मन्त्री महरासहित तीन मन्त्रीले चीनमा के–के गरे ?

141

काठमाडौं/ चीनको राजधानी बेइजिङमा जारी ‘एक क्षेत्र एक मार्ग’ अन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग मञ्चको उच्चस्तरीय छलफलमा मन्त्रिपरिषद्का तीन मन्त्रीहरू सहभागी हुनुभएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, भौतिक पूर्वधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की उक्त छलफलमा गत आइतबार सहभागी हुनुभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

छलफलका क्रममा उपप्रधानमन्त्री वाङ याङसँग द्विपक्षीय भेटवार्ता गर्नु भएको जनाइएको छ । उहाँहरूबीच नेपाल–चीन यातायात तथा पारवहनसम्बन्धी सम्झौताका बाँकी कार्यलाई यथाशक्य चाँडो अन्तिम रूप दिनेबारेमा छलफल भएको दूतावासद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केन्द्र सरकारले चीनको स्वशासित क्षेत्र तिब्बत, गान्सु, कुङहाइ, सिचुवान र युनानका सरकारलाई चिनियाँहरूलाई नेपालको भ्रमणमा उत्प्रेरित गर्न तथा ती प्रान्तका सहर र नेपालका सहरबीच भगिनी सम्बन्ध स्थापित गर्दैै दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई सुदृढ तुल्याउन निर्देशन दिएको जानकारी उपप्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षीलाई दिनुभएको थियो ।

नेपाल सरकारले आफ्नो भूमिमा रेलमार्ग निर्माण गर्न चीन सरकारसमक्ष गरेको प्रस्तवलाई सकारात्मक रूपमा लिँदै तातोपानी नाका प्रथमिकताका साथ पुनः सञ्चालन गर्नेसम्बन्धी अनुरोधलाई सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्ने वचन दिएको उक्त दूतावासले जनाएको छ । ‘एक क्षेत्र एक मार्ग’ सम्मेलनमा नेपालबाट भएको उच्चस्तरीय सहभागिताको लागि चीनले हार्दिक आभार व्यक्त गरेको छ । यसैबीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय तहमा सम्पर्क विस्तार गर्न सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको जनाउनु भयो ।

चीनको राजधानी बेइजिङमा जारी ‘एक क्षेत्र एक मार्ग’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत गत आइतबार भएको ‘विकास नीति र रणनीतिमा सम्पर्क विस्तार’ विषयक छलफलमा उहाँले उक्त कुरा जनाउनु भएको हो । उहाँले नेपालको न्यून आर्थिक विकास र विकासका आयोजना कार्यान्वयनमा देखिएको सुस्तताको प्रमुख कारण सडक, रेलजस्ता भौतिक संरचनाको अभाव भएको जानकारी गराउनु भयो । समतामूलक र समृद्ध समाज निर्माण गर्ने उद्देश्यले थालिएको ‘एक क्षेत्र एक सडक’ अवधारणालाई मूर्तरूप दिन नेपाल सरकारको सहयोग एवम् समर्थन रहेको मन्त्री कार्कीले जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here