पूर्वराजा ज्ञानेन्द्रको गर्जनले के संकेत गर्छ ?

156

राज्यलक्ष्मी शाक्य
यही असोज ४ गते पशुपतिको वनकालीमा अन्तर्राष्ट्रिय विराट हिन्दू सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीतिले विद्रोह जन्माउने चेतावनी दिए । राजसंस्था अन्त्य भएको झण्डै दश वर्षपछि पूर्वराजाले दिएको यस्तो चेतावनीलाई धेरैले चासोका साथ हेरिरहेका छन् । मुलुकमा गणतन्त्र स्थापनाका लागि सहज वातावरण बनाइदिएका पूर्वराजाले पछिल्लो समय गणतन्त्रले मुलुकलाई निकास दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन् । हरेक क्षेत्रमा विकृति मौलाएको र चरम निराशा र हस्तक्षेप बढेको अभिव्यक्ति दिएका पूर्वराजाले हाम्रो दर्शनलाई नयाँ बाटो नचाहिएको बरु नयाँ सोच आवश्यक रहेको अभिव्यक्ति दिए । अधिकांश धार्मिक विषयका बारेमा बोलेका पूर्वराजाले बीचबीचमा केही चेतावनीयुक्त भाषालाई कूटनीतिक ढंगले समायोजना गरेका थिए । राजसंस्था ढलेसँगै लामो समयसम्म मौन रहेका पूर्वराजा ज्ञानेन्द्रको सक्रियता एकाएक बढ्नु र उनी चेतावनीको भाषा बोल्नु गणतन्त्रका लागि शुभ संकेत होइन ।
राजसंस्थाको अन्त्य भएको लामो समयपछि सामान्य नागरिकका रूपमा रहेका पूर्वराजाप्रतिको मोह विस्तारै प्रकट हुन थालेको छ । धार्मिक कार्यक्रमहरूमा सहभागी हुन विभिन्न स्थानमा पुग्ने पूर्वराजा तथा राजपरिवारका सदस्यप्रति सद्भाव र समर्थन व्यक्त हुन थालेका छन् । राजनीतिक दलहरूले ठूलै प्रयास गर्दा समेत सहभागिता नजनाउने सर्वसाधारणले स्वतस्फूर्त रूपमा उपस्थित भई राजाको जयजयकार गर्ने प्रचलन बढ्न थालेको छ । यसले नेपालीहरूमा राजसंस्थाप्रतिको सद्भाव पुनः जागृत हुन थालको पुष्टि हुन्छ । राजसंस्थाप्रतिको आस्था बढ्नुका पछाडि गणतान्त्रिक व्यवस्थामा मुलुकले ठूलै उपलब्धि हासिल गर्ने अपेक्षा गरिरहेका जनतामाझ विस्तारै निराशा वितृष्णाका वातावरण सिर्जना हुँदै जानु मुख्य कारण हो । गणतन्त्रमार्फत मुलुक र जनताको समृद्धिको सपना बाँडेका राजनीतिक दलहरूले पूर्वप्रतिबद्धताअनुसार काम नगर्नु र जनताप्रतिको विश्वासलाई निरन्तरता दिन नसक्नुको कारण राजसंस्थाप्रतिको सहानुभूति विस्तारै बढ्न थालेको छ । गणतान्त्रिक व्यवस्थामा मुलुकको सार्वभौमसत्तामाथिको निरन्तर हमला तथा कानुनी शासनको अन्य पनि राजसंस्थाप्रतिको झुकावको एउटा कारण हो ।
गणतन्त्रान्त्रिक व्यवस्थामा नागरिकले थप आहत सहनुपर्ने अवस्था र राजनीतिक दलहरूप्रतिको वितृष्णाले गति लिइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूलाई खुल्ला रूपमा चुनौती दिन सुरु गरेका छन् । धार्मिक कार्यक्रममा राजाकै हैसियतबाट उपस्थित हुनेदेखि गणतन्त्रमाथि यक्ष प्रश्न तेर्साएका पूर्वराजाले निषेधले विद्रोह जन्माउँछ भन्नुका पछाडि जनता आफ्नो पक्षमा पनि रहेको र आफूलाई निषेध गरेर अघि बढेमा विद्रोह हुन सक्छ भन्नु हो । उनले सम्बोधनका क्रममा पछिल्लो समय मुलुक र जनताले भोगिरहेका समस्या तथा चुनौती तथा यस्तो परिस्थिति आउनुका पछाडिको कारण जनताले नै सोध्नुपर्ने भन्दै राजनीतिक दलहरूप्रति कटाक्ष गरेका छन् । यसले उनी आफूप्रति बढ्दै गइरहेको सहानुभूति र सद्भावलाई क्यास गर्न खोज्दै छन्, भन्ने बुझाउँछ । एकातर्फ अहिलेको व्यवस्थाप्रति प्रश्नचिह्न खडा गर्ने र अर्काेतर्फ जनता जाग्नुपर्छ भन्ने आशय पूर्वराजाबाट अभिव्यक्त हुनुले उनी अब चुप बस्दैनन् भन्ने संकेत गर्छ । जब कि हालका राजनीतिक दलहरूमा बढेको महत्वाकांक्षा र पदप्रतिको अभिलाषाका कारण उनीहरूको स्तर यति धेरै कमजोर भएको छ कि उनीहरू पूर्वराजाको स्तरबाट समेत बोल्न सक्दैनन् र जनताले पनि विश्वास गर्ने अवस्था छैन । यसको फाइदा पूर्वराजालाई पुगिरहेको छ । जसले गर्दा ठूलो त्याग र बलिदानबाट ल्याइएको गणतान्त्रिक व्यवस्थाको भविष्यमाथि कालो बादल मडारिन थालेको छ । यसतर्फ राजनीतिक दलहरूको बुद्धि कहिले फिर्ने होला ? [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here