पतञ्जलिको व्यापार र नेपालको राष्ट्रवाद

276

राज्यलक्ष्मी शाक्य
भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि आयुर्वेदले नेपालमा पनि आयुर्वेद औषधि उद्योग सुरु गरेपछि नेपाली बजारमा यसको व्यापक प्रचार तथा उपस्थित हुन थालेको छ । रामदेवको झण्डै एक अर्ब लगानीमा गैरकानुनी रूपमा सञ्चालनमा आएको उद्योगको प्रचार र प्रवद्र्धनका लागि महत्वपूर्ण कार्यक्रमहरूलाई लत्याएर नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा उच्चपदस्थहरू दिलोज्यान दिएर लागिरहेका छन् । तर, नेपाल सरकारकै लगानी रहेको सिंहदरबार वैद्य खाना होस् वा नेपाली व्यवसायीको झण्डै ६ अर्ब लगानी रहेको आयुर्वेद उद्योगहरू, त्यसप्रति भने न त सरकारको चासो छ न राष्ट्र प्रमुख, सरकार प्रमुख र महत्वपूर्ण ओहदामा हुनेहरूलाई नै चिन्ता छ । राज्यको प्रमुख जिम्मेवारीमा बसेकाहरूले भारतीय लगानीको आयुर्वेद उद्योगलाई अति महत्व दिएको हेर्दा नेपाल सरकार नै सरकारी लगानी तथा स्वदेशी लगानीलाई डुबाउन उद्दत रहेको जस्तै देखिन्छ ।
एकातर्फ विश्वकै अर्बपतिको सूचीमा परेका भनिएका विनोद चौधरीले स्वदेशी लगानीलाई जसरी हुन्छ विदेश पलायन गराउने योजनामा लागिरहेका छन् । स्वदेशमा लगानी कम गर्दै जाने र अन्य मुलुकहरूमा लगानी बढाउँदै जाने उनको रवैयाले उनी पुँजी पलायन गर्न चाहन्छन् भन्ने कुरा प्रष्ट हुन्छ । अर्काेतर्फ सरकारी लगानी तथा स्वदेशी लगानी भएका उद्योगहरू पनि सरकारकै कारण बन्द हुने अवस्थातर्फ जाँदै छन् । यसले गर्दा नेपालमा पुँजी हुँदाहुँदै र स्वदेशी लगानीकै सम्भावना हुँदाहुँदै पनि लगानीको वातावरण कमजोर बन्दै गइरहेको भने कुनै स्वार्थसहित नेपालमा भित्रिएका विदेशी कम्पनीहरूले त्यसको फाइदा उठाउने अवस्था सिर्जना हुँदै गइरहेको छ ।
पछिल्लो समय नेपालमा भारतीय लगानीका उद्योगहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । झट्ट हेर्दा विदेशी लगानी बढ्नु सकारात्मक जस्तै देखिए पनि भारतीय लगानीका उद्योगहरू भने प्रतिस्पर्धा गर्ने हिसाबले भन्दा पनि भएकालाई कमजोर र धराशयी बनाउने उद्देश्यले स्थापना हुने गरेका छन् । नेपालको उत्पादन र लगानीलाई कमजोर बनाउने उद्देश्ले स्थापना हुने यस्ता उद्योगहरूलाई नेपाल सरकार स्वयम्ले संरक्षण र प्रवद्र्धन गर्दै आइरहेको छ । जसको पछिल्लो उदाहरण पतञ्जलि हो । जसले स्वदेशी आयुर्वेद उद्योगहरूसँगै सरकारी लगानीको सिंहदरबार वैद्य खानालाई पनि धराशयी बनाउने निश्चित छ ।
नेपाल सरकारको लगानी तथा मातहतमा रहेको सिंहदरबार वैद्य खानाले हाल १५ वटा औषधि मुस्किलले उत्पादन गर्दै आइरहेको छ । १५० वटा औषधि उत्पादन गर्ने क्षमता रहेको उक्त उद्योगको अवस्था झन्पछि झन् कमजोर बन्दै गइरहेको छ । जनताले तिरेको करबाट सेवासुविधा लिने राष्ट्रपति हुन् वा राज्यको ढुकुटीको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री, उनीहरूको पहिलो कर्तव्य भनेको राष्ट्रको लगानी भएका क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्नु हो । तर, नेपालमा भने त्यसको ठ्याक्कै विपरीत राष्ट्रिय सम्पत्तिलाई डुबाउने र राष्ट्र र राष्ट्रियतालाई नै कमजोर बनाउने तथा स्वदेशी लगानीलाई निरुत्साहित गराउने कार्यमा राज्यका प्रमुख पदमा आसीन व्यक्तिहरूको गतिविधि हुने गरेको छ ।
नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखलाई स्वदेशी उत्पादन र वस्तुमा भन्दा विदेशी लगानी र उत्पादनमा कति धेरै सम्मान र सद्भाव छ भन्ने कुरा केही समयअघि सम्पन्न भएको हस्तकला महासंघको मेलामा उनीहरूको बेवास्तालाई हेरे पुग्छ । भारतीय लगानीको पतञ्जलि आयुर्वेदको प्रचारका लागि आयोजना गरिएको योग शिविर होस् वा उद्योग नै किन नहोस्, नेपालका प्रमुख पदमा आसीनहरूको निकै ठूलो सद्भाव रह्यो । तर नेपाललाई विदेशमा चिनाउने तथा नेपालको मौलिकतासँग जोडिएको हस्तकलासम्बन्धी मेलामा न त राष्ट्रपतिले नै आउन तत्परता जनाए न प्रधानमन्त्रीले नै । बरु त्यो कार्यक्रमलाई बेवास्ता गर्दै उनीहरू भारतीय योगगुरुको योग र उनको उद्योगका लागि दुवै जनाले महत्वपूर्ण समय खर्चिए । यो एउटा घटना मात्र नभएर नेपालको नुनपानी खानेहरू नेपालप्रति कति चिन्तित छन् भन्ने उदाहरण पनि हो । जसले आफ्नो राष्ट्रियतालाई दाउमा राखेर अरु कसैको व्यापारको प्रवद्र्धन गर्ने गर्छन् ।
चबवथबबिहmष्कजबपथब२नmबष्।िअयm

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here