक मर्यादालाई लत्याइरहने र नेपाली पक्षले समेत कूटनीतिक मर्यादाका बारेमा सचेत नगराउने प्रवृत्तिका कारण दुई मुलुकको सम्बन्धमा समेत दरार उत्पन्न हुने सम्भावना बढिरहेको देखिन्छ । जब कि यस्तो विषयमा स्वयं भारतीय पक्ष तथा उनीहरुलाई सचेत गराउनुपर्ने विषयमा नेपाली पक्ष पनि जानकार हुन्छन् । तर नेपाललाई हेप्ने प्रवृत्ति र नेपाली अधिकारीहरुमा भारतीय हेपाहा व्यवहार सहने प्रवृत्तिका कारण थप समस्याहरु सिर्जना हुने गरेका छन् । त्यसैले नेपाल मामिलामा गैरनेपालीहरुले टीकाटिप्पणी गर्दा कूटनीतिक मर्यादाप्रति सचेत बनाउने र अनावश्यक टीकाटिप्पणी गर्नेहरुप्रति कडा रुपमा प्रस्तुत हुने प्रणालीको विकास गर्न सम्बन्धित निकायले तत्काल प्रयास गर्नुपर्छ । अन्यथा यस्तो प्रवृत्तिले दुई मुलुकको सम्बन्धलाई समेत दीर्घकालीन रुपमा असर पार्छ साथै दुई मुलुकका नागरिकहरुबीचमा पनि एकअर्काप्रति दुर्भाव बढ्ने सम्भावना बढ्छ । त्यसैले यस्ता विषयमा गम्भीर बन्न जरुरी देखिन्छ ।