एशिया अवार्डबाट एनसेल सम्मानित

158

काठमाडौं । नेपालमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ‘टेलिकम एशिया अवार्ड्स २०१७’ प्राप्त गरेको छ ।
सौर्य लघुग्रीड सञ्चालकको सहकार्यमा दुर्गम क्षेत्रमा सञ्चार तथा ऊर्जा सेवा पुर्‍याउन एनसेलले गरेको प्रयासलाई एशिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट टेलिकम परियोजना ठहर गरी यो अवार्ड प्रदान गरिएको हो ।
एनसेलले नवीन टेलिकम प्रोजेक्टअन्तर्गत गूगलको ‘प्रोजेक्ट लोन’, चाइना युनिकमको इण्टरनेट अफ थिङ्समा आधारित स्मार्ट पार्किङ र साउथ कोरियन एसके टेलिकमको भर्चुअल असिष्टेण्ट सर्भिस ‘नुगु’लाई पछि पार्दै यो अवार्ड प्राप्त गरेको हो । टेलिकम एशियाका स्वतन्त्र निर्णायकमण्डलले नवीनता, वित्तीय प्रदर्शन, प्रविधि, बजार नेतृत्व र कर्पोरेट सुशासनलगायत मापदण्डका आधारमा प्रोजेक्टको मूल्यांकन गर्दै एनसेलको पहललाई उत्कृष्ट घोषणा गरेका थिए ।
बुधबार मलेशियामा आयोजित २०औं टेलिकम एशिया अवार्ड्स समारोहमा एनसेललाई उक्त अवार्ड प्रदान गरिएको थियो । एनसेलकी कर्पोरेट संवाद निर्देशक सञ्जु कोइरालाले उक्त अवार्ड ग्रहण गरेकी थिइन् ।
‘राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायमा सहज सेवा सुनिश्चित गर्ने र अफग्रीड समुदायका सञ्चारको मागलाई सम्बोधन गर्ने उद्देश्यले सञ्चाल नगरिएको यो प्रोजेक्टले अन्तरराष्ट्रिय सम्मान प्राप्त गरेकोमा हामी हर्षित छौं,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने, ‘यो अवार्ड नवीन सहकार्य गर्दै देशको सामाजिक तथा आर्थिक विकासका लागि एनसेल कटिबद्घ छ भन्ने प्रमाण हो ।’
परियोजनाअन्तर्गत एनसेल तथा स्थानीय लघुग्रीड सञ्चालक घाम पावर नेपालले संयुक्त रूपमा खोटाङ तथा उदयपुर जिल्लामा ऊर्जा र मोबाइल सेवा प्रदान गर्दै आएका छन् । एनसेलले यसअघि ‘मोबाइल इन इमरजेन्सी अर ह्युम्यानिटेरियन सिचुएसन्स’ विधामा जीएसएमएबाट ग्लोबल मोबाइल अवार्ड्स २०१६ र फ्रष्ट एण्ड सलिभन एशिया प्यासिफिक अवार्ड्स २०१६ मा नेपालको उत्कृष्ट टेलिकम कम्पनीको अवार्ड पाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here