प्रचण्डको भ्रमणले चीनसँगको सम्बन्ध थप मजबुत

73

काठमाडौ÷प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको नेतृत्व सम्हालेपछि नेपाल र चीनको सम्बन्धमा चिसोपन आएको अनुमान भइरहेका बेला त्यो अनुमानलाई गलत सावित गर्न प्रधानमन्त्री प्रचण्ड सफल हुनुभएको छ ।

पूर्ववर्ती सरकारले चीनसँग गरेका सम्झौताहरुको शीघ्र कार्यान्वयनका लागि चीनलाई सहमत गराउन र नेपालमा सडक र रेल जोड्ने राष्ट्रपति सी जिनपिङको प्रतिबद्धतासमेत लिन प्रधानमन्त्री प्रचण्डले सफलता हासिल गर्नुभएबाट उहाँमाथि लाग्दै आएका आरोपहरुको स्वाभाविक रुपमा खण्डन मानिएको छ ।
गत १० गते साताव्यापी चीन भ्रमणमा निस्किनु भएका प्रधानमन्त्री प्रचण्ड तथा चिनियाँ राष्ट्रपतिबीच भएको भेटघाट तथा चिनियाँ पक्षले देखाएको सद्भावले तमाम नकारात्मक आशंकाहरुलाई गलत सावित गरिदिएको छ । चीनको हेनान प्रान्तमा भएको बोआओ सम्मेलनमा भाग लिन गएका प्रधानमन्त्री प्रचण्ड तथा चिनियाँ राष्ट्रपतिबीच भएको करिब ४० मिनेट लामो भेटघाटका क्रममा चीनले नेपालको विकाससँग दीर्घकालीन महत्व राख्ने रेलमार्ग निर्माणका लागि ठोस प्रस्ताव मागेको छ ।

चीनका तर्पmबाट आएको यस्ता प्रस्तावले नेपालको विकास कार्यमा सहभागी हुन चीनले निकै चासो देखाएको पुष्टि हुन्छ ।
त्यसैगरी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि समेत चीनले सहयोगको घोषणा गरेको छ । चीनले स्थानीय तहको निर्वाचनका लागि ९० लाख चिनियाँ युआन अर्थात झण्डै साढे १३ करोड रुपैयाँ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

दुईपक्षीय भेटका बेला चीनले नेपालको पर्यटन तथा कनेक्टिभिटीमा सहयोग गर्ने तथा भूकम्पपछि अवरुद्ध रहेको तातोपानी सडक खुल्ला गर्ने विषयमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यसैगरी चीनले विगतमा भएका सन्धिसम्झौताहरु कार्यान्वयनका विषयमा पनि जोड दिएको छ ।
प्रधानमन्त्री प्रचण्डको यो भ्रमण राजकीयभन्दा पनि एउटा कार्यक्रममा सहभागिताका लागि भएको थियो । तर भ्रमणलाई चीनले राजकीय नै बनाउने कोसिस गरेको पुष्टि भएको छ । त्यसमाथि महत्वपूर्ण विषयमा सहयोगको प्रतिबद्धता व्यक्त गर्नु तथा प्रचण्ड नेतृत्वको सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनलाई समर्थन गर्दै सहयोगको घोषणा गर्नुले पनि वर्तमान सरकारसँग चीनको असन्तुष्टि रहेको भन्ने तर्कलाई गलत सावित गरिदिएको छ ।
प्रधानमन्त्रीको भ्रमणका बेला चीनले वर्तमान सरकारलाई पनि समर्थन गरेको छ भन्ने सन्देश पनि दिएको छ । तर चीनले गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्न वर्तमान सरकारले कस्तो भूमिका निर्वाह गर्छ भन्ने कुराले वर्तमान सरकार र चीनका बीचमा कस्तो सम्बन्ध हुने भन्ने कुरालाई निर्धारण गर्ने विज्ञहरुको तर्क छ ।

कूटनीतिक जानकार तथा चीनका लागि पूर्व राजदुत टंक कार्कीले काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सद्भाव अभिवृद्धि गर्ने हदमा सफल भएको जनाएका छन् । उनले प्रधानमन्त्री आफैले चीनसँगको सम्बन्ध चिसिएको भनेर आत्मस्वीकृत गरेको भन्दै यो भ्रमणले सम्बन्ध सुधारमा महत्वपूर्ण उपलब्धि हासिल भएको जनाएका छन् । ‘प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण राजकीय होइन, उहाँको भ्रमण पुशपतिनाथको जात्रा सिद्राको व्यापार जस्तो हो,’ कार्कीले भने ।

उनले बोआओ फोरममा भाग लिनका लागि प्रधाामन्त्री प्रचण्ड चीन गए पनि क्षेत्रीय बहुआयामिक फोरममा सम्बोधन गरेकाले यो पनि नेपालको लागि ठूलो उपलब्धि भएको जनाए । बोआओ फोरमका अलावा प्रधानमन्त्री प्रचण्डले चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता गरेकाले भ्रमणले द्वीपक्षीय सम्बन्धको सद्भाव बढाएको कार्कीको तर्क छ ।
त्यसैगरी प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार डा.ऋषि अधिकारीले ‘प्रधानमन्त्रीको चीन भ्रमण पूर्ण रुपमा सफल भएको छ, चिनियाँ राष्ट्रपतिसँग लामो भेटवार्ता हुनु आफैमा ठूलो उपलब्धि हो, यो उच्चस्तरीय भेटवार्ता हो ।’ ‘वान बेल्ट वान रोड’मा नेपालको चासो रहेको कुरा प्रधानमन्त्री प्रचण्डले स्पष्ट रुपमा राख्नुभएको र केरुङ–लुम्बिनी रेडमार्गबारे पनि प्रधानमन्त्रीले कुरा उठाउनु भएकाले भ्रमणको उपलब्धिलाई सामान्य भन्न मिल्दैन ।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभएको र राष्ट्रपतिले निम्तोलाई स्वीकार गर्नुभएकाले पनि भ्रमणको महत्व रहेको स्वतः स्पष्ट हुने अधिकारीले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीको भ्रमणले नेपाल र चीनका बीचमा चिसिएको भनिएको सम्बन्धमा सुधार उन्मुख भएको संकेत देखिएको छ । यसलाई आगमी दिनमा पनि निरन्तरता दिँदै दुई छिमेकी मुलुकसँग समदुरीका आधारमा सम्बन्ध विस्तार गर्न सकेमा मात्र यसले विश्व शक्ति बन्दै गरेका दुई मुलुकबाट नेपालले फाइदा लिनसक्ने सम्भावना रहन्छ ।

अन्यथा एउटा मुलुकलाई चिढाउने र अर्काे मुलुकलाई फकाउने प्रवृत्ति रहेमा यो नेपालका लागि दीर्घकालीन रुपमा प्रतिउत्पादक हुनसक्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here