म भूकम्पपीडितको घरमा राष्ट्रपतिलाई निम्तो राज्यलक्ष्मी शाक्य

173

नेपालमा ‘गोरखा भूकम्प–२०७२’ गएको पनि दुई वर्ष पुगेको छ । त्यो त्रासदीपूर्ण दिन सायद कसैले नै भुल्न सक्छ होला । उक्त भूकम्पमा परेर मेरो पनि घर भत्केको थियो । भूकम्प गएलगत्तै उद्धार र राहतमा सरकारले देखाएको तत्परता विश्वमाझ नै प्रशंसनीय बनेको थियो । यद्यपि, पुनर्निर्माणमा भने सरकार असफल भएको छ । यो दुई वर्षको बीचमा जति पनि सरकार गठन भए, उनीहरूले भूकम्पपीडितलाई बसोबासको व्यवस्था गर्न सकेनन् । पुनर्निर्माणमा सरकारले उदासीनता देखाइरह्यो ।
भूकम्प गएको दुई वर्षको अवधिमा गत वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा रहेको दरबार स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गर्नुभएको समाचार सञ्चारमाध्यममा पढ्न पाइयो । उहाँले भूकम्पले भत्काएका सम्पदा र पुनर्निर्माणको अवस्थाबारेमा जानकारी लिनुभएको थियो । भक्तपुरमा पुनर्निर्माण भइरहेको दरबार स्क्वायर ढोका, रामेश्वर, बद्री, केदार, वत्सला मन्दिरलगायत दरबार क्षेत्र परिसरभित्र भूकम्पले भत्काएका मन्दिर, लामोपाटी सत्तल, राष्ट्रिय कला संग्रहालय, पशुपति मन्दिरलगायत सम्पदाको अवलोकन गर्नुभएको थियो ।
तर राष्ट्रपतिले जुन उत्साहका साथ अवलोकन भ्रमण गर्नुभयो, त्यो अनुसारको पुनर्निर्माण हुन सकेको भए सायद भ्रमणको पनि महत्व हुन्थ्यो होला । भूकम्प गएको यत्रो समयसम्म पनि भूकम्पपीडितले अझै बासको व्यवस्था गर्न सकेका छैनन् । त्यसको प्रत्यक्ष प्रमाण म पनि हुँ । भूकम्पका मारमा पर्ने मजस्तै थुप्रै महिलाहरू छन् । जसले राज्यबाट अझ महिला राष्ट्रपति नै भएको नेतृत्वबाट धेरै आशा गरेका थिए । त्यो अझै पूरा हुन सकेको छैन ।
केही हप्ताअघि मात्र राष्ट्रपतिलाई पूर्व राजपरिवारको निमन्त्रणामा एक भोज कार्यक्रममा भव्य स्वागत भयो । उक्त कार्यक्रममा म पनि सहभागी भएको कारण एउटा जनताको प्रतिनिधि र महिलालाई पूर्व राजपरिवारले पनि सम्मान गरेको देखेर मलाई खुशी लाग्यो । तपाईं एउटा राष्ट्रपति मात्र नभएर कम्युनिष्ट नेत्री पनि हो । सर्वहारा वर्गका हकहितका लागि, वर्गीय समानताका लागि पनि तपाईं वर्षौंदेखि लड्दै आउनुभएको छ । त्यस कारण पनि सर्वसाधारणको पनि पीरमर्का बुझ्नु हुन्छ भन्ने मैले महसुस गरेको छु । भूकम्पको यो दुई वर्षको अवधिमा अझै पनि भूकम्पपीडितको दुःखको अवस्था ज्यूँका त्यूँ नै छ । धेरै भूकम्पपीडितहरू अहिले पनि पालमा नै बस्न बाध्य छन् । यो दुई वर्षमा सुरक्षित छानामुनि सबै भूकम्पपीडितलाई ल्याइसक्ने सरकारले पटकपटक प्रतिबद्धता गरे पनि त्यो सफल हुन सकेन । काठमाडौं उपत्यकामा रहेका भूकम्पपीडितहरूको अवस्था त झनै दयनीय नै छ ।
भूकम्पपीडितहरूले बैंकबाट सहुलियतपूर्ण रूपमा ऋण पाउने भन्ने कुरा पनि कागजमा नै सीमित भएको छ, व्यवहारमा लागू भएको कतै पाइँदैन । भूकम्पका कारण सम्पन्न वर्गलाई त्यति साह्रो समस्या नपरेको हुन सक्ला । तर, विपन्न वर्गहरू अझै विभिन्न समस्याका कारण पिल्सिनुपरेको अवस्था छ । त्यसकारण त्यस्ता भूकम्पपीडितहरूको वास्तविकता र समस्या राष्ट्रपतिज्यूले बुझ्नु जरुरी छ । तपाईं सर्वहारा वर्गको लागि लड्दै आउनुभएका कारण पनि विपन्न वर्गका समस्या नजिकैबाट थाहा छ । मैले आशा गरेको छु कि त्यो राष्ट्रपतिको कुर्सीमा आसीन हुँदै गर्दा राष्ट्रपतिज्यूले आफ्नो कर्तव्य र उत्तरदायित्व विपन्न जनताको सेवा नै प्रमुख ठान्नुभएको छ ।
त्यसकारण राष्ट्रपतिज्यूलाई एउटी महिला भएको नाताले पनि म सुझाव दिन चाहन्छु कि एकपटक भूकम्पका कारण समस्या झेलिरहेका त्यस्ता सर्वसाधारणकोमा पुग्नुहोस् । उनीहरूको अवस्था के छ, राज्यबाट सुविधा पाएका छन् कि छ्रैनन्, महिलाहरूको अवस्था के छ, कसरी जीवनयापन गर्दै छन् भन्ने बुझेर राज्यका निकायलाई उनीहरूसमक्ष पुग्ने माहोल बनाउनुहोस् । राष्ट्रपतिज्यूलाई म आफू पनि भूकम्पप्रभावित भएको कारण आफ्नो घरमा निमन्त्रणा गर्दछु । के राष्ट्रपतिज्यू हामी भूकम्पपीडितहरूको घरमा आउनुहुन्छ ?

[email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here