गत पुस ६ गते पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको अवस्थालाई दर्शाउँदै राष्ट्र र राष्ट्रियताका लागि एकजुट हुन आग्रह गर्दै एक विज्ञप्ति सार्वजनिक गरेका थिए । झण्डै चार सय शब्दको उनको विज्ञप्तिमा वर्तमान व्यवस्थाप्रतिको असन्तुष्टिदेखि मुलुकको वर्तमान अवस्था निकै कमजोर भएको, अग्रगमन लिन नसकेकोलगायत असन्तुष्टिहरु देख्न सकिन्छ । उनले आफ्नो विज्ञप्तिमार्फत दलका नेताहरुलाई चेतावनीमात्र दिएका छैनन्, जनतालाई समेत वर्तमान व्यवस्थाविरुद्ध उत्रिन आह्वान गरेका छन् ।
पहिलो विज्ञप्ति जारी गरेको ठीक २० दिनपछि पूर्वराजा शाहले २९५आँै पृथ्वी जयन्तीको अवसरमा अर्काे विज्ञप्ति जारी गरे । उक्त विज्ञप्तिमा पनि उनले मुलुकप्रतिको चिन्ता व्यक्त गर्दै नेपाल नै बच्ने हो कि होइन भन्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन् । पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा वक्तव्य जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको एक दशक नबित्दै नेपाल बन्ने होइन, देश नै बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं ।’ उनले अगाडि भनेका छन्, ‘नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यो मुलुकमा हामी तत्कालीन परिस्थिति समेतलाई दृष्टिगत गरी बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं ।’
ज्ञानेन्द्र शाहको आक्रोश र चिन्ता मिसिएको पहिलो अर्थात् पुस ६ गते सार्वजनिक भएको विज्ञप्तिपश्चात् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत पूर्वराजाका विरुद्ध आक्रोश पोखे भने वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत विभिन्न कार्यक्रममा बोल्दै पूर्वराजा पुनः सक्रिय हुन खोजेको भन्दै त्यसो नगर्न चेतावनीसमेत दिए । कुरा यत्तिमै सीमित रहेन । पूर्वराजाको अभिव्यक्तिसँगै नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेस गठबन्धनको संयुक्त सरकारको मन्त्रिपरिषद् बैठकमा समेत पूर्वराजालाई लक्षित गर्दै राजदरबार हत्याकाण्डको अनुसन्धान गर्नुपर्ने विषयले प्रवेश पायो । दरबार हत्याकाण्डको लामो समय पुगिसक्दा पनि अनुसन्धान हुन नसकेको विषयले पूर्वराजाको विज्ञप्तिपश्चात् पुनः महत्व पाएको छ । यसअघि २०६४ सालको अन्त्यतिर पूर्वराजा ज्ञानेन्द्र शाह लामो भारत भ्रमणबाट फर्केलगत्तै ‘बेबी किङ’को चर्चा चलेको थियो साथै पूर्वयुवराज पारस शाहले सिंगापुर रहँदै गर्दा राजनीतिमा सहभागी भएर सत्ता चलाउने अभिव्यक्ति दिएपछि तत्कालीन सरकारले दरबार हत्याकाण्ड छानबिनको विषयलाई चर्काेसँग उठाएको थियो ।
वि.सं. २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंशनाश गर्ने गरी भएको दरबार हत्याकाण्डको आरोप राजाकै जेष्ठ सुपुत्र तत्कालीन युवराज दीपेन्द्रमाथि लाग्दै आएको छ । यस विषयमा अनुसन्धान गर्न तत्कालीन सभामुख तारानाथ रानाभाटको अध्यक्षतामा जाँच आयोगसमेत गठन भएको थियो । तर उक्त आयोगले पनि सन्तोषजनक अध्ययन रिपोर्ट तयार पार्न सकेन । आयोगले प्रतिवेदन त तयार पा¥यो तर त्यो प्रतिवेदन अध्ययन गर्दा औपचारिकता निभाउनका लागि मात्र जाँच आयोग गठन गरिएजस्तो देखिन्छ । यसरी रहस्यमय बनेको दरबार हत्याकाण्डको तीर पूर्वराजा ज्ञानेन्द्र शाहमाथि पनि तेर्सिने गरेको छ । भलै पूर्वराजा ज्ञानेन्द्र घटनाका बेला दरबारमा थिएनन् । तर उनी आफू राजा भएपछि हत्याकाण्डको छानबिनका लागि तदारुकता नदेखाउनुले यो तीर उनीतर्फ पनि सोझिएको हो । पूर्वराजाले कुनै अभिव्यक्ति दिँदा राजनीतिक दलहरुले ज्ञानेन्द्र शाहलाई दबाबमा पार्न दरबार हत्याकाण्डको अनुसन्धान हुनुपर्ने विषयको उठान गर्नुका पछाडि पनि दलहरुले दरबार हत्याकाण्डलाई ज्ञानेन्द्रसँग जोड्न खोजेका हुन् भन्ने पुष्टि हुन्छ ।