राष्ट्रपति भण्डारीको स्वागतमा प्रदर्शित भारतीय कूटनीतिको चुतियापन !

203

चन्द्रप्रकाश बानियाँ
सामाजिक सञ्जालहरु यतिबेला एकथरि नेपालीहरुका रुवावासीले भरिएका देखिन्छन् । खासगरेर, आफूलाई एमाले सम्बद्ध वा समर्थक शुभचिन्तक सम्झने नेपालीहरु सर्वाधिक मर्माहत र आक्रोशित भएका छन् । उनीहरुको चित्त दुख्नुको कारण उति ठूलो भने होजस्तो लाग्दैन । त्यति धेरै महत्व दिनुपर्ने विषय त्यो थिएन । भारतका राष्ट्रपति प्रणव मुखर्जीको निम्तो मान्न यतिबेला नेपालका राष्ट्रपतिको भारतयात्रा स्वाभाविक रुपमा चलेकै छ ।

भइदियो के भने नेपालको राष्ट्रपतिको स्वागतका निमित्त भारतीय सरकारले आफ्नो एकजना राज्यमन्त्रीलाई खटायो । नेपालका राष्ट्रपति दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल ओर्लंदा उनको स्वागतका लागि अपेक्षाकृत ‘लो प्रोफाइलकी’ भन्न मिल्ने राज्यमन्त्रीको उपस्थिति थियो । कृष्ण राजको सरकारी हैसियत जेसुकै होस, उनी व्यक्तिगत वा ओहोदाको हैसियतले हवाईमैदानमा उपस्थित भएकी होइनन् । उनी भारत सरकारको प्रतिनिधि थिइन्, राष्ट्रपतिको प्रतिनिधि थिइन् । उनले सिंगो भारतकै प्रतिनिधित्व गरेकी थिइन् । नेपालको राष्ट्रपतिको स्वागत कृष्ण राजले होइन, भारतसरकारले गरेको हो । त्यसलाई अपमान भन्न मिल्दैन ।

व्यवहारमा कहिलेकाहीँ त्यस्तो हुनसक्छ । नेपालकै जस्तो अन्य देशका मन्त्री प्रधानमन्त्रीहरुलाई सधैं रिवन काट्दै हिंड्ने फुर्सद हुँदैन । त्यसैले त्यो संयोग भारतको तत्कालीन व्यवस्थापनमा आइलागेको अप्ठेरोको परिणाम होला भनेर बुझिदिनुपर्छ । त्यसलाई नियतवश गरिएको नेपाल, नेपाली र नेपालका राष्ट्रपतिको अपमानको रुपमा बुझ्नु हुँदैन । निम्तोमा बोलाएर पनि विमानस्थलमा सरकारको प्रतिनिधि उपस्थित नभैदिएका भए बल्ल त्यो मान अपमानको विषय बन्थ्यो ।

सामान्य स्थितिमा कुन हैसियतको पाहुनाको स्वागतमा कुन स्तरको प्रतिनिधि खटाइयो भन्ने कुराले खासै अर्थ राख्दैन । मान सम्मान भन्ने कुरा औपचारिकतामा होइन, व्यवहारमा प्रकट हुने कुरा हो । तितो यथार्थ के हो भने नेपाल भारतको कूटनीतिक सम्बन्धमा कहीँकतै अलिकता ‘तुष’ विद्यमान छ । उत्पन्न चिसोपन ओभाइसकेको छैन । नेपालले आफूलाई टेरेन भनेर भारतले चित्त कुँढाएको छ । नेपालले पनि भारतबाट आफू हेपिएको अनुभूति गरिरहेको छ ।

आकारका हिसाबले ठूलो सानो जे भए पनि सार्वभौम मुलुकका हैसियतले समानताको व्यवहार उताबाट भएन भन्ने चित्त दुखाइ नेपालको रहँदै आएको छ । गतवर्षको नाकाबन्दीले त्यसलाई एक हदसम्म पुष्टि गरिदिएको पनि छ । सम्बन्ध हार्दिक र स्वाभाविक नभएको अवस्थामा स्वभावतः शंकालु मनोविज्ञान मानिसको बुझाइमा प्रकट हुन्छ । त्यही कारणले राष्ट्रपतिको स्वागतमा अपेक्षाकृत तल्लो मान्यताको मन्त्री पठाएर नेपालको अपमान गरियो भन्ने धारणा बन्न गएको हो । नेपालीहरुको बुझाइ व्यवहारभन्दा मनोविज्ञानबाट प्रभावित छ भन्नु अत्युक्ति हुँदैन ।
व्यवहारमा उताबाट बेला मौकामा हेपाहा र मिचाहा प्रवृत्ति प्रदर्शन हुँदै आएकै हो । आफूलाई ठूलो दाजु सम्झने र अभिभावकत्वको दावा गर्ने रोगबाट स्वतन्त्र भारत आजका मितिसम्म मुक्त हुन सकेको छैन । सत्तामा जुनसुकै पार्टी विराजमान भए पनि बडेभाइको आँखाबाट नेपाललाई हेर्ने परम्परा नै बनिसकेको छ ।

त्यही धरातलीय यथार्थले नेपालीहरुलाई सधैं सशंकित बनाउने गरेको छ । भारतको नियतप्रति नेपालीहरु निशंक हुन नसक्नुको कारण त्यही हो । आफू हेपिएको चेपिएको मनोविज्ञानले नेपालीहरुमा आक्रोस र कुण्ठा उत्पन्न गरेको छ । अघिल्लोवर्ष मुलुकले नाकावन्दी व्यहो¥यो । नाकाबन्दी लगाउनेसम्मको कटुतापूर्ण परिस्थिति दुई देशबीचको कूटनैतिक सम्बन्धमा उत्पन्न हुनु नेपालको तत्कालीन सरकारको अदूरदर्र्शिता मुख्य जिम्मेवार थियो ।

मुुलुकलाई हुन गएको अर्बौं खर्बौंको घाटा, जनताले भोगेको अकल्पनीय असुविधा र कालोबजारीको कहर तत्कालीन सरकारको अविवेकको परिणाम थियो । कूटनीतिक असफलताको प्रतिफल थियो । तैपनि नेपाली जनतालाई अकर्मण्य सरकारको पक्षमा दृढतापूर्वक उभ्याउने प्रेरणा भारतीय हेपाहा परम्पराको निरन्तरताले नै दिएको थियो । आफू बरु भोको बस्न तयार भयो तर भारतसमक्ष नझुक्न सरकारलार्इृ जनताले उत्प्रेरित गरिरह्यो । त्यो घटनाले नेपाली जनमानसमा भारतविरोधी भावना थप वृद्धि गर्नमा सहयोग पु¥यायो ।

नेपालमा फस्टाएको घृणाको खेतीको वास्तविकता भारतीय कूटनीतिले बुझेको रहेनछ । नेपाली समाज रुष्ट छ र त्यसको कारण व्यवहारमा देखिने आफ्नो हेपाहा नीति हो भन्ने आभास अनुभूति भारतीय पक्षले गरेको रहेनछ । नेपालसँग हार्दिक सम्बन्ध विकास गर्नुपर्ने चेतना उनीहरुमा पलाएको देखिएन ।

त्यसो हुन्थ्यो भने औपचारिकताका लागि मात्रै भए पनि राष्ट्रपतिको स्वागतमा कन्ञ्जुस्याइँ गरेको देखिने परिस्थिति निर्माण नहोस् भन्ने सतर्कता अपनाइन्थ्यो । त्यसको अर्थ भारतीय कूटनीति कि त निकै कमजोर छ कि भने दम्भी छ भनेर अनुमान गर्न सकिने भएको छ ।
पछिल्लो दुई वर्षयता नेपालको संसदीय राजनीतिको दोस्रो ठूलो दल एमालेसँग भारतीय संस्थापनको सम्बन्ध उति मिठो रहन सकेको देखिँदैन । दुईथरीबीच उत्पन्न कटूता र दूरत्व भने पत्याउन गाह्रो पर्ने खालको छ । खाँट्टी राष्ट्रवादी देखिने उपक्रममा नेपाली समाजमा भारतपरस्त भनेर बदनाम नेताहरु पछिल्लो कालखण्डमा अकस्मात् कट्टर भारतविरोधी पहिचान बनाउन सफल भएका छन् ।

उनीहरुको निकट विगत अर्थात् तीनवर्ष अगाडिसम्मको व्यवहार हेर्दा पछिल्लो रुपान्तरण अविश्वनीय र नक्कली लाग्दछ । नेपालीहरुको मानसिकता भूपरिवेष्ठित भौगोलिकताका कारणले कुण्ठित छ । त्यही मानसिकतालाई आफ्नो सत्ताको जग बलियो बनाउने अस्त्रका रुपमा नेपालका शासकहरुले प्रयोग गर्ने गरेका छन । हिजो राजसंस्थाले त्यही गरेको थियो । यतिबेला एमालेले त्यही मनोविज्ञानलाई राजनीतिको आधार बनाएको छ ।

त्यसैले गतवर्ष चलाइएको उतैको चाहना र योजनामा तत्कालीन सरकारको विस्थापन भएको हो भन्ने प्रोपोगण्डाले जनसमर्थन र विश्वास प्राप्त गरेको हो । त्यो वास्तविकता थिएन भन्ने कुरा मधेशलाई पेलेरै भए पनि स्थानीय निर्वाचत गराइछोड्ने वर्तमान सरकारको सुरसारले पुष्टि गरेको छ । मधेशको असन्तुष्टि सम्बोधन गर्छु भनेर गठन भएको सरकारले यतिबेला एमालेकै पथानुशरण गर्नुले त्यतिबेलाको सरकार परिवर्तन सत्तालोभको चलखेल मात्र थियो भने कुरा पुष्टि गरिदिएको छ ।

अर्थात् मधेशलाई हेर्ने बुझ्ने कुरामा खसवर्चस्व भएका तिनवटै ठूला दलमा खासै अन्तर छैन भन्ने कुरा प्रमाणित भएको छ र त्यसले मधेश मुद्दा वा भारतीय चाहना सरकार परिवर्तनको कारक थियो भन्ने कुरा गलत सावित गरिदिएको छ ।
भारतविरोधको मनोविज्ञानमा एमालेले आफ्नो राजनीतिक खेती मौलाउने विश्वास लिएको कुरा सत्य हो । त्यसले एमालेलाई फाइदा पु¥याओस् वा नपु¥याओस् मुलुकलाई भने घाटा गर्ने निश्चित छ ।

अर्कोतिर भारतका निमित्त यसपटकको राष्ट्रपतिको भ्रमण दुखेको नेपाली मनमा मलमपट्टी लगाउने उत्तम अवसर थियो । नेपाली मनेविज्ञान बुझेर भारतले अलिकता सावधानी अपनाइदिएका भए उसैलाई राम्रो हुन्थ्यो । अर्थात् मनभित्र जति कटुता भए पनि नेपालको राष्ट्रपतिलाई सम्मानजनक स्वागतको औपचारिकता प्रदर्शन गरिदिएका भए कुण्ठित भएका नेपाली मनहरु प्रफुल्लित हुन्थे । वास्तवमा भारतले सानो चित्तको सार्वजनिक प्रदर्शन गरेकै हो । हुन त गतवर्ष तय भैसकेको भ्रमण विनाकारण स्थगित गरेर तत्कालीन सरकारले भारतको चित्त दुखाएकै हो ।

त्यतिबेला सरकारको नेृतत्वमा एमाले नै थियो । वर्तमान राष्ट्रपतिको राजनीतिक पृष्ठभूमि पनि एमाले नै हो । आफूलाई अपमानित गर्ने एमाले नेतृत्वलाई उसको हैसियत देखाइदिने आशयले सिंगो नेपालीको मन अमिलिने परिस्थिति निर्माण गर्नु भारतीय कूटनीतिको महाभूल थियो । भारतको पछिल्लो व्यवहारले सिंगो नेपालको मन दुखेको छ । विद्या भण्डारीको हिजोको राजनीतिक पृष्ठभूमि जे भए पनि आजको दिनमा उनी नेपालको राष्ट्रपति हुन् । उनको मान अपमान सोझै मुलुकसँग जोडिन्छ । त्यसैले ‘सौताको रिसले लोग्नेको काख भिजाउने’ भनेजस्तो भारतीय व्यवहार कूटनैतिक निम्छरोपनको प्रदर्शन हो । हेपाहा प्रवृत्तिको नाङ्गो प्रदर्शन हो ।

ठूलो र शक्तिशाली मुलक भएको अहम् र अहङ्कार पनि हो । हुन त ‘जे रोप्यो, त्यही सोहोर्ने हो’ भनिन्छ । गल्ती त नेपालको तर्फबाट गतवर्ष भ्रमण रद्द गर्दा भएकै हो । त्यतिबेलै राष्ट्रपतिको भ्रमण सम्पन्न हुन दिएका भए भारतले जस्तो व्यवहार प्रदर्शन गथ्र्यो प्रणव मुखर्जी आउँदा नेपालले पैंचो तिर्ने अवसर पाउँथ्यो । कमसेकम नेपालको राष्ट्रपति स्वयम्ले स्वागत गरेको बदलामा भारतले भने कनिष्ठ मन्त्रीलाई विमानस्थल पठाएर अपमान ग¥यो भनेर चित्र दुखाउनुपर्ने अवस्था उत्पन्न हँुदैनथ्यो । कूटनीतिमा हतारको निर्णय प्रत्युत्पादक हुन्छ भनेको साँच्चै रहेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here